• १३ साउन २०८१, आइतबार

रैथाले बीउ जोगाउन ‘बीज बैंक’ योजना

blog

फाइल तस्विर

नवीन शिशिर

बागलुङ, असार ८ गते । बागलुङको बरेङ् गाउँपालिकाले स्थानीय रैथाने बालीको बीउ संरक्षणका लागि ‘बीज बैंक’ स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । रैथाले बाली लोप हुँदै गएपछि गाउँपालिकाले आगमी आर्थिक वर्षदेखि ‘हाम्रो बीउ, हराउन नदिउँ’ अभियान सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो । बीउ जोगाउने अभियान हरेक वडामा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । 

व्यावसायिक उत्पादनका लागि आधुनिक प्रविधि र आधुनिक बीउ विजनका साथै रैथाने बालीको संरक्षण गर्ने दायित्व गाउँपालिकाको भएकाले बीज बैंक स्थापना गरेर संरक्षणको अभियान थालिएको अध्यक्ष शर्माको भनाइ छ । 

‘रैथाने बाली हराउने डर भयो’ अध्यक्ष शर्माले भन्नुभयो– ‘नयाँ पुस्ताले पनि थाहा पाउनुपर्छ, आफ्ना पुर्खाहरुले जीवनयापनका लागि कुन खाद्यान्न उपयोग गर्थे ?, रैथाने बीउ जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।’

बीज बैंकमा रैथाने जातका खाद्यान्न बाली तथा तरकारी र फलफूलको बीज संरक्षण गरिनेछ । पाँचवटै वडामा सञ्चालनमा रहेका विभिन्न कृषि पकेट क्षेत्रलाई थप व्यवस्थित गर्ने योजना रहेको अध्यक्ष शर्माले बताउनुभयो । बाँझो जमिनको उपयोग गरी रैथाने बालीको संरक्षण गरिनेछ । 

गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० लाई फलफूल वर्षका रुपमा घोषण गरी सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गरी फलफूलका बिरुवा रोप्ने अभियान चलाउने योजना बनाएको छ । बागलुङमा कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षण अभियान चलाइरहेको छ । उन्नत जातका खाद्यान्न तथा फलफूल गाउँसम्म प्रभाव पार्न थालेपछि स्थानीय तथा प्रदेश सरकार रैथाने बालीको संरक्षणमा जुटेका हुन् ।