• १६ चैत २०८०, शुक्रबार

गाउँमा विशेषज्ञसहितको आयुर्वेद सेवा

blog

अर्जुन काफ्ले 

स्याङ्जा, असार ९ गते । अर्जुन चौपारी गाउँपालिका ३ का ७९ वर्षीय गङ्गाधर काफ्लेले विशेषज्ञसहितको आयुर्वेद सेवा गाउँमै प्राप्त भएपछि खुसी ब्यक्त गर्नुभएको छ । समान्य उपचारको पुतलीबजार र पोखरा पर्ने काफ्लेले आफ्नै पालिकामा विशेषज्ञसहितको सेवा पाएको बताउनुभयो ।

सामान्य उपचारका लागि दिन बिताएर धेरै रुपियाँ खर्च गरेर उपचार गरेको बताउँदै काफ्लेले पालिकाले गाउँमै सेवा दिएर नागरिकलाई गुन लगाएको बताउनुभयो । काफ्लेजस्तै अर्जुन चौपारी ५ का ७५ वर्षीय मिना पौडेलले बर्षौै आयुर्वेद सेवा लिएको र विशेषज्ञसहितको सेवा लिन पोखरा पुग्नेगरेको बताउनुभयो । घरको नजिकै पालिकाको पहलमा सेवा दिएको र आगामी दिनमा  सेवा दिन आग्रह गर्नुभयो । 

गाउँपालिकाले आयुर्वेद शाखाको समन्वय गरेको बृहत आयुर्वेद स्वास्थ्य शिविरमा पालिका र पर्वतका गरी १० देखि ७९ वर्षसम्मका ३०३ जना नागरिकले सेवा लिएका थिए । नागरिक स्वास्थ्य रहन आहारविहार मिलाउनुपर्ने बताउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जीवनशैली सुधार आवश्यक रहेको बताउनुभयो । 

आफू भर्खर अध्यक्ष भएर आएको र अब अपाङ्गता भएका तथा जेष्ठ नागरिकलाई घरमा अन्यलाई टोलमा पुगेर स्वास्थ्य सेवा दिने तिवारीको भनाइ छ । शिविरमा उपाध्यक्ष सपना गुरुङ्, प्रमुख प्रशासकीय अधिकृत उज्वल बस्नेत, वडा १ का अध्यक्ष रणबहादुर थापा लगायतले मन्तव्य राख्नुभयो ।  

स्वास्थ्य शिविरमा डा. तुलसी श्रेष्ठसहित ११ जनाको टोलीले एक दिने सेवा दिएको छ । स्वास्थ्य व्यक्तिको स्वास्थ्यको रक्षा र रोगीको रोग निवारण भन्ने मुल नाराका साथ गरिएको शिविरमा ३१ थरिका औषधीहरु निःशुल्क वितरण गरेको आयुर्वेद शाखा प्रमुख ललित थापाले बताउनुभयो ।