• १४ वैशाख २०८१, शुक्रबार

म्याग्दीका स्थानीय तहको बजेट ३ अर्ब ८३ लाख ४६ हजार

blog

म्याग्दी, असार ११ गते । म्याग्दीका ६ वटा स्थानीय तहले आगमी आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट पारित गरेका छन् । शुक्रबार सम्पन्न गाउँ तथा नगरसभा मार्फत बेनी नगरपालिका,मंगला,मालिका,धबलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले एकमुष्ट ३ अर्ब ८३ लाख ४६ हजार रुपियाँ बराबरको बजेट पारित गरेका हुन । 

सडक,शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर जिल्लाका स्थानीय तहले आगमी आर्थिक वर्षको लागि नीति,कार्यक्रम र बजेट ल्याएको बताएका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको यो पहिलो बजेट हो । निर्वाचन ताका मतदाता समक्ष बाचा गरेका योजनाहरुलाई उनीहरुले प्राथमिकतामा राखेका छन् ।  

बेनी नगरपालिकाको  ११ औं नगर सभामा उपप्रमुख ज्योति लामिछानेले ७३ करोड २२ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभयो । बेनी नगरले ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारा अघि सारेको छ । 

नगरसभामा प्रस्तुत विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ४६ करोड १४ लाख र पुँजीगततर्फ २७ करोड आठलाख रुपियाँ अर्थात रहेको छ । सभामा प्रस्तुत बजेटमध्ये सबैभन्दा धेरै सामाजिक विकासतर्फ ३८ करोड ४३ लाख ७५ हजार बजेट विनियोजन भएको छ ।

नगरसभामा नगर प्रमुख सुरत केसीले आगामी वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा लगानीमैत्री वातावरण निर्माण गरिने, उत्पादन बढाउने तथा रोजगारीको सिर्जना गर्ने, मानव पुँजी निर्माण, असमानता तथा गरिबी न्युनीकरण गर्ने, दीगो विकास तथा पर्यावरणीय सन्तुलन कायम राख्ने र संघीयताको मर्मअनुसार गुणस्तरीय सेवा प्रदान गरिने विषयलाई प्राथमिकतामा राखिएको नगरप्रमुख केसीले बताउनुभयो । 

यसैगरी मंगला गाउँपालिकाले ४२ करोड ३४ लाखको बजेट पारित गरेको छ । १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले  ४२ करोड ३४ लाख ७० हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । चालुतर्फ  २७ करोड ७९ लाख ७० हजार र पुँजीगततर्फ १४ करोड ५५ लाख बजेट विनियोजन भएको छ । कृषि क्षेत्रको विकास र ग्रामिण सडक स्तरोन्नती र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको पालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

यसैगरी मालिका गाउँपालिकाले ४८ करोड १८ लाख ३६ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । चालुतर्फ २९ करोड ९५ लाख ७० हजार, पुँजिगत तर्फ १८ करोड २० लाख ६६ हजार रुपियाँ रहेको छ । 

गाउँपालिकाका अध्यक्ष गर्बुजाले कृषि,शिक्षा,स्वास्थ्य तथा विपद व्यवस्थापन,पुर्वाधार विकास ,युवा स्वरोजगार,पर्यटन, सिँचाई,भवन निर्माण,उर्जा,संचार,सामाजिक विकास नीति,आर्थिक विकासलाई प्राथमिकता दिइएको बताउनुभयो । 

धवलागिरी गाउँपालिकामा ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित पारित गरिएको छ । 

बजेटमा गाउँपालिकामा सञ्चालित र अधुरा योजनालाई निरन्तरता दिँदै दिगो र आधारभुत विकासको आधार तयार गर्ने योजनाहरुलाई प्राथमिकता दिइएको उपाध्यक्ष पुनले बताउनुभयो । ताकममा निर्माणधिन अस्पताल, गुर्जाको स्वास्थ्य चौकी भवन लगायतका क्रमागत योजनालाई निरन्तरता दिएर सम्पन्न गराउने उपाध्यक्ष पुनले बताउनुभयो । 

रघुगंगा गाउँपालिकाले ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षको बजेट छलफल सहित पारित गरिएको हो । सभामा उपाध्यक्ष पुनले सामाजिक सुरक्षा भत्ता बाहेक कुल विनियोजन मध्ये चालुतर्फ ३२ करोड ९० लाख ७५ हजार र पुँजीगततर्फ १३ करोड ९५ लाख ५० हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।  

गाउँपालिका अध्यक्ष  भण्डारीले भौतिक पूर्वाधार विकास संगै सामाजिक, आर्थिक रुपान्तरण, शिक्षा र स्वास्थ्यको गुणस्तर र अवस्था सुधारका लागि नीति तथा कार्यक्रममा जोड दिइएको बताउनुभयो । गाउँपालिकाभित्र रहेको कृषि, पशुपालन, लघुउद्यम क्षेत्रको सम्भावनाको उजागर गर्न र युवाहरुलाई आकर्षित गर्ने नीति लिइएको छ भने धार्मिक र पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण र प्रचार प्रसारमा जोड दिने नीति रघुगंगाले लिएको छ । 

अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । गाउँसभामा उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

चालुतर्फ ३३ करोड १५ लाख ३७ हजार चारसय, पुँजीगत तर्फ १२ करोड १७ लाख ९८ हजार ६ सय,कोषतर्फ दुई करोड ५० लाख र अनुदन तर्फ एक करोड ९० लाख रुपैयाँ बजेट बिनियोजन भएको उपाध्यक्ष पुनले बताउनुभयो । स्वास्थ्य, शिक्षा, पर्यटन, भौतिक पुर्वाधार, युवा तथा खेलकुद, कृषि, खानेपानी तथा सिँचाइ, शिक्षा, वन तथा बातावारण संरक्षणका क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको अध्यक्ष भरतकुमार पुनले बताउनुभयो । 


Author

ठाकुरप्रसाद आचार्य