• ११ वैशाख २०८१, मङ्गलबार

कुमारवर्ती बहुमुखी क्याम्पसलाई क्युएए प्राप्त

blog

मीना कंडेल

कावासोती, असार १० गते । पूर्वी नवलपरासीको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसअनुसार क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख गुरुप्रसाद सुवेदीले बताउनुभयो ।

सन् २०२० मा नै क्याम्पसले क्युएए प्राप्त गर्नुपर्नेमा कोभिड सङ्क्रमण तथा विभिन्न प्राविधिक कारणले डेढ वर्ष ढिला गरेर क्यूएए प्राप्त गरेको जानकारी गराउनुभयो । क्युएए प्राप्त गर्न नसक्दा धेरै जनाबाट अनुत्तरित बन्नुपर्दा दुःख लाग्नेगरेकोमा अब खुसी भएकोे बताउनुभयो । 

अब सरोकारवालाको छलफल समन्वयमा क्याम्पसले थप नयाँ विषयहरू अध्यापन गर्ने प्रक्रिया अघि बढाउने सोचमा रहेको उहाँले बताउनुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पोख्रेलले नेपालभरि क्याम्पसले क्युएए प्राप्त गरेपछि खुशी लागेको बताउनुभयो । प्राप्त उपलब्धी जोगाइराख्न अब क्याम्पस थप सशक्त ढङ्गबाट अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।  

क्याम्पसमा नयाँ विषय शुरु गर्ने बाटो खुलेको अध्यक्ष पोख्रेलले बताउनुभयो । क्याम्पसले छिमेकी क्याम्पसहरूमा पढाइ हुने विषयभन्दा नयाँ खालका प्राविधिक विषय थप गर्ने योजना रहेको उहाँको भनाइ छ । सिभिल इन्जिनियर, बीएलबी लगायतका नयाँ विषय थप गर्ने सोच क्याम्पसले बनाएको उहाँले बताउनुभयो ।   

क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायतका अन्य सुविधा प्राप्त हुनेगर्छ ।