नागरिकता विधेयकमा राजनीति गरेको छैन : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन र नागरिकता विधेयकका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँले प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका नेताहरू र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूसँग मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन र नागरिकता विधेयकबारे छलफल गर्नुभएको हो। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भएको भेटमा नागरिकता विधेयकका सन्दर्भमा आ–आफ्ना भनाइ राख्दै निर्वाचन सम्पन्न गर्ने विषयमा पनि छलफल भएको छ। राष्ट्रपति भण्डारीले भेटवार्ताका क्रममा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो।
सहमतिमै नागरिकता विधेयक : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई सरकारले आफ्नो ढङ्गले अगाडि बढायो भनेर गरिएको चर्चा गलत भएको बताउनुभएको छ। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा सोमबार भएको छलफलक्रममा मन्त्री खाणले यस्तो बताउनुभएको हो। सबै राजनीतिक दलसँग सहमति भएरै नागरिकता विधेयकका विभिन्न प्रावधान आएको उहाँले दाबी गर्नुभयो। नागरिकता ऐन–२०६३ र नेपालको संविधानमा गरिएको नागरिकतासम्बन्धी सबै व्यवस्था राजनीतिक दलको सहमतिमा आएको र ती व्यवस्था नै अहिलेको विधेयकमा रहेको उहाँले उल्लेख गर्नुभयो।
त्रिविको समस्या समाधान गर्न निर्देशन
सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको छ। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले विद्यार्थीको तालाबन्दीका कारण विश्वविद्यालय धराशायी बन्दै गएको र आन्दोलनकारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएपछि सभामुख सापकोटाले सरकारलाई यस्तो निर्देशन दिनुभएको हो। विश्वविद्यालयमा भएको तालाबन्दीलगायतका विरोध कार्यक्रमले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित भएको विषयमा सांसदहरूले धारणा राख्नुभएको थियो। विश्वविद्यालय धराशयी भएको भन्ने विषयमा प्रतिनिधि सभाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सभामुख सापकोटाले सरकारलाई दिनुभएको निर्देशनमा भनिएको छ, “यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु।”
चोलेन्द्रविरुद्धका प्रमाणबारे बारमा असन्तुष्टि
नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिमा बुझाएका मुद्दाका विवरणलाई लिएर कानुन व्यवसायीबीच मतभेद देखिएको छ। छानबिन प्रयोजनका लागि जबराविरुद्धका प्रमाण भन्दै पेस गरेका मुद्दामा संलग्न कानुन व्यवसायीले बारको कदममा असन्तुष्टि जनाएका हुन्। जबराले मुद्दामार्फत अनियमितता गरेको भन्दै बारले प्रमाणका रूपमा ती विवरण पेस गरेको हो। तर केही विवरणमा पक्ष विपक्षको नाम उल्लेख भए पनि केहीमा भने विषयमात्र उल्लेख गरेको छ। नामै किटान गरेका विषयमा केही कानुन व्यवसायीले असन्तुष्टि जनाएका हुन्।
डेङ्गुका बिरामीले भरिँदै अस्पताल
उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्। टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ। उक्त अस्पतालमा चार जना बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा. सुवास आचार्यले दिनुभएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी दिनुभयो। शिक्षण अस्पतालको आकस्मिक कक्षमा आउने अधिकांश बिरामी डेङ्गुको लक्षण लिएर आउने गरेका छन्।
निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आयोगमा ७६ दलको निवेदन
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन विभिन्न ७६ दलका ६८ वटा निवेदन परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिनुभएको हो ।
नागरिकता विधेयकको संवेदनशील विषय परिमार्जन गर्न सकिन्छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फर्काइएको नागरिकता विधेयकको महत्वपूर्ण र संवेदनशील विषयमा परिमार्जन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिको छलफलमा आज सोमबार भाग लिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
कोहलपुरमा पनि अवैध संरचना भत्काइँदै
कोहलपुर नगरविकास समितिले नगरमा सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ । सोमवार विहानबाट प्रहरीको सहयोग लिएर डोजरको माध्यमले न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको कोहलपुरका मेयर पूर्ण आचार्यले बताउनुभयो ।
अवैध काठसहित एक पक्राउ
वन कर्मचारीले अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वर्दिवास ३ गौरीडाँडास्थित भवसी टोलका ३५ वर्षिय जीवन बराईलीलाई साखु (साल) को ९ थान चिरान काठसहित पक्राउ गरेको सवडिभिजन वन कार्यालय माईस्थानले जनाएको छ । वरामद काठ करिव १० क्यूफिट रहेको जनाइएको छ ।
प्रधानमन्त्रीसहित कांग्रेस नेताद्वारा राष्ट्रपतिसँग नागरिकता विधेयकमा छलफल
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले समसामयिक विषयमा छलफल गर्नुभएको छ ।
म्याद थप गरेर कमेडियन क्षितिजमाथि अनुसन्धान गरिँदै
। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार कमेडियन सिंहलाई १० दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिनुभयो ।
नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण
कर्णाली प्रदेश सरकारका नवनियुक्त दुईजना मन्त्रीले शपथ ग्रहण गर्नुभएको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरिएको थियो ।
खाल्डाखुल्डीरहित सडकमा गाडी गुड्छ फिलिलि...
चाडपर्वको सिजन सुरू भएसँगै सडक विभागले देशभरका मुख्य सडकको खाल्डाखुल्डी पुर्ने भएको छ । अन्य समयमा भन्दा चाडपर्वको बेला धेरै मानिसले आवतजावत गर्ने भएकाले सडक विभागले मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने योजना बनाएको हो ।
प्रधानमन्त्री देउवासहित कांग्रेस पदाधिकारी राष्ट्रपति निवासमा
प्रधानमन्त्री सभापति शेरबहादुर देउवासहित नेपाली कांग्रेसका पदाधिकारीहरु राष्ट्रपति निवास पुग्नुभएको छ ।
चिर्पटले हिर्काएर ससूराको हत्या
चिर्पटले हिर्काएर बुहारीले ससूराको हत्या गरेकी छन् । हेलम्बु गाउँपालिका–१ गोवागाङकी ८० वर्षीया ससूरा कामीढिण्डु लामालाई बुहारी रीता तामाङले चिर्पटले हिकाएर हत्या गरेकी हुन् ।
राजमार्गका ११ होटल कारबाहीमा
धादिङको पृथ्वी राजमार्गमा सञ्चालित होटल तथा खाजा घरहरूको जिल्ला अनुगमन टोलीले अनुगमन गरेको छ । जिल्ला अनुगमन टोलीले शुक्रबार र शनिबार दुई दिनको अवधीमा १८ वटा होटल तथा खाजा घरहरूको अनुगमन गर्दा उपभोक्ता हित विपरित काम गर्ने ११ होटललाई कारबाही गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ ।
ढकाललाई थुनामुक्त गर्न पुनः अस्वीकार
विशेष अदालतले ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्न पुनः अस्वीकार गरेको छ । फौजदारी कार्यविधि संहिताको दफा ७८ बमोजिम थुनामुक्तको माग लिएर ढकालले पेस गरेको निवेदनलाई अदालतले अनुमति नदिएको हो । दफा ७८ मा अभियोग प्रमाणित हुँदा हुने अधिकतम कैदको सजायभन्दा बढी अवधि थुनामा राख्न नमिल्ने व्यवस्था छ । ढकालले उक्त व्यवस्था र आफू ज्येष्ठ नागरिकसमेत भएकाले थुनामुक्त पाउँ भनी भदौ ८ गते निवेदन दिनुभएको थियो ।
उपकुलपतिलाई धम्की
“सर नमस्कार ! आजदेखि तपाईं त्रिभुवन विश्वविद्यालय नआउनुस् है । हाम्रो शान्तिपूर्ण आन्दोलन आजदेखि अशान्तिपूर्ण हुँदैछ । नत्र हामी जिम्मेवार हुने छैनौँ,” यो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालाई एक विद्यार्थीले मोबाइलमा पठाएको सन्देश हो । आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उपकुलपति डा. बाँस्कोटाले आन्दोलनरत विद्यार्थी अमर्यादित बन्दै गएको बताउँदै भन्नुभयो, “हामी पढ्दा दीक्षान्त समारोहमा मात्र उपकुलपतिलाई देख्न पाउँथ्यौँ । त्यति अनुशासित हुन्थ्यौँ । अब त उपकुलपतिलाई म्यासेज पठाएर धम्क्याउन थालियो ।”
निजामती सेवा दिवस मनाइँदै
सरकारले १९औँ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । निजामती सेवा दिवस मनाउने सन्दर्भमा भदौ १० गतेदेखि नै विभिन्न कार्यक्रम गर्न सुरु गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । भदौ २० गते सिंहदरबार परिसरमा रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने, २० गते नै गोकर्णेश्वर नगरपालिकाको जगडोलमा रहेको निजामती पार्कसम्बन्धी कार्यविधिको सरोकारवालालाई जानकारी गराउने, सोही पार्कमा वृक्षरोपण गर्ने, विभिन्न ट्रेड युनियनहरूको समन्वयमा खेलकुद कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय भएका छन् ।
जबरालाई सोध्ने प्रश्न तयार पारिँदै
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराउपरको बयानका क्रममा सोधिने प्रश्नावलीको तयारी थालेको छ । समितिले महाभियोग प्रस्तावमा उल्लेखित २१ विषयलाई नै मूल प्रश्न र प्रमाण सङ्कलनका क्रममा आएका विषयलाई समेत समेटेर प्रश्नावलीको मस्यौदा गरिरहेको छ । आइतबारसम्म इमेल र स्वयं उपस्थित भएर करिब दसवटा (व्यक्ति/समूहले) प्रमाण पेस गरेका छन् । ती प्रमाणलाई समेत आधार मानेर समिति सचिवालयले प्रश्नको मस्यौदा गरेको छ । सचिवालयले तयार पारेको प्रश्नावली आधार मानेर नै बयानको प्रक्रिया अघि बढ्नेछ ।
मोबाइलले बढ्यो बालविवाह
हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष उमेरमै बिहे भइसकेको हुन्छ । सूचना प्रविधिको पहुँचले बालविवाहको प्रवृत्ति झाँगिँदै गएको पाइएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल आदिले यसलाई सहयोग पुगेको छ । पुथाउत्तरगङ्गा माध्यमिक विद्यालयका शिक्षक अइनश्वर पुनमगरले मोबाइल फोनमा छिटो बिहे गर्ने निर्णयमा विद्यार्थी पुग्ने गरेको बताउँदै थप्नुभयो, “फेसबुक र च्याटमा भेट हुन्छ । भागी बिहे गर्ने योजना बन्छ । त्यसैले स्कुले छोराछोरीलाई मोबाइल किनिदिने चलन हुन्जेल बालविवाह रोकिनेवाला छैन ।”
हरियाली धान खेत
सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ र ४ को सिमाना रहेको हरियाली धान खेत फाँट । खेतमै पानीको मुल निस्कने भएकोले यहाँ धान लगायतका कृषिजन्य उत्पादन राम्रो फल्छ । तस्बिर : भविन कार्की रासस
बाबुको हत्या आरोपमा छोरा पक्राउ
रेखीराम रानापाल्पा, भदौँ १२ गते । बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पाल्पाको माथागढी –४, झडेवा नेटामा दाउराको चिर्पटले हानेर छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले १४ वर्षीय छोरालाई पक्राउ गरेको हो। शनिबार साँझ ६ बजेतिर छोराले रिसको आबेगमा प्रहार गरेको चिर्पटले लागेर ४५ वर्षीय तिलबहादुर दिसाको घटनास्थलमै मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेर प्रहरी टोलीले आइतबारबाट अनुसन्धान थालेको छ। घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ।