• १२ असार २०८१, बुधबार

नेपाली कांग्रेस र नेकपा एमालेसँग परामर्श

नागरिकता विधेयकमा राजनीति गरेको छैन : राष्ट्रपति भण्डारी

blog

राष्ट्रपति भण्डारी (दायाँ) र प्रधानमन्त्री देउवा । फाइल तस्बिर

काठमाडौँ, भदौ १४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन र नागरिकता विधेयकका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँले प्रधानमन्त्री देउवासहित नेपाली कांग्रेसका नेताहरू र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूसँग मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन र नागरिकता विधेयकबारे छलफल गर्नुभएको हो। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भएको भेटमा नागरिकता विधेयकका सन्दर्भमा आ–आफ्ना भनाइ राख्दै निर्वाचन सम्पन्न गर्ने विषयमा पनि छलफल भएको छ। राष्ट्रपति भण्डारीले भेटवार्ताका क्रममा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो। 

भेटवार्तामा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका अनुसार राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका विषयमा चासो राख्नुभयो। राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै थापाले भन्नुभयो, “राष्ट्रपतिले नागरिकता विधेयकमा मेलै कुनै राजनीति गरेको छैन, मलाई लागेको कुरा लेखेर पठाएको हो भन्नुभएको छ।” राष्ट्रपति भण्डारीको भनाइपछि प्रधानमन्त्री देउवाले नागरिकता विधेयक संसद्मा फिर्ता पठाएको विषयमा आफूलाई कुनै गुनासो नरहेको बताउनुभएको थापाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले राष्ट्रपतिलाई तपाईंले आफ्नो काम गर्नुभएको हो। हामीले आफ्नो काम ग-यौँ। केपी ओलीले ल्याउनुभएकै अध्यादेशलाई जस्ताको तस्तै ल्याएको हो भन्नुभयो।” 

नेकपा एमाले अध्यक्ष ओलीले नागरिकता विधेयकको विरोध गरेकोप्रति प्रधानमन्त्री देउवाले आश्चर्य प्रकट गर्नुभयो। उहाँले नागरिकता नपाएका नागरिकको माग सम्बोधन गर्नकै लागि विधेयक अघि बढाइएको बताउनुभयो। 

प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै महामन्त्री थापाले भन्नुभयो, “ओलीले अहिले के आधारमा नागरिकता विधेयकको विरोध गरिरहनुभएको छ, मलाई अचम्म लागेको कुराचाहिँ त्यही हो। नागरिकताका धेरै विषय छन्, ती पछि आउँछन्, अहिलेचाहिँ सहमति भइसकेको र संविधानअनुसार नागरिकताबाट वञ्चित नागरिकका लागि विधेयक ल्याइएको हो।” राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवासँगै भेटमा कांग्रेस उपसभापति धनराज गुरुङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुहुन्थ्यो। 

एमाले नेतासँग छलफल

राष्ट्रपति भण्डारीले नेकपा (एमाले)का नेताहरूसँग सोमबार नै छलफल गर्नुभएको छ। उहाँले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलसँग छलफल गर्नुभएको हो।