• ७ जेठ २०८१, सोमबार

उपकुलपतिलाई धम्की

blog

काठमाडौँ, भदौ १३ गते  । “सर नमस्कार ! आजदेखि तपाईं त्रिभुवन विश्वविद्यालय नआउनुस् है । हाम्रो शान्तिपूर्ण आन्दोलन आजदेखि अशान्तिपूर्ण हुँदैछ । नत्र हामी जिम्मेवार हुने छैनौँ,” यो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालाई एक विद्यार्थीले मोबाइलमा पठाएको सन्देश हो । आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उपकुलपति डा. बाँस्कोटाले आन्दोलनरत विद्यार्थी अमर्यादित बन्दै गएको बताउँदै भन्नुभयो, “हामी पढ्दा दीक्षान्त समारोहमा मात्र उपकुलपतिलाई देख्न पाउँथ्यौँ । त्यति अनुशासित हुन्थ्यौँ । अब त उपकुलपतिलाई म्यासेज पठाएर धम्क्याउन थालियो ।” 

एक समूहका विद्यार्थीहरूले २९२ दिनदेखि जारी राखेको तालाबन्दीलाई अर्काे खेमाका विद्यार्थीले खोले तर भोलिपल्ट अर्थात् असार २७ गतेबाट पहिले तालाबन्दी गर्दै आएको विद्यार्थी समूहले पुनः तालाबान्दी गरिदियो । त्यसबेलाको तालाबन्दी अहिले पनि जारी छ । उहाँले एक केन्द्रीय विभागका प्रमुखसँग विद्यार्थीहरूले चन्दा मागेको र चन्दा नदिइए ज्यान मार्ने धम्की दिइएको सुनाउँदै भन्नुभयो, “उहाँले पदबाट राजीनामा दिइसक्नुभएको छ । हामीले राजीनामा स्वीकृत गरेका छैनौँ ।” उहाँले सुरक्षाका कारण ती विभागीय प्रमुखको नाम सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । विद्यार्थी आन्दोलनका नाममा विश्वविद्यालयभित्र देखिएको उदण्ड गतिविधिका यी केही उदाहरण हुन् । प्राध्यापक–कर्मचारीको ज्यानै लिनेसम्मको धम्की आफँैले पढाएका विद्यार्थीबाट आउन थालेपछि आफूहरू कार्यालय छिर्न नसकेको गुनासो त्रिवि उपकुलपति डा. बाँस्कोटाले गर्नुभयो । केही समयअघि उपप्राध्यापक प्रेम चलाउनेलाई साङ्घातिक आक्रमण गरेर घाइते बनाएपछि प्राध्यापक–कर्मचारी निकै त्रसित हुन थालेका छन् । 

उपकुलपतिलाई धम्कीपूर्ण सन्देश पठाउने विद्यार्थी विश्वविद्यालयमा आन्दोलनरत नेपाल विद्यार्थी सङ्घका नेता हुन् । नेविसङ्घले गत असार २७ गतेदेखि उपकुलपति, रजिस्ट्रार र दुईवटा डिन कार्यालयमा ताला लगाएका छन् । 

परीक्षामा प्रश्नपत्र निर्माणका क्रममा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने, प्रश्नपत्र निर्माणमा भएको अनियमितताबारे छानबिन गर्न गठन भएको समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा यस्ता काममा संलग्नको नाम सार्वजनिक गर्नुपर्ने माग नेविसङ्घले राखेको छ । 

परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने प्रश्नपत्र निर्माणमा हेलचेक्र्याइँ गर्नेलाई कारबाही गरिसकिएको तर उनीहरूको व्यक्तिगत सुरक्षाका कारण नाम सार्वजनिक नगरिएको बताउनुभयो । “विगतमा यस्तै काममा संलग्न व्यक्तिलाई कारबाही गरेर नाम सार्वजनिक गर्दा दुई जनाको हत्या भएको उदाहरण हामीसँग छ,” उहाँले भन्नुभयो, “फेरि पनि यस्तै दुर्घटना निम्तिन सक्छ भनेर नाम सार्वजनिक गर्न नसकिएको हो ।”

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आफूहरूको मागप्रति त्रिवि पदाधिकारी अनुदार रहेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको दाबी गर्नुभयो । विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापकलाई भौतिक आक्रमण गर्ने धम्की आफूहरूले नदिएको उहाँले स्पष्ट पार्नुभयो । 

तालाबन्दीका कारण विश्वविद्यालय समस्यामा परेको भनाइ पदाधिकारीको छ । त्रिवि उपकुलपति डा. बाँस्कोटाले यो समस्याका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी  गराएको र प्रधानमन्त्रीले ताला फोड्न भन्नुभएको बताउनुभयो । “हामी आफैँले ताला फोड्न पनि समस्या छ । गृह मन्त्रालयलाई पनि अनुरोध गरेका छौँ,” उहाँले भन्नुभयो । कर्मचारीलाई तलब खुवाउनेदेखि अन्य भुक्तानी गर्नसमेत समस्या भएको उहाँले बताउनुभयो । 

यसैबीच नेविसङ्घले लगाएको ताला नेकपा एमाले निकट अनेरास्ववियुले आइतबार फुटाइदिएको छ । अनेरास्ववियुले फुटाइदिए पनि साँझ फेरि नेविसङ्घको टोलीले ताला लगाएको छ । अनेरास्ववियुले रजिस्ट्रार कार्यालय तथा दुईवटा डिन कार्यालयको ताला फुटाएको थियो । साँझ गएको नेविसङ्घको टोलीले  उपकुलपति र रजिस्ट्रार कार्यालयअन्तर्गतको लेखा तथा कर्मचारी प्रशासन महाशाखामा ताला लगाएका छन् ।