• २ असार २०८२, सोमबार

असार लागेसँगै वर्षा, कृषक खुसी

blog

वर्षा भएपछिको मन्थली नगरपालिका –१ स्थित हाटेचौर फाँट ।

नवराज श्रेष्ठ

रामेछाप, असार १ गते । लामो समयदेखि खडेरीको चपेटामा परेको रामेछापमा असार सुरु भएसँगै वर्षा सुरु भएको छ । सदरमुकाम मन्थलीसहित जिल्लाको अधिकांश क्षेत्रमा आइतबार बिहानदेखि सिमसिमे पानी परिरहेको छ ।

जेठ महिनामा खासै पानी नपर्दा खेतबारी सुक्खा बनेको थियो । मकैबाली सुक्न थालेपछि किसानहरू चिन्तित बनेका थिए । असारको पहिलो दिन पानी पर्न थालेपछि किसानमा आशा पलाएको छ ।

मन्थली नगरपालिका –९ पुरानागाउँकी कृषक सरिता श्रेष्ठ भन्नुहुन्छ, “जेठभरिको खडेरीले मकै सुक्न थालेको थियो । आज बिहानदेखि परेको सिमसिमे पानीले बालीमा केही राहत पुगेको छ ।”

आइतबार बिहान मन्थली क्षेत्रमा चट्याङसहित हल्का वर्षा भएपछि अत्यधिक गर्मीका कारण प्रभावित स्थानीय जनजीवनमा शीतलता छाएको छ । स्थानीय व्यवसायी मिलन श्रेष्ठका अनुसार बिहान अबेरबाट पानी परेपछि मौसम शीतल भएको छ । गर्मीबाट सताइएका मन्थलीवासीले राहत पाएका छन् ।

स्थानीय किसानहरू अब निरन्तर वर्षाको आशामा रहेको बताएका छन् । जिल्लाको हिमाली पालिका उमाकुण्ड गाउँपालिकामा असार लागेसँगै धान रोपाइँ सुरु भएको छ ।