• १० मंसिर २०८१, सोमबार

त्रिविको समस्या समाधान गर्न निर्देशन

blog

काठमाडौँ, भदौ १४ गते । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको छ। 

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले विद्यार्थीको तालाबन्दीका कारण विश्वविद्यालय धराशायी बन्दै गएको र आन्दोलनकारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएपछि सभामुख सापकोटाले सरकारलाई यस्तो निर्देशन दिनुभएको हो। विश्वविद्यालयमा भएको तालाबन्दीलगायतका विरोध कार्यक्रमले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित भएको विषयमा सांसदहरूले धारणा राख्नुभएको थियो। विश्वविद्यालय धराशयी भएको भन्ने विषयमा प्रतिनिधि सभाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सभामुख सापकोटाले सरकारलाई दिनुभएको निर्देशनमा भनिएको छ, “यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देश गर्दछु।”

पछिल्लो समय त्रिविमा नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा आन्दोलन भइरहेको छ। उनीहरूले असार २७ गतेदेखि तालाबन्दी गर्दै विभिन्न प्रकृतिको आन्दोलन गरिरहेका छन्। परीक्षामा प्रश्नपत्र निर्माणक्रममा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने, प्रश्नपत्र निर्माणमा भएको अनियमितताबारे छानबिन गर्न गठन भएको समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा यस्ता काममा संलग्नको नाम सार्वजनिक गर्नुपर्ने माग नेविसङ्घले राखेको छ।