कामका लागि युरोप जाने युवाको सङ्ख्या बढ्दो
चितवनका विमल कार्की साइप्रस गएको छ महिना भयो । श्रम स्वीकृति लिएर जानुभएका उहाँ त्यहाँको एउटा ‘प्याकिङ कम्पनी’मा काम गर्नुभयो । नेपालबाट जाँदा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई करिब साढे चार लाख बुझाएर जानुभएको हो । अहिले उहाँको मासिक ९० हजार रुपियाँ तलब छ । खाने, बस्ने खर्च कम्पनीले नै बेहोर्ने भएकाले उहाँले कमाएको लगभग सबै बचत हुन्छ । उहाँजस्तै गरी पछिल्लो चैत महिनामा मात्रै साइप्रसका लागि ३६२ जनाले श्रम स्वीकृति लिएका छन् । नौ महिनाअगाडि रोमानियामा गएकी मधु अधिकारीको पनि राम्रै कमाइ छ ।
जब सचेतकले सभापतिलाई रोके...
प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिनुभएको थियो। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गर्नुभयो। रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा आसन स्थानबाट उठेर बाहिर निस्कन लाग्नुभयो। सत्ता पक्षको आसनको पहिलो पङ्क्तिमै बस्नुभएका देउवा उठेर बाहिर निस्कन लागेपछि संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रोक्नुभयो अनि सभापति देउवा फर्केर आएर पुनः आसनमा बस्नुभयो।
भूकम्पीय क्षति न्यूनीकरण प्रयास फितलो
भूकम्पीय जोखिमपछि उद्धार गर्ने, सचेतना फैलाउने र अध्ययन गर्ने निकायबीच समन्वय नहुँदा सम्भावित भूकम्पबाट हुने क्षति न्यूनीकरणको पहल फितलो बनेको छ।
अख्तियारको अधिकार सङ्कुचन गर्न लबिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पब्लिक लिमिटेड कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको तहसम्म विस्तार गर्ने गरी राष्ट्रिय सभाबाट पारित विधेयकले निजी क्षेत्रमा तरङ्ग ल्याएको छ। त्यस्तो भएमा आयोगको कार्यबोझ बढ्दा प्रभावकारिता घट्ने लबिङ थालिएको छ।
रिलभित्रका तमासा
उदार मन भएका श्री ३ महाराज देवशमशेरले मुलुकको बागडोर सम्हालेपछि ‘प्रजा’ले सिनेमा हेर्ने अवसर पाए । संवत् १९५८ मिति ज्येष्ठवदी ३ सोमबारको गोरखापत्रमा ‘टुँडिखेलमा तमासा’ शीर्षकमा सिनेमा हेर्न सार्वजनिक निम्तो छापियो– श्री ३ महाराजबाट बेदाम्मा दुनिञाहरूले हेर्न पाऊन् भनी टुँडिखेलमा प्रोजेक्टास्कोप अर्थात् मानिसले चलफिर ग-येको सब काम तसवीरबाट सोही बमोजिम दुरुस्त देखिन्या तमासा वैशाख गते २६ बुधबारदेखि हुनेछ । सो तमाशा हेर्नेलाई अगाडि केटा केटीहरू, ताहाँपछि नीज केटा केटीहरूका आमाहरू, वाहाँपछि लोग्ने मानिसहरू वाहाँपछि बग्गीमा आउनेहरू अरूलाई नछेकने गरी रहने छन् ।
अधिवेशन लम्बिँदा बजेटमा दबाब
संसद्को चालु हिउँदे अधिवेशन लम्बिँदै जाँदा बजेट अधिवेशनको कार्यतालिकामा दबाब पर्न थालेको छ । चालु अधिवेशन अन्त्यको कुनै टुङ्गो लागेको छैन । वैशाख १२ गतेपछि लगत्तै अधिवेशन अन्त्यको सिफारिस गर्ने सरकारको तयारी छ । अधिवेशन अन्त्यमा ढिलाइ हुँदा यो वर्ष पनि बजेटको सिद्धान्त र प्राथमिकता (प्री–बजेट)को छलफल सङ्क्षिप्त वा नियम निलम्बनकै भर पर्नुपर्ने अवस्थाउन्मुख भएको छ । अघिल्लो वर्ष प्रतिनिधि सभा नियमावलीको नियम निलम्बन गरेर २०७९ जेठ ४ गतेबाट प्री–बजेट छलफल प्रारम्भ भएको थियो । २०७८ सालमा प्रतिनिधि सभा विघटनको अवस्थामा सरकारले अध्यादेशबाट वार्षिक बजेट ल्याएको थियो ।
डढेलोको मुख्य कारक मानव
देशका विभिन्न भाग डढेलोको चपेटामा परेका छन्। त्यसै कारण देशभरकै वायु प्रदूषण उच्च बनेको छ। यसरी फैलिएको डढेलो मानवीय कारणकै उपज भएको डढेलोविद्हरू बताउँछन्। विश्वका संरक्षित वन क्षेत्रमा डढेलो नलगाई घाँसे मैदान र वन संरक्षण गर्ने प्रविधि भित्रिइसकेका छन् तर नेपालमा भने मान्छेले नै डढेलो लगाएर वन्यजन्तु, जैविक विविधता र वातावरण विनाश भइरहेको डढेलोविज्ञ सुन्दर शर्मा बताउनुहुन्छ । अझै पनि दुई सयभन्दा बढी स्थानमा डढेलो लागिरहेको छ। डढेलोको धुवाँले वायु प्रदूषण बढ्दा जनजीवन कष्कटर बन्दै गएको छ। वर्षा नहुँदा डढेलोको त्रास वैशाख तेस्रो सातासम्म रहने दाबी उहाँ गर्नुहुन्छ।
शिक्षकसँग गैरकानुनी रकम असुली
शिक्षा विकास तथा समन्वय एकाइले स्थायी नियुक्तिपत्रका लागि शिक्षकसँग गैरकानुनी रूपमा शुल्क असुलेका छन्। शिक्षक सेवा आयोगले सिफारिस गरेका शिक्षकले नियुक्तिपत्र बुझ्न एकाइमा शुल्क बुझाउनैपर्ने बाध्यता सिर्जना गरिएको छ। त्यसरी शिक्षकसँग शुल्क लिन पाउने कानुनी व्यवस्था छैन। मातहतका निकायले त्यसरी रकम असुलेको प्रवृत्तिप्रति केन्द्रीय निकायका पदाधिकारीले आपत्ति जनाउँदै त्यस्तो कार्यलाई गैरकानुनी भनेका छन्। त्यसरी रकम असुलिए पनि रकम फिर्ता वा सचेत गराउन सकेका छैनन्।
अधिक भारसहित गुडाइन्छन् टिप्पर
बढी भार बोकेका सवारी साधनले राजमार्गमा गर्ने क्षति रोक्न काभ्रेपलाञ्चोकमा बिहीबारदेखि सवारी साधनको तौल जोखिने भएको छ । तर राज्यका संयन्त्रले नियमित अनुगमन तथा कारबाही नगर्दा डाला थपेर बढी भार बोक्ने टिप्परको बिगबिगी रोकिएको छैन । डाला थपेर निर्धक्क निर्माण सामग्री बोक्दा पनि प्रहरी प्रशासन, यातायात व्यवस्था कार्यालयले त्यस्तो कार्य नदोहोरिने सुनिश्चित गर्न सकेको छैन । नियामक निकायले सामान्य मात्रै कारबाही गर्दा टिप्पर सञ्चालक हौसिएको सर्वसाधारणको गुनासो छ ।
एम्बुलेन्सको एकीकृत निगरानी
“यो एम्बुलेन्स कैलालीमा गुडिरहेको छ । यसले बिरामी पनि बोकेको छ,” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मन्त्रालयको नियन्त्रण कक्षमा रहेको कम्प्युटरको ठूलो स्क्रिनमा देखाउँदै भन्नुभयो । एम्बुलेन्सहरूको मनोमानी बढेको र बिरामीले समयमा नै सुलभ र प्रभावकारी सेवा नपाएको गुनासो व्यापक रूपमा आएपछि सरकारले देशैभरमा सञ्चालन हुने एम्बुलेन्सको एकीकृत निगरानी गर्ने प्रणाली लागू गरी अनुगमन थालेको छ ।
उपत्यकाका एक तिहाइ सटर खाली
व्यावसायिक मन्दीका कारण पछिल्लो समय सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर तथा गोदाम खाली हुन थालेका छन् । मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण व्यापार नहुँदा छोडेर अन्यन्त्र जान थालेपछि सटर खाली हुन थालेका हुन् । मुख्य सहरी क्षेत्रसँगै भित्र गल्लीमा सञ्चालन भएका सटर तथा पसल बन्द हुन थालेका हुन् । आर्थिक गतिविधि नियमित नभई व्यापार व्यवसाय चल्न छाडेपछि पसल बन्द हुन थालेका हुन् ।
मालवाहक सवारीको तौल अब जोखिने
सडक संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अगुवाइमा मालवाहक सवारीको भारवहन क्षमता जाँचिने भएको छ। जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रयासमा व्यवसायी भने बाधक बनेका छन्। काठमाडौँ उपत्यकामा भित्रिने निर्माण सामग्रीको ठूलो हिस्सा ढुवानी गर्ने काभ्रेपलाञ्चोक जिल्लामा टिप्परको अत्यधिक भारवहनका कारण अरनिको, बीपी राजमार्ग तथा हेलम्बु र बनेपा–पनौती सडकखण्ड जीर्ण भएपछि प्रशासनले वैशाख ७ (बिहीबार)देखि मालवाहक सवारीसाधनको भारवहन क्षमता जाँच्ने निर्णय गरेको हो।
महालेखा परीक्षक प्रतिवेदन : आठ राष्ट्रिय गौरवका आयोजनाको प्रगति न्यून
सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक नभएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले जनाएको छ ।
नेपालमा सञ्चालित उद्योगमा पच्चीस खर्ब लगानी
मुलुकभर दर्ता भई सञ्चालनमा रहेका आठ हजार उद्योगमा २५ खर्ब रुपियाँभन्दा बढी लगानी रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा मुलुकभर आठ हजार ६५६ उद्योगमा २५ खर्ब १२ अर्ब लगानी रहेको महालेखाको ६०औँ प्रतिवेदनमा उल्लेख छ । ती उद्योगबाट छ लाख ४८ हजार जनाले रोजगारी प्राप्त गरेका छन् । मुलुकमा दर्ता भएका उद्योगको सङ्ख्याका आधारमा सबैभन्दा धेरै उत्पादनमूलक उद्योग ३७.४ प्रतिशत, सेवामूलक उद्योग २६.६ प्रतिशत, पर्यटन उद्योग २१.९ प्रतिशत, ऊर्जामूलक ५.५ प्रतिशत र अन्य उद्योग ८.६ प्रतिशत रहेका प्रतिवेदनमा उल्लेख छ ।
अब सरकारको अधीनमा स्मार्ट टेलिकम
तोकिएको समयभित्र नवीकरण गर्न नसकेपछि दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र स्वतः खारेज भएको छ । यससँगै कानुनबमोजिम स्मार्ट टेलिकमको सबै सम्पत्ति र दूरसञ्चार प्रणाली नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणको अधीनमा आएको छ । अनुमतिपत्र नवीकरण नहुँदा दूरसञ्चार सेवा प्रदायक सरकारको अधीनमा आएको नेपालको सन्दर्भमा पहिलो घटना हो ।
धुलो र धुवाँले अधिक प्रदूषण
एक सातादेखि काठमाडौँलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण उच्च हुँदै आएको छ । बढदो गर्मीको रापसँगै धुलो र धुवाँको अधिक प्रदूषणले सडक र सार्वजनिक स्थलमा हिँडिसाध्य छैन । आइतबार उच्च प्रदूषणका कारण देशभरकै जनजीवन प्रभावित बनेको छ । काठमाडौँ उपत्यका एक सातादेखि नै प्रदूषण भरिएको खाल्डोमा परिणत भएको छ । विश्वका विभिन्न सहरसँग तुलना गर्दा काठमाडौँ उच्च वायु प्रदूषण भएको सहरमा गनिन थालेको छ । विश्वस्तरमा मापन गरिने वायु प्रदूषणको मापनले पनि काठमाडौँ विश्वकै प्रदूषित सहरको उच्च सूचीमा देखिन थालेको हो । वातावरण विभागले पनि काठमाडौँको वायु श्वास फेर्नलायक नरहेको स्वीकार गरेको छ ।
नौ जनाविरुद्ध पौने तीन अर्बको मुद्दा
सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) खरिद प्रकरणमा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालत काठमाडौँमा आइतबार दायर गरिएको मुद्दामा सबैसँग गरेर दुई अर्ब ७५ करोड रुपियाँ बिगो माग दाबीसहित सबैलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग पनि गरिएको छ।
वीरमा बन्दै छ जलन उपचार कक्ष
तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष (बर्न वार्ड) सञ्चालन गर्ने घोषणा भएको समय व्यतीत हुन लाग्दा सामान्य भौतिक पूर्वाधार मात्र तयार भएको छ। दुई महिनामा सामान्य भौतिक पूर्वाधार तयार भएको छ भने आवश्यक उपकरण र जनशक्तिको व्यवस्था अझैसम्म भएको छैन।
राष्ट्रिय परिचयपत्रलाई छैन अन्तर्राष्ट्रिय वैधता, पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा
राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ। सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ। तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै समस्यामा पर्नुभएको छ।
विद्यार्थीका हातहातमै पाठ्यपुस्तक
नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो । यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ ।
संविधान जोगिएको वर्ष
वर्ष २०७९ थुप्रै आशा र केही निराशा दिएर बिदा भयो । जनजीविकाको सवालमा अपेक्षित उपलब्धि नदेखिए पनि भविष्यमा आशावादी बन्न सक्ने थु्रप्रै विषयको जग बसाल्न सफल भएको छ २०७९ साल । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता तथा मुलुकको शासन प्रणालीसँग जोडिएका व्यवस्थालाई अझ मजबुत बनाउने काममा बितेको वर्ष उपलब्धिमूलक रह्यो
कुल आम्दानी चालु खर्चलाई मात्र ठिक्क
चालु वर्षको तेस्रो त्रैमास पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चबीचको असन्तुलन झन् विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चैतसम्मको सरकारको कुल प्राप्ति र खर्चबीचमा दुई खर्ब २२ अर्ब रुपियाँ बराबरको खाडल देखिएको हो । कार्यालयका अनुसार चैतसम्म सरकारले सात खर्ब २४ अर्ब ४७ करोड रुपियाँ प्राप्त गर्दा नौ खर्ब ४३ अर्ब पाँच करोड रुपियाँ खर्च गरेको छ । लक्ष्यअनुसार आम्दानी बढ्न नसक्दा सरकारको कुल आम्दानी साधारण प्रकृतिको चालु खर्चका लागि मात्र पर्याप्त हुने अवस्था सिर्जना भएको छ ।
हिमाली क्षेत्रमा थपिँदै पोखरी
हिमालका आधार शिविरआसपासका क्षेत्रमा केही समययता पोखरी देखिन थालेका छन्। ती क्षेत्रमा पहिलेजस्तो बाक्लो हिउँ जम्न छाडेको छ। हिउँले सेताम्य हुने पहाड काला देखिने गरेका छन्। सगरमाथा आरोहणमा सघाउँदै गर्दा अविरल राईले सन् २०१७ देखि २०२२ सम्म खिचेका सगरमाथा आधार शिविरका तस्बिरको तुलनात्मक अध्ययन गर्दा पनि ती क्षेत्रमा अब पहिलेजस्तो बाक्लो हिउँ देख्न पाइँदैन।
कान्ति बाल अस्पताल अब अध्ययन संस्थान
कान्ति बाल अस्पताल ‘बाल स्वास्थ्य अध्ययन संस्थान’मा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस्थान’मा परिणत गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएको जानकारी दिनुभयो । उहाँका अनुसार डीपीआर निर्माणका लागि २८ करोड रुपियाँ खर्च भएको छ ।