काठमाडौँ, वैशाख ८ गते । देशका विभिन्न भाग डढेलोको चपेटामा परेका छन्। त्यसै कारण देशभरकै वायु प्रदूषण उच्च बनेको छ। यसरी फैलिएको डढेलो मानवीय कारणकै उपज भएको डढेलोविद्हरू बताउँछन्।
विश्वका संरक्षित वन क्षेत्रमा डढेलो नलगाई घाँसे मैदान र वन संरक्षण गर्ने प्रविधि भित्रिइसकेका छन् तर नेपालमा भने मान्छेले नै डढेलो लगाएर वन्यजन्तु, जैविक विविधता र वातावरण विनाश भइरहेको डढेलोविज्ञ सुन्दर शर्मा बताउनुहुन्छ । अझै पनि दुई सयभन्दा बढी स्थानमा डढेलो लागिरहेको छ। डढेलोको धुवाँले वायु प्रदूषण बढ्दा जनजीवन कष्कटर बन्दै गएको छ। वर्षा नहुँदा डढेलोको त्रास वैशाख तेस्रो सातासम्म रहने दाबी उहाँ गर्नुहुन्छ।
सुरुवाती डढेलो, नियन्त्रित डढेलो र खण्डित डढेलो गरी नेपालका वन क्षेत्रमा तीन प्रकारले डढेलो लगाइन्छ। डढेलोको विकल्प हुँदै नभएको होइन तर यसको व्यवस्थापन महँगो भएकाले पनि नेपालले अपनाउन सकिरहेको छैन। राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालका अनुसार पनि मानिसले आगो नियन्त्रण गर्न सक्ने अवस्थासम्म त्यसले फाइदा गर्छ तर जब आगोले मान्छे नियन्त्रण गर्न थाल्छ त्यो खतरापूर्ण हुन्छ।
अहिले बढेको डढेलो निकुञ्ज आफैँले नलगाएको दाबी उहाँले गर्नुभयो। ढकालले भन्नुभयो, “कसै न कसैले आगो लगाइदिन्छन्, त्यो चुनौतीपूर्ण बनेको छ। निकुञ्जले लगाउँदा नियन्त्रित आगो लगाउँछ र आफैँ निभाउँछ।”
तराई क्षेत्रमा वन अतिक्रमण गरेर जग्गा कमाउने जमातका कारण डढेलो लगाउने क्रम चुलिएको दाबी उहाँले गर्नुभयो। घाँसे मैदान व्यवस्थापन गर्न समुदायमा व्यक्तिगत तहमै कार्यक्रम लैजानुपर्ने भएकाले थप बजेट र जनशक्ति व्यवस्थापन गर्न पहल भइरहेको उहाँले बताउनुभयो।
कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख रमेशकुमार यादवका अनुसार कतिपय संरक्षित क्षेत्रमा डढेलो लगाउनै पर्दैन, प्राकृतिक रूपमै व्यवस्थापन हुने गर्छ। त्यसको उदाहरण आरक्ष नै भएको उहाँ बताउनुहुन्छ। उहाँले भन्नुभयो, “आरक्षमा भएका हात्ती, अर्ना, गौरीगाईलगायतका घाँस खाने प्रजातिका प्राणी धेरै छन्। तिनले खाएर ठुटा पारेको घाँसमा आगो लगाउनै पर्दैन।”
भारतको ठूलो क्षेत्रफलको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा डढेलो बिरलै लगाइन्छ। ब्रह्मपुत्रको जङ्गलमा पनि हात्ती र अर्नाको सङ्ख्या धेरै छ। त्यसैले घाँस व्यवस्थापन हुन्छ तर चितवन राष्ट्रिय निकुञ्जमा घाँस खाने प्रजातिको तुलनामा मासु खाने प्रजातिका वन्यजन्तुको सङ्ख्या बढ्दै छ।
कोशीको तुलनामा सानो क्षेत्रमा पहिले–पहिले खरखडाईले व्यवस्थापन हुने गरेको निकुञ्जको घाँसे मैदानमा पछिल्लो समय मानिसको उपस्थिति कम गराइएको छ। निकुञ्जसँग घाँसे मैदानको व्यवस्थापनका लागि आउने सीमित बजेटले धान्दैन। त्यसमाथि निकुञ्जमा घाँसे आहाराका प्रजातिको तुलनामा बाघको सङ्ख्या बढ्दो छ। निकुञ्जका प्रमुख दिलबहादुर पुर्जाका अनुसार बढेको घाँस नकाटी नयाँ पलाउँदैन। उहाँ भन्नुहुन्छ, “घाँस नपलाए मृग र बँदेल बढ्दैनन्। तिनीहरूको वृद्धि नभए बाघ, भालुको सङ्ख्या पनि बढ्दैन।”
नियन्त्रण गर्न परिपत्र
देशव्यापी रूपमा उच्च स्तरमा बढेको डढेलो अनियन्त्रित हुँदै गएको छ। नियन्त्रण र व्यवस्थापन गर्न वन तथा भू–संरक्षण विभागले सबै निकायसँग संयुक्त पहल गरेर अघि बढ्न देशभरका जिल्ला वन कार्यालयलाई परिपत्र गरेको छ।
वन क्षेत्रमा यति बेला समुदाय, सुरक्षा निकाय र वन कर्मचारीको सीमित स्रोत र साधनको प्रयोग गरी डढेलो नियन्त्रण र व्यवस्थापनमा खटिए पनि बढ्दो तापक्रम र प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रण गर्न कठिनाइ भएको विभागले औँल्याएको छ। वनमा रहेका ज्वलनशील पदार्थको अत्यधिक चापसँगै भौगोलिक विकटताका कारण पनि डढेलो अनियन्त्रित बनेको पुष्टि विभागले गरेको छ।
सरकारी वन क्षेत्रमा मात्र नभई समुदायका संरक्षित वन क्षेत्रमा पनि डढेलो उच्च छ। संरक्षित वन क्षेत्र वन्यजन्तु र जैविक विविधताको स्रोत मानिन्छ। वन्यजन्तुका लागि आहार व्यवस्थापनका लागि संरक्षित वनमा बर्सेनि डढेलो लगाउने गरिन्छ। उच्च गर्मीले डढेलो नियन्त्रण गर्न कठिनाइ हुँदै गएपछि कतिपय संरक्षण क्षेत्रले स्थानीय तहको सहयोगमा दमकल प्रयोग गरी आगो निभाउन थालिएको छ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले भन्नुभयो, “आज बिहान मात्र दमकल बोलाएर आगो निभाइयो, कतिपय क्षेत्र र वन्यजन्तुको उच्च बासस्थान रहेको क्षेत्रको आगो नियन्त्रण नगरे ठूलो क्षति पुग्छ।”
उहाँले साल प्रजातिको वन क्षेत्रमा लाग्ने आगो अन्यत्रको भन्दा ठूलो हुने भएकाले पनि कहिलेकाहीँ अतिरिक्त शक्ति प्रयोग गरेर डढेलो निभाउनुपर्ने बताउनुभयो।
चितवन राष्ट्रिय निकुञ्जमा पनि अहिलेको समयमा डढेलो उच्च छ। प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जाका अनुसार वन क्षेत्रमा सुक्खा बढेसँगै एक झिल्कोले पनि आगो लाग्ने भएको छ। ठूलो विनाश हुन नदिन हरेक पल अनुगमन भइरहेको छ। निकुञ्जमा दैनिकजसो झन्डै २० वटा क्षेत्रमा डढेलो लागिरहेको छ। नेपालमा सरकारी वन, सामुदायिक वन र संरक्षित वनको वर्चस्व छ।