महानगरले बन्द गरायो शैक्षिक मेला
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले बिहीबारदेखि सुरु गरेको शैक्षिक मेला एक दिन पनि नचल्दै काठमाडौँ महानगरपालिकाले स्थगित गरिदिएको छ। मेला राजधानीको भृकुटीमण्डपमा सञ्चालन गरिएको थियो। सभामुख देवराज घिमिरेले बिहीबार बिहान मेला उद्घाटन गर्नुभएको थियो। सभामुखले उद्घाटन गरेको केही घण्टामै महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा गएको टोलीले मेला बन्द गर्न लगाएको हो।
बर्खामा पनि मेलम्चीको पानी नरोकिने
मुलुकमा बुधबारदेखि मनसुन भित्रिएको छ तर यस वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने विषयमा मेलम्ची खानेपानी आयोजना अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन। तथापि सुरक्षा पूर्वाधारको काम निकै राम्रो भएकाले पानी निरन्तर आउने सम्भावना बढेको आयोजनाले जनाएको छ।
पिपलसँगै ढल्यो मन पनि
पश्चिम चितवनको पटिहानी, धनौजी चोकको पिपलको रुख अब स्मृतिमा सीमित भएको छ । स्थानीय अपिल घिमिरेको आँगन छोएर अडिएको पिपलको रुख ढल निर्माण गर्ने क्रममा एक्साभेटरले उखालिँदा घिमिरेको मन पीडाले भतभती पोल्यो । उहाँले त्यो रुख नकाट्न अनेक प्रयत्न गर्नुभयो तर जोगाउन सक्नुभएन । श्रद्धापूर्वक शिर निहुराउँदै उहाँले पिपलसँग अन्तिम पटक भन्नुभयो, “मलाई माफ गर्नू, मेरो एक्लो चित्कार कसैले सुनेनन् । तिमी रोएको कसले बुझिदिने ? मैले जोगाउन सकिनँ, दुवै हात जोडेर क्षमा माग्छु ।”
कर्मचारी सरुवा व्यवस्थापन प्रभावकारी बनाइँदै
सरकारले निजामती कर्मचारीको सरुवा व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । कर्मचारीको एकै वर्षमा चार/पाँच पटकसम्म विभिन्न कार्यालयमा सरुवा हुन थालेपछि कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको हो । छोटो समयमा कर्मचारीको सरुवा हुँदा नियमित सेवा प्रवाह र योजना कार्यान्वयनमा समस्या देखिन थालेपछि निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न मन्त्रालयकै दुई जना सहसचिव रहेको कार्यदल गठन गर्न लागेको छ ।
सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द
मन्दिर र बस्तीमा जाने खानेपानीको पाइपबाट स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द भएको छ । आकासेपानीको भरमा चलेको पञ्चेश्वर स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको हो । पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन खटिएका स्वास्थ्यकर्मी कोकिला भट्ट र निर्मला लावड स्वास्थ्य चौकीमै डेरा गरी बस्नुभएको छ । दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य चौकी भएर जाने मन्दिरको खानेपानीको पाइपबाट पानी भर्न नपाएको अनमी निर्मला लावडले बताउनुभयो ।
अनियमित वर्षाले समस्यामा कृषक
तापक्रम र मनसुनको उतारचढावले कृषि उत्पादनमा गहिरो असर पर्न थालेको छ । नेपालको खेती मौसमी प्रणालीमा निर्भर छ तर कृषिसँग सम्बन्धित मौसमी सूचना अनिश्चित छ । जसका कारण किसानले बारम्बार नोक्सानी बेहोर्नुपरेको कृषि विज्ञहरूको गुनासो छ । अघिल्लो वर्ष असोजमा बेमौसमी वर्षा हुँदा खेतमै काटेको धान सोत्तर बन्यो । यो वर्ष हिउँदमा कम वर्षा हुँदा बाली राम्रो उत्पादन भएन । यस पटकको वर्षामा पनि कम पानी पर्ने पूर्वानुमान छ तर मनसुन भित्रिने र सक्रिय रहने सही समयको सूचना किसानले पाउन सकेका छैनन् ।
बालश्रम अन्त्य कागजमै सीमित
“भाँडा उठाउँदा हुन्छ नि हजुर ?” कालीमाटी रोडमा पर्ने चिया खाजा पसलमा काम गर्ने रमण भाइलाई भाडा उठाउन सधैँ यस्तै हतार हुन्छ । साहुल जुठा भाँडा टेबुलमै देख्नुभयो भने मलाई पिट्नुहुन्छ, अमिलो मन बनाउँदै रमणले भन्नुभयो । पूरा नाम भन्न नमान्ने रमण देख्दा १०/११ वर्ष जस्ता देखिनुहुन्छ तर उहाँले उमेर बढाएर १६/१७ वर्ष भन्ने गर्नुभएको छ ।
मनसुनबाट साढे १२ लाख प्रभावित हुने अनुमान, प्रतिकार्य राष्ट्रिय योजना तयार
यही जेठको अन्तिममा सुरु भएर करिब एक सय दिन क्रियाशील यस वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा दिइएको जानकारी अनुसार मनसुनबाट प्रभावित हुन सक्ने जनसङ्ख्या १२ लाख ५४ हजार १८१ र घरधुरी दुई लाख ८६ हजार ९९८ रहने छन्।
बच्चा कोरल्न व्यस्त स्वर्गचरी
सानो चट्ट मिलेको ज्यानमा नीला आँखा । शरीरमा रहेको सेतो पखेटा र लामो लहरेदार पुच्छर । अनि चञ्चले स्वभावको स्वर्गचरी (प्याराडाइज फ्लाइक्याचर) का जोडी नेपालमा बच्चा कोरल्न व्यस्त छन् । पोथी स्वर्गचरीको जिउ खैरो हुन्छ । आँखा र टाउकोको रङ दुवैको उस्तै हल्का कालो हुन्छ । हेर्दै मन हर्ने सुन्दर रूप भएकाले पनि स्वर्गचरी हेर्न चरा पारखी यो मौसममा वनपाखा धाउने गरेका छन् ।