माओवादीका तीन जना उम्मेदवार एमाले प्रवेश
गोरखापत्र अनलाइन काठमाडौं, वैशाख २६ गते । नेकपा (माओवादी केन्द्र) का तर्फबाट काठमाडौँ महानगरपालिकामा उम्मेदवार रहेका तीन जना उम्मेदवार नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । केही दिन अघि पनि वडा– १३ र १५ वाट उम्मेदवार बनेका वडाध्यक्ष टीमसहित उहाँहरु एमाले प्रवेश गर्नुभएको थियो । आज फेरि माओवादी केन्द्रवाटै वडा–२४ का वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएका राजेन्द्र श्रेष्ठ एमाले प्रवेश गर्नुभएको छ । उहाँसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौँ जिल्ला सचिव राजेश शाक्यले टीका लगाएर पार्टी प्रवेश गाराउनुभयो । पार्टी प्रवेशपछि सम्वोधन गर्दै श्रेष्ठले माओवादी केन्द्रको कार्यशैलीप्रति असन्तुष्टि बढेको र परिवारवाद हावी भएपछि आफूहरु पार्टी परित्याग गरेको बताउनुभयो । पार्टी नेतृत्वको कार्यशैली मन नपरेपछि आफूहरु एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो ।समकालीन राजनीतिका चर्चित व्यक्तित्व केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टीमा रहेर आगामी दिनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने महाअभियानमा निरन्तर लाग्ने प्रण उहाँले व्यक्त गर्नुभयो । यसअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बन्नुभएका रामशरण डङ्गोल र १५ को वडाध्यक्ष उम्मेदवार बन्नुभएका रत्नकाजी महर्जन पनि पार्टी परित्याग गरी एमाले प्रवेश गरिसक्नुभएको छ । पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताउनुभयो । देश बनाउने महान अभियानमा एमाले रहेकाले सबै ढिलोचाँडो एमालेको पक्षमा उभिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न आयोगको निर्देशन
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ ।
राम्रो पार्टी र राम्रो नेता छान्न सक्नुहोस्: नेता लिङ्देन
विष्णुप्रसाद पोखरेलदमक, वैशाख २६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ३० गते हुने स्थानीय तको निर्वाचनमा देशको भलो चिताउनेलाई जिताउन आग्रह गर्नुभएको छ । यो देश बदल्ने अवसर भएको बताउँदै उहाँले यस्तो बताउनुभएको हो ।झापाको बिर्तामोडमा सोमबार विहान चुनावी सभामा बोल्दै लिङ्देनले जनताले परिवर्तन चाहेकाले त्यो परिवर्तन सम्भव रहेको जनाउनुभयो । ‘‘राम्रो पार्टी र राम्रो नेता छान्न सक्नुहोस् ।’’ उहाँले भन्नुभयो ।भोट हाल्नु अघिसम्म नमस्कार गरेको भरमा नेतालाई भोट हालेर जिताइसकेपछि नमस्ते नगर्ने नेतालाई बेलैमा चिन्नुपर्ने धारणा उहाँले राख्नुभयो । मतदाताको हातमा मतपत्र र स्वस्तिक छाप परेको समय परिवर्तनकारी कुशल नेतृत्व छान्ने अवसर भएकाले त्यसको सदुपयोग गर्ने जिम्मेवारी स्वयं मतदाताको भएको पनि उहाँले बताउनुभयो ।झापाका अधिकांश पालिकामा राप्रपा आफू एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न उम्मेद्वारी मनोनयन गरेको छ । राप्रपाका अध्यक्ष लिङ्देन केही दिनयता गृहजिल्लाका विभिन्न स्थानीय तहहरुमा चुनावी सभामा सहभागी ह'Fदै आउनुभएको छ ।
महालक्ष्मीमा गठबन्धनसँग अन्यदलको प्रतिस्पर्धा
ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धनसँग अन्यदलको प्रतिस्पर्धा हुने भएको छ ।
छाङरु र तिङ्करमा हेलिकाेप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो
अतिक्रमित भूमि कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्यासमा हेलिकाेप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्यास गाउँपालिका–१ मा रहेका छाङरु र तिङ्करको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरले निर्वाचन सामग्री ढुवानी गरेको हो ।
तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र
काठमाडौँ, वैशाख २६ गते । स्थानीय तह निर्वाचनका लागि काठमाडौँको तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम गरिएको छ । १४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले जानकारी दिनुभयो । तारकेश्वरमा ५७ पदका लागि २७२ जनाले उम्मेदवारी दिनुभएको छ । तीमध्ये नगरप्रमुखमा १६ र उपप्रमुखमा छ जनाले उम्मेदवारी दिनुभएकोे जनाइएको छ । उक्त नगरपालिकामा विभिन्न १० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिनुभएको छ ।निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिमसमेत प्रदान गरिसकेको उहाँले बताउनुभयो । यस्तै, निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको उहाँको भनाइ छ ।काठमाडौँ जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेका साङ्ला, जीतपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैजु र फुटुङ गाउँ विकास समिति मिलाएर बनाइएको तारकेश्वरमा ११ वडा कार्यालय छन् । तारकेश्वरमा कूल ३५ हजार ८२ मतदाता छन् । तारकेश्वरमा नेपाली कांग्रेसबाट प्रमुखमा कृष्णहरि महर्जन र उपप्रमुखमा सिर्जना बुर्लाकोटी, नेकपा (एमाले)बाट प्रमुखमा रामेश्वर बोहोरा र उपप्रमुखमा भवानी डोटेल उम्मेदवार हुनुहुन्छ ।
सुदूरपश्चिमका ७३४ वडामा ३५ जना महिला मात्रै वडाअध्यक्षका उम्मेदवार
महिला सहभागिता ५० प्रतिशत हुनु पर्ने माग भइरहेको भए पनि यसपटकको स्थानीय चुनावमा प्रमुख दलले सुदूरपश्चिमका ७३४ वडामा झण्डै पाँच प्रतिशत अर्थात ३५ जनाले मात्र उम्मेदवारी पाएका छन् ।
महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट
कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा छलफल गर्न थालेका छन् । महिलाहरु लैङ्गिक मुद्दा नबुझेको उम्मेदवार पालिकाको नेतृत्वमा आए महिला झन पछाडि पर्ने भएकाले सचेत रहन आग्रह समेत गरिइएको छ ।
पाँच दिन प्रशासनको सेवा बन्द
जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनु पर्ने भएकाले नागरिकता लगायतका कार्यहरु बन्द रहने जनाएको छ ।