• ४ जेठ २०८१, शुक्रबार

स्थानीय तह निर्वाचन

महालक्ष्मीमा गठबन्धनसँग अन्यदलको प्रतिस्पर्धा

blog

काठमाडौं, वैशाख २६ गते । ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धनसँग अन्यदलको प्रतिस्पर्धा हुने भएको छ । 

महालक्ष्मी नगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । महालक्ष्मी नगर प्रमुखमा माओवादी केन्द्रका शिवप्रसाद कट्टेल र उपप्रमुखका प्रतिस्पर्धी काँग्रेसका लक्ष्मी महर्जन हुनुहुन्छ । 

नगर प्रमुखका उम्मेदवार माओवादी केन्द्रका नेता कट्टेलले नगरपालिकाको भविष्यप्रति केन्द्रीत रही स्थानीय तहमा त्यहाँको समुदायसँग बसेर काम गर्ने योजना रहेको बताउनुभयो । 

मैले जितेँ भने नगरपालिकाको मुहार फेर्नेछु, हारेँ भने पनि राजनीतिकरुपमा बाहिर जान्नँ । आफू विगतदेखि नै सामाजिक सेवामा पनि निरन्तर सक्रिय रहेका कारण जनताको सामु अहोरात्र खटिरहने उहाँले बताउनुभयो । यसअघि मेरो हातमा केही थिएनँ तर, नगर बाहिरबाट पनि थुप्रै काम गरेको छु, उहाँले भन्नुभयो, शिक्षा, पुल निर्माण, मठमन्दिरलाई सहयोग गर्ने, कोभिड–१९ को महामारी र एक घर, एक धारालगायतका अवधारणाको काममा आफूले सक्दो योगदान पुर्याएको छु । 

नगरपालिकामा फोहोरमैला व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्दै उपचार गर्न नपाएर नागरिकको ज्यान जाने अवस्था आउन नदिने वातावरण निर्माण गर्ने उहाँको प्रतिबद्धता छ । आगामी दिनमा स्थानीय तहमा ऐतिहासिक धरोहर, बाजागाजालगायत सांस्कृतिक सम्पदालाई जीवन्त राख्ने सम्बन्धमा विभिन्न योजना रहेको उहाँले बताउनुभयो । 

यसैगरी, नगर उपप्रमुखका उम्मेदवार काँग्रेस पार्टीकी महर्जनले पनि नगरपालिकालाई सुशासन, प्रभावकारी कार्यसम्पादन र नागरिकमैत्री बनाउन जोड दिइने, शासन सञ्चालनमा नागरिक सहभागिता सुनिश्चित गर्न ‘नागरिक निगरानी समूह’  गठन गरी अघि बढ्ने संयुक्त प्रतिबद्धता रहेको बताउनुभयो ।     

सम्भवभित्र असम्भव होइन, असम्भवभित्र सम्भव खोज्नु जनप्रतिनिधिको अनिवार्य दायित्व रहेको बताउनुहुँदै उहाँले न्यायको पक्षधर, इमानदारिताका साथ नगर विकासमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । 

नेकपा एकीकृत समाजवादीका थापा

महालक्ष्मी नगर प्रमुखमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको नकुल थापाको पनि उम्मेदवारी रहेको छ । आफू निर्वाचित भएपछि नगरपालिकाको आफ्नै भवन निर्माण गर्ने विषय पहिलो प्राथमिकतामा रहने उहाँ बताउनुहुन्छ । 

प्रमुख कुरा आफ्नै भवन नभएकाले भवन बनाउनमा पहिलो भूमिका रहन्छ, त्यसपछि यहाँ खानेपानीको हाहाकार छ, यो समस्या समाधान पहिलो प्राथमिकताका साथ ध्यान दिइने उहाँ बताउनुहुन्छ । यससँगै भौतिक पूर्वाधार, सामाुदायिक अस्पताल र निःशुल्क भनिएका शिक्षामा लक्षित वर्गको पहुँच निर्माण गर्ने उहाँको भनाइ छ । 

अहिले हामी चुनावको प्रचारप्रसार र घरदैलोमा व्यस्त छौँ । महालक्ष्मी नगरमा विकास निर्माणदेखि नक्सा पास गर्ने लगायत भुक्तानी लेनदेन जस्ता विषयमा झन्झट छ, नगरबासीलाई सुलभ र सजिलो हुनेगरी गुणस्तरीय विकास निर्माणको काम अघि बढाइने उहाँले बताउनुभयो । यसअघि वडा नंम्बर– ७ को अध्यक्ष समेत रहनुभएका थापाको अघिल्लो कार्यकाल उदाहरणीय भएको प्रतिक्रिया स्थानीय तहमा आएको उहाँ बताउनुहुन्छ । नगरबासीले वडा नम्बर– ७ को जस्तो काम हुनुपर्छ, त्यस्तै जनप्रतिनिधि आउनुपर्छ भन्ने माग छ, अरु पार्टीले समेत सहयोग गर्ने वचन दिनुभएको छ, उहाँले भन्नुभयो, गठबन्धनका कारण उपप्रमुख र अन्य धेरै वडामा उम्मेदवार दिएनौँ । 

नेकपा (एमाले)का श्रेष्ठ

महालक्ष्मी नगर प्रमुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । यसैगरी, उपप्रमुखमा बिना सुवेदी केसी प्रतिस्पर्धी हुनुहुन्छ । महालक्ष्मी नगरलाई समृद्ध नगरको रुपमा विकास गर्ने संकल्पसहित नेतृत्वमा उम्मेदवारी दिइएको श्रेष्ठ बताउनुहुन्छ । 

यसैगरी, नगर प्रमुखमा नेपाल कमयुनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) का गणेश शर्मा तिमिल्सिना, आमूल परिवर्तन मसिहा पार्टी नेपालका तिमिला कर्माचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रविण खत्री, नेपाल मजदुर किसान पार्टीका महन्त महर्जनको उम्मेदवारी रहेको छ । प्रमुखमा स्वतन्त्रबाट भने दुई जना गरी जम्मा नौ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।  

महालक्ष्मी उपप्रमुखमा राप्रपाका रामदेवी महर्जन र स्वतन्त्रका एक गरी जम्मा चार जनाको उम्मेदवारी छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।