• ५ जेठ २०८१, शनिबार

माओवादीका तीन जना उम्मेदवार एमाले प्रवेश

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, वैशाख २६ गते । नेकपा (माओवादी केन्द्र) का तर्फबाट काठमाडौँ महानगरपालिकामा उम्मेदवार रहेका तीन जना उम्मेदवार नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । केही दिन अघि पनि वडा– १३ र १५ वाट उम्मेदवार बनेका वडाध्यक्ष टीमसहित उहाँहरु एमाले प्रवेश गर्नुभएको थियो । 

आज फेरि माओवादी केन्द्रवाटै वडा–२४ का वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएका राजेन्द्र श्रेष्ठ एमाले प्रवेश गर्नुभएको छ । उहाँसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई एमाले काठमाडौँ जिल्ला सचिव राजेश शाक्यले टीका लगाएर पार्टी प्रवेश गाराउनुभयो । 

पार्टी प्रवेशपछि सम्वोधन गर्दै श्रेष्ठले माओवादी केन्द्रको कार्यशैलीप्रति असन्तुष्टि बढेको र परिवारवाद हावी भएपछि आफूहरु पार्टी परित्याग गरेको बताउनुभयो । पार्टी नेतृत्वको कार्यशैली मन नपरेपछि आफूहरु एमालेमा प्रवेश गरेको उहाँले बताउनुभयो ।

समकालीन राजनीतिका चर्चित व्यक्तित्व केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टीमा रहेर आगामी दिनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने महाअभियानमा निरन्तर लाग्ने प्रण उहाँले व्यक्त गर्नुभयो ।  

यसअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बन्नुभएका रामशरण डङ्गोल र १५ को वडाध्यक्ष उम्मेदवार बन्नुभएका रत्नकाजी महर्जन पनि पार्टी परित्याग गरी एमाले प्रवेश गरिसक्नुभएको छ ।  

पार्टी प्रवेश  कार्यक्रमलाई सम्बाेधन गर्दै एमाले जिल्ला कमिटी सचिव शाक्यले पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने बताउनुभयो । देश बनाउने महान अभियानमा एमाले रहेकाले सबै ढिलोचाँडो एमालेको पक्षमा उभिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।