• १० मंसिर २०८१, सोमबार

पाँच दिन प्रशासनको सेवा बन्द

blog

तम्घास,वैशाख २६ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनुपर्ने भएकाले नागरिकता लगायतका कार्यहरु बन्द रहने जनाएको छ । 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिनुपर्ने भएकाले  नागरिकता, नावालक परिचयपत्र, पेन्सन तथा अन्य सिफारिसका कार्यहरु वैर्शाख २५ गते देखि ३० गते सम्म बन्द रहने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

साथै वैशाख ३१,जेठ १र २ गते सार्वजनिक बिदा परेकाले ३ गते देखि स्थगित भएका सम्पुर्ण सेवाहरु सुचारु हुने जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

गुल्मीमा दुई हजार ५८३ सुरक्षाकर्मी परिचालन


गुल्मीमा स्थानीय तहको निर्वाचनका लागि दुई हजार ५८३ जना सुरक्षाकर्मी खटिने भएका छन् । 

यही वैशाख ३० गते हुने निर्वाचनलाई स्वच्छ मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि एक हजार २२० जना म्यादी, ७३४ जना नेपाल प्रहरी, ३५४ सशस्त्र प्रहरी र २५५ जना नेपाली सेना परिचालन हुने  गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

१५ मतदान स्थल अति संवेदनशील

गुल्मीका १५ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ । जिल्लाको कालीगण्डकी, मालिका, मदाने, सत्यवती र चन्द्रकोट गाउँपालिकाका गरी १५ वटा मतदान स्थलहरु अतिसंबेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ ।

यस्तै ४१ वटा मतदान स्थलहरु संवेदनशील र ८६ वटा मतदान स्थलहरु सामान्य रहेको र संवेदनशील स्थलहरुमा सुरक्षा लगायत अन्य हिसावले पनि सबै प्रबन्ध मिलाइएको पौडेलले जानकारी दिनुभयो ।

मतदान स्थलहरुलाई वर्गीकरण गर्दा भुगोल, यातायात, जिल्लागत सीमा लगायतका विषयहरुलाई आधार मानेर बर्गीकरण गरिएको हो । जिल्लामा सबैभन्दा कम इस्मा गाउँपालिकामा आठ वटा मतदान स्थल छन् भने सबैभन्दा बढी सत्यवती गाउँपालिकामा १६ मतदान स्थल रहेको निर्वाचन कार्यालयका नायब सुब्बा मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

कालीगण्डकी र मदाने गाउँपालिकामा १०/१०, गुल्मीदरबार, रुरुक्षेत्र र मालिका गाउँपालिकामा ११/११, चन्द्रकोट गाउँपालिकामा १४ तथा छत्रकोट गाउँपालिकामा १० मतदान स्थल छन् । त्यस्तै धुर्कोट गाउँपालिकामा ११ एवम् मुसिकोट र रेसुंगा नगरपालिकामा १५/१५ वटा मतदान स्थल रहेको  पाण्डेले बताउनुभयो । जिल्लामा दुई लाख २४ हजार २७६ जना मतदाता छन् ।  


Author

तिलाचन पाण्डे