• ५ जेठ २०८१, शनिबार

चेपाङ जातिबाट सात जना वडा अध्यक्षको चुनावी दौडमा

blog

वडा अध्यक्षका उम्मेदवारहरु आकाश चेपाङ, भीम चेपाङ, विकास चेपाङ, राजेन्द्र चेपाङ, शोभा चेपाङ, सुरेन्द्र चेपाङ

मुरारी अधिकारी

धादिङ, बैशाख २६ गते । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धादिङका सातजना चेपाङले वडा अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलबाट सीमान्तकृत चेपाङ समुदायका व्यक्तिहरुले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । 

वडा अध्यक्षको उम्मेदवारी दिनेमा एक महिलासहित सातजना चेपाङ छन् । सातैजना उम्मेदवारहरु वडाको समग्र विकास, सामाजिक रुपान्तरण अनि चेपाङ समुदायको विकास र उत्थानका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।

बेनीघाट रोराङ गाउँपालिकाको वडा नम्बर – ९ मा पनि नेपाली काँग्रेसका तर्फबाट राजेन्द्र चेपाङले वडा अध्यक्षको उम्मेदवारी दिनुभएको छ । उक्त वडामा ४२ प्रतिशत चेपाङ छन् । उक्त वडालाई ‘भोट बैंक’को रुपमा मात्र प्रयोग गरिएको अब नेतृत्वका लागि नै हामी आफू अगाडि सरेको राजेन्द्र चेपाङ बताउनुहुन्छ । 

अबको नेतृत्व चेपाङ समुदायबाट सामाजिक क्षेत्रमा प्रवेश गरेको आफूले नै गर्ने चेपाङको भनाइ छ । निर्वाचन जित्नका लागि आफूसँग पाँचवर्षे रणनीति रहेको र समग्र वडाको विकास र चेपाङ समुदायको सर्वाङ्गीण विकास गर्न सक्ने क्षमता आफूमा रहेकाले आफूले उम्मेदवारी दिएको चेपाङको भनाइ छ । 

नेपाली काँग्रेसका विकास चेपाङले बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० को वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । विकास चेपाङको निर्वाचन जितेमा वडाका सबै टोललाई  बिजुली बत्ती पुर्याउने र सडक सञ्जालमा जोड्ने योजना छ । उहाँ भन्नुहुन्छ, ‘‘विकास हुन सडक सञ्जाल र बिजुली बत्ती चाहिने रहेछ । तर हाम्रो वडामा आधारभूत आवश्यकताको सहज पहुँच पहिलो आवश्यकता हो । यो उद्देश्य पूरा गर्न मेरो उम्मेदवारी हो ।’’

 वडा अध्यक्ष उम्मेदवार विकास चेपाङ समुदायको जीवनस्तर सुधारका लागि चेपाङ समुदायले नै नेतृत्व तहमा पुग्न आवश्यक देखिएकाले आफू उम्मेदवार बनेको बताउनुभयो । चेतनाको अभाव, आर्थिकस्तरमा कमजोरीले चेपाङहरु सधँै पछाडि पारिएको छ, चेपाङको कला, संस्कृति र सभ्यताका साथ विकासका पूर्वाधारमा सहज पहुँच बनाउन आफू राजनीतिमा अगाडि आएको उहाँको भनाइ छ । 

गजुरी गाउँपालिका वडा नं ३ मा शोभा चेपाङले एकीकृत समाजवादीका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । पृथ्वी राजमार्गबाट करिब आधी घण्टा दूरीमा रहेको ३ नम्बर वडामा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा रोजगारीको अभावमा पिल्सिएर बसेका जनताको सेवाका लागि आफू उम्मेदवार बनेको शोभा चेपाङको भनाइ छ ।

चेपाङ समुदायमा सबै चिजको कमी छ, आत्मनिर्भर बनाउन आयस्रोत चाहिने रहेछ, वडाबासीको मुख्य आयस्रोत कृषि हो तर बिचौलियाको कारण हामी मारमा छौं । आधुनिक कृषि प्रणालीबाट वडाबासीको जीवन फेर्न सक्छु भन्ने लागेर आफू वडा अध्यक्ष पदमा उम्मेदवार बनेको शोभाको भनाइ छ । 

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ मा चेपाङहरु नै प्रतिस्पर्धामा छन् । झण्डै ६० प्रतिशत चेपाङ जातिको बसोबास रहेको यस वडामा नेकपा एमालेबाट आकाश चेपाङ र नेपाली काँग्रेसबाट भीमबहादुर चेपाङले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

आकाश चेपाङ आफूले सामाजिक क्षेत्रमा गरेको योगदान र वडाबासीको समस्या तथा सवाललाई नजिकबाट नियालेकाले वडा अध्यक्ष बन्ने बताउनुहुन्छ । वडाबासीकै चाहना र माग अनुसार वडा अध्यक्षको उम्मदेवारी दिएको आकाशको भनाइ छ । 

नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका भीमबहादुर चेपाङ सीमान्तकृत चेपाङहरुले टिकट पाउनमा नै समस्या रहेको बताउनुहुन्छ । आफूले जितेमा चेपाङ समुदायमा रहेका अभाव, कठिनाइ र आवश्यकतालाई सम्बोधन गर्ने बताउनुभयो । 

गजुरी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली काँग्रेसबाट सुरेन्द्र प्रजा र एकीकृत समाजवादीबाट हर्कबहादुर चेपाङले उम्मेदवारी दिनुभएको छ । सुरेन्द्र प्रजा एक कार्यकाल वडा अध्यक्ष भइसक्नुभएको छ । 

वडा अध्यक्षको दरिलो उम्मेदवारको दाबी गर्दै प्रजा २०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी भइसकेपछि धेरै कामहरु गरेको र  कतिपय योजनाहरु पूरा गर्नुपर्ने रहेकाले आफू उम्मेदवार बनेको बताउनुहुन्छ ।

चेपाङ र तामाङ समुदायको ९८ प्रतिशत बसोबास रहेको यस वडामा आधारभूत आवश्यकता र अन्य विकासका बाँकी रहेका योजनाहरु पूरा गर्न आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ । सडक सञ्जाल, स्वास्थ्य, खानेपानीजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने वडा अध्यक्ष उम्मेदवार हर्कबहादुर चेपाङले बताउनुभयो । हामी पछाडि पारिएका समुदायमा पर्छाैं तर नेतृत्व लिएर वडालाई विकासको बाटोमा डोहो¥याउने हर्कमानको भनाइ छ ।