• ५ जेठ २०८१, शनिबार

सुदूरपश्चिमका ७३४ वडामा ३५ जना महिला मात्रै वडाअध्यक्षका उम्मेदवार

blog

धनगढी, वैशाख २६ गते । महिला सहभागिता ५० प्रतिशत हुनु पर्ने माग भइरहेको भए पनि यसपटकको स्थानीय चुनावमा प्रमुख दलले सुदूरपश्चिमका ७३४ वडामा झण्डै पाँच प्रतिशत अर्थात ३५ जनाले मात्र उम्मेदवारी पाएका छन् ।

पालिका प्रमुख-उपप्रमुखपछि महत्वपूर्ण मानिएको वडाअध्यक्षमा नौ जिल्लाका ७३४ वडामा प्रमुख चार दलबाट ३५ जना महिलालाई वडाअध्यक्षका उम्मेदवार उठाइएको हो । सुदूरपश्चिममा झण्डै ५३ प्रतिशत संख्यामा रहेका महिलाबाट प्रदेशका ८८ वटा तहका ७३४ वडामा कांग्रेसबाट १३, एमालेबाट ११, माओवादीबाट आठ र समाजवादीबाट छ जना महिला वडाअध्यक्षको उम्मेदवार उठाइएको छ ।

सुदूरपश्चिममा सबैभन्दा बढी १२६ वडा भएको कैलालीमा मुख्य तीन दलबाट पाँच जना महिलाले मात्र वडाअध्यक्षको उम्मेदवारी दिएका छन । पाँचमध्ये एमालेबाट एक माओवादीबाट तीन र एकिकृत समाजवादीबाट एक जना वडाअध्यक्षका उम्मेदवार भएका छन ।  

९२ वडा रहेको कञ्चनपुर १० जना महिला वडाअध्यक्ष चुनावी मैदानमा छन् । कञ्चनपुरमा कांग्रेसबाट छ, एकिकृत समाजवादीबाट दुई र एमालेबाट दुई वडाअध्यक्षमा महिला उम्मेदवार उठाएका छन् । यस्तै ६१ वडा रहेको दार्चुलाबाट काँग्रेसले मात्र एक जना महिलालाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।  । 

६९ वडा रहेको बाजुराबाट एमाले र माओवादीले एक-एक जना महिलालाई वडाअध्यक्षको उम्मेदवार बनाइएको छ ।  ९४ वडा रहेको बझाङमा पनि चार जना महिलालाई मात्र वडाअध्यक्षको उम्मेदवार बनाइएको छ । तीमध्ये एमालेबाट दुई, समाजवादी र कांग्रेस एक-एक जनालाई उम्मेदवार बनाइएको छ । 

९१ वडा रहेको अछाममा दुई महिला उम्मेदवार चुनावी मैदानमा छन् ।  ती मध्ये माओवादी र एमालेले एक-एक जना महिला वडाअध्यक्षका उम्मेदवार छन । 

यस्तै गरेर ८४ वडा रहेको बैतडीबाट पाँच जना महिलालाई मात्र वडाअध्यक्षको उम्मेदवार छन । बैतडीमा एमालेले दुई, माओवादीले दुई र कांग्रेसले एक जनालाई टिकट दिएको छ ।  ६५ वडा रहेको डोटीमा काँग्रेसले मात्रै एक जना महिलालाई वडाअध्यक्षको उम्मेदवार बनाएको निर्वाचन आयोगको वेवसाइटमा राखिएको उम्मेदवारहरुको विवरणमा उल्लेख छ । 

५२ वडा रहेको डडेल्धुरामा पाँच जना महिला वडाअध्यक्षको उम्मेदवार बनेका छन । डडेल्धुराबाट माओवादीबाट तीन र एमालेबाट दुई जनालाई उम्मेदवार बनाइएको छ । 


Author

प्रकाशविक्रम शाह