कागजको मूल्य बढ्दा मुद्रण उद्योग सङ्कटमा
नवराज कट्टेलविराटनगर, वैशाख ३ गते । कागजलगायतका आवश्यक वस्तुमा अत्यधिक मूल्य वृद्धि हुँदा त्यसको असर मुद्रण उद्योगमा देखिएको छ । भारत तथा तेस्रो मूलुकबाट पैठारी हुने सबै प्रकारका कागजमा पछिल्लो एक महिनायता दैनिकजस्तो मूल्य वृद्धि हुँदै गएपछि उद्योगीले चिन्ता व्यक्त गरका छन् । विद्यालयका पुस्तकका लागि प्रयोग हुने म्यापलिथो एक महिनायता प्रतिकेजी ८६ रुपियाँबाट १०२ रुपियाँ पुगेको छ । यसैगरी प्रतिकेजी १५० रुपियाँमा खरिद हुँदै आएको आर्टबोर्ड पेपरको मूल्य २४० रुपियाँ पुगेको छ । यो कागज क्यालेन्डर तथा कार्ड छपाइमा प्रयोग हुन्छ । यसैगरी न्युज प्रिन्टको मूल्य ८४ रुपियाँ प्रतिकेजीबाट १०५ रुपियाँ पुगेको छ । भारत तथा तेस्रो मुलुकबाट कागजजन्य वस्तुको पैठारीकर्ता विराटनगरस्थित ओरियन्ट सप्लायर्सका ज्योति साबुका अनुसार तेस्रो मूलुकबाट प्रतिटन ६४० रुपियाँमा खरिद हुँदै आएका कागज अहिले एक हजार २१५ पुगेको छ । यो कोलकातास्थित सीआईएफको मूल्य हो । त्यहाँबाट प्रतिकेजी आठ रुपियाँ ढुवानी बुझाएर आयात गरिने कागजको मूल्य नेपालमा स्वतः बढ्न गएको साबुले बताउनुभयो । नेपालमा भारत तथा तेस्रो मुलुकबाट किताब छाप्ने म्यापलिथो, क्यालेन्डर छाप्ने आर्थपेपर, किताबको कभरका रूपमा प्रयोग हुने आर्ट बोर्डर, पत्रपत्रिका छाप्न न्युज प्रिन्ट र मिडिया पेपर आयात हुँदै आएको छ । विराटनगरस्थित कृष्णा ट्रेडर्सका हेमन्त बोहराले भारत तथा तेस्रो मुलुकबाट आयात हुने कागजको मूल्य उत्पादक देशमै बढेको छ । त्यसको असरका रूपमा नेपालमा अझै बढ्ने सम्भवना छ । नेपाल राष्ट्र बैङ्कले प्रतीतपत्र (एलसी) खोल्न कडाई गरेसँगै मुद्रण उद्योगका आवश्यक सबै प्रकारका वस्तुको अभाव हुने देखिने चिन्ता मुद्रण उद्योगीमा छ । नेपाल मुद्रण उद्योग महासङ्घ प्रदेश १ का अध्यक्ष लवकुमार घिमिरेका अनुसार एलसी खोल्न कडाइ गरिएसँगै पहिला आयात गरिएको सामानमा समेत कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाइएको छ । मुद्रण उद्योगसँग सम्बन्धित कागज, मसीलगायतका आवश्यक वस्तु बजारमा अभाव भइसकेको छ । मुद्रण उद्योगले आफ्नो छपाइ क्षमतासमेत ४० प्रतिशतले कटाएको अध्यक्ष घिमिरेको भनाइ छ । नेपालमा उत्पादन नहुने र आयातकै भर पर्नुपर्ने मुद्रण उद्योगसँग सम्बन्धित कच्चापदार्थको अभाव देखिए धेरैको रोजगारी गुम्ने मोरङका अध्यक्ष सुभास कार्कीले बताउनुभयो । पैठारीकर्ताले भारत तथा तेस्रो मुलुकबाट झिकाउने कागजमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर बुझाउनुपर्छ । ढुवानी तथा भन्सार जाँचका सबै प्रक्रिया पूरा गर्दा सबै प्रकारका कागजको मूल्य गत वर्षको भन्दा ३० प्रतिशतले वृद्धि भइसकेको आयातकर्ताहरूको दाबी छ । नेपालमा उत्पादन हुने कागजले सबै प्रकारका काम टार्न सक्दैन जसका कारण आयात गरेर ल्याउनुपर्ने कागज तथा मसी अभाव भए त्यसको असर धेरै क्षेत्रलाई पर्नसक्ने मुद्रण उद्योगीहरूको भनाइ छ ।
स्ट्रबेरी खेतीबाट किसान उत्साहित
नवलपरासी, वैशाख ३ गते । पछिल्लो समयमा देवदह नगरपालिकाका युवा स्ट्रबेरी खेतीप्रति आकर्षित भएका छन् । नगरपालिकाको वडा नं. ३ सिसपुरमा दुई वर्षअघि देवदह ग्रिनएग्रो रिसर्च एन्ड रिसोर्स नामक कम्पनी खोलेर थालिएको स्ट्रबेरी खेतीले राम्रो आम्दानी दिन थालेको देखेपछि सामूहिक खेतीमा लागेका युवा उत्साहित भएका हुन् । कम्पनीका मुख्य लगानीकर्ता एवं संरक्षक हीरा केसीले नमुना खेतीका रूपमा गरिएको व्यावसायिक खेतीबाट राम्रो उत्पादन हुन थालेकाले आफूहरू निकै उत्साहित भएको बताउनुभयो । उहाँको फार्मबाट अमेरिकन प्रजातिको स्ट्रबेरीको उत्पादन भइरहेको छ । कम्पनीले दुई बिघा क्षेत्रफलमा पहिलो वर्ष १२ हजार बिरुवा लगाएर १५ हजार किलो स्ट्रबेरीको उत्पादन गरी बजार पठाइएको जनाएको छ । अहिले उहाँको कम्पनीले स्ट्रबेरीको बीउ उत्पादन गरेर अन्य युवा समूहलाई पनि यस्तो खेतीमा लाग्न सहयोग गर्न थालेको कम्पनीका सचिव राजेन्द्र न्यौपानेले बताउनुभयो । सुरुमा कम्पनीले अमेरिकाबाट नै बीउ ल्याएर परीक्षणका रूपमा खेती थालेको थियो । अमेरिकन प्रजातिको स्ट्रबेरी यो क्षेत्रको तापक्रम तथा वातावरणमा उपयुक्त साबित भएको कम्पनीका कृषिविज्ञ भोजराज भट्टले बताउनुभयो । उहाँको अनुसार अमेरिकन प्रजातिको यो स्ट्रबेरी मङ्सिरमा लगाएर चार महिनापछि लिन सकिन्छ । बजारमा स्ट्रबेरी प्रतिकिलो सात सयदेखि आठ सय रुपियाँमा बिक्री हुँदै आएको छ । यसका साथै कम्पनीले बालुवामा उत्पादन हुने गरेको खरबुजाको खेती पनि सामान्य माटोमा नै उत्पादन गर्न थालेको छ । यसले पनि राम्रो उत्पादन दिएको कम्पनीको दाबी छ । कम्पनीले आधुनिक प्रविधि प्रयोग गरी टमाटर, काँक्रा, गोभीलगायतका तरकारीको पनि व्यावसायिक खेती गर्दै आएको छ ।
मल अभावले झापाको केराखेती सङ्कटमा
चन्द्रकला भण्डारीझापा, वैशाख ३ गते । यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण सङ्कट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । विगतमा ५० बिघा जमिनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी सोचेभन्दा कम भएपछि यसपाली ३० बिघाको केराखेती मासेको बताउनुभयो । सुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती सुरु गरे पनि मल अभाव र लकडाउनका कारण केराखेतीबाट ठूलो घाटा व्यहोर्नु परेको उहाँको भनाइ छ । विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गासमेत जग्गा धनीलाई नै फर्काउँदै केराको खेती घटाउन थालेका छन् । विगतमा जिल्लाको कनकाई–५, शिवसताक्षी नगरपालिका–७, बाह्रदशी गाउँपालिका–६ र झापा गाउँपालिका–७ मा दुर्गामाता तथा कोलाखेती कृषि फार्मले ४०० बिघा जमिनमा व्यावसायिक केराको खेती गर्दै आएका थिए । किसानहरु बेनु पराजुली, हिमदल पराजुली, कुलप्रसाद चिमरिया, लक्ष्मी चिमरिया र गणेश सङ्ग्रौलाले संयुक्तरुपमा फार्म सञ्चालन गर्नुभएको थियो । उनीहरुले स्थानीय किसानको जग्गा पाँच वर्षका लागि भागमा लिएर सामूहिक केराखेती सुरु गरे पनि तीन वर्षमै लगानीसमेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केरा खेती मास्न थालेका हुन् । केराखेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रुपमा परिचित दुर्गामाता तथा कोलाखेती कृषि फार्मले यसपाली लगभग १०० बिघा जग्गाको केराखेती मासेको छ । खेतीमा चाहिएका बेला रासायनिक मल नपाइने भएको हुँदा उत्पादनमा ह्रास आउने गरेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताउनुभयो ।वर्षमा केरालाई तीन पटकसम्म मल लगाउनुपर्ने जनाउँदै उहाँले गत वर्ष एकपटकसमेत मल लगाउन नपाउँदा उत्पादनमा ह्रास आएको गुनासो गर्नुभयो । केराखेती गर्नका लागि युरिया, डिएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ । “विगतमा कृषि ज्ञान केन्द्रको सिफारिसका आधारमा साल्ट ट्रेडिङको कार्यालयले आवश्यक मात्रामा मल दिने गरेको थियो”, केराखेती गर्दै आउनुभएका कनकाइका किसान बेनु पराजुलीले भन्नुभयो, “तर अहिले त्यसरी दिँदैन, स्थानीय तहका सहकारीमार्फत पाइने हुँदा हामी जस्ता फार्म खोलेर खेती गर्दै आएको किसानलाई समस्या छ ।” फार्मले दुई वर्ष कृषि ज्ञान केन्द्रबाट खेतीका लागि ५० प्रतिशत लगानी गर्ने सर्तबमोजिम रु ५० लाख अनुदान लिएको थियो । उहाँले विसं २०६६÷०७७ मा रु ३२ लाख र विसं २०७७/०८८ मा रु १३ लाख अनुदान प्राप्त भएको जानकारी दिनुभयो । अनुदान लिने झन्झटिलो प्रक्रिया, समयमा मल नपाउनेलगायत कारण केराखेतीतर्फ किसानको आकर्षण घट्दो छ । “केराको बजार राम्रो छ, व्यापारीसम्म हाम्रो सिधै पहुँच पुग्दैन, ठेकेदारमार्फत बेच्दा भने जस्तो दाम नै पाइँदैन, अनि कहाँबाट नाफा हुनु”, पराजुलीले निराश हुँदै भन्नुभयो । उहाँले चिनी चम्पा र मालभोग केराको खेती गर्नुभएको छ । कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा एक हजार ८०० हेक्टर क्षेत्रमा केराको व्यावसायिक खेती भएको जनाएको छ । समयमा मल नपाइने, विभिन्न किसिमका रोग लाग्ने र मौसमी हावाहुरीले केराका बोट ढाल्नेलगायत कारण किसान मारमा परेको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत गणेश शिवाकोटीले जानकारी दिनुभयो । उहाँले केरालाई जैविकसँगै रासायनिक मलको पनि आवश्यकता पर्ने तर समयमा नपाइने समस्याका कारण पनि किसान मारमा परेको जानकारी दिनुभयो । उहाँका अनुसार व्यावसायिक केराखेती गर्ने किसानले बाली बिमा नगर्दा प्राकृतिक प्रकोपका कारण क्षति भएका बेला उनीहरुले राहत नपाउँदा पनि ठूलो क्षति व्यहोरिरहेको देखिन्छ । उहाँले साना किसानले उत्पादन गरेको केरा विचौलियामार्फत बेच्नुपर्दा मारमा परेको बताउनुभयो ।
लगानी तान्दै प्रविधि कम्पनी
विश्वास रेग्मीकाठमाडौँ, वैशाख ३ गते । विद्युतीय भुक्तानीमा स्थापित ‘खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक ग¥यो । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु-याउने उद्देश्य पूरा गर्न आवश्यक लगानी जुटाउन खल्तीले आफ्नो स्वामित्व बिक्री गरेको थियो । घरघरसम्म खाना पु-याउन अनलाइन सेवा दिएर चर्चित बनेको ‘फुडमान्डु’मा विदेशीले नेपालमा स्थापना गरेको लगानी व्यवस्थापन संस्था डोल्मा इम्प्याक्ट फन्डले ४६ करोड रुपियाँ लगानी गर्ने खबरले पुसको अन्तिम साता चर्चा पायो । स्टार्टअपका रूपमा सेवा सुरु गरेको फुडमान्डुमा भित्रिएको यो लगानी नेपालको परिवेशमा आफैँमा ठूलो थियो । देशका विभिन्न ठाउँमा सेवा विस्तारको योजनामा रहेको फुडमान्डुका लागि यो लगानी सहयोगी हुने अपेक्षा गरिएको छ । प्रविधिको उपयोगमार्फत सेवा दिइरहेका नेपाली कम्पनीमा भित्रिएको लगानीका यी खबर यत्तिमै अन्त्य हुँदैनन् । बरू नयाँ–नयाँ कम्पनीमा लगानी गर्ने क्रम निरन्तर बढ्दो छ । यस्तैमा चैतको पहिलो साता नेपाली स्टार्टअप कम्पनी ‘वाइज्याक’ले पनि करिब तीन करोड रुपियाँ भिœयाएको छ । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स, एआई)मा आधारित भएर स्वास्थ्य प्रविधिमा काम गरिरहेको यो कम्पनीमा ‘टिम भेन्चर’ले लगानी गरेको हो । टिम भेन्चर नेपाली लगानी कम्पनी हो । वाइज्याकले एआई र मसिन लर्निङमा आधारित सफ्टवेयर निर्माण गरेको छ, जुन स्वास्थ्य क्षेत्रका लागि उपयोगी छ । सीप भएका जनशक्तिलाई घरपरिवार तथा कार्यालयमा कामको अवसर प्रदान गर्ने अर्को स्टार्टअप कम्पनी सजिलो मर्मत सेवाले पनि १० करोड रुपियाँ लगानीका रूपमा प्राप्त गर्ने भएको छ । भेन्चर क्यापिटल कम्पनी ‘टु नर्थ एसोसिएसट्स’ले यो स्टार्टअपमा लगानी गर्ने भएको हो । लगानीका सम्बन्धमा दुई कम्पनीबीच फागुन तेस्रो साता सम्झौता भइसकेको छ । थपिने लगानीबाट सजिलो मर्मत सेवाले नयाँ स्थानमा सेवा विस्तार गर्ने तथा डेलिभरि सुविधासमेत थप गर्ने योजना बनाएको छ । क्लाउड सेवा प्रदान गरिरहेको जेनेस सोलुसनले दोस्रो पटकका लागि पनि हालै मात्र १० लाख अमेरिकी डलर लगानी प्राप्त गरेको छ । पहिलो चरणमा २०२१ जुनमा लगानी पाएको जेनेसमा सम्भावना देखिएको भन्दै बिजनेस अक्सिजनले लगानी थपेको हो । बिजनेस अक्सिजन नेपालकै पहिलो निजी ‘इक्विटी फन्ड’ हो । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को ग्लोबल एसएमई भेन्चर अभियानको अङ्गका रूपमा यसले काम गर्छ । अनलाइन सपिङका लागि चर्चित सस्तो डिलमा पनि हालै मात्र आईएमई गु्रपले लगानी भिœयाएको छ । लगानी रकम सार्वजनिक नगरिए पनि यस्तो सहकार्यले सस्तो डिलको सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसअघि सस्तो डिलले दुई पटक डोल्मा इम्प्याक्ट फन्डबाट लगानी भिœयाइसकेको थियो । कृत्रिम बौद्धिकता (एआई)को क्षेत्रमा चर्चित नेपाली कम्पनी फ्युज मसिन नेपालको पूर्ण स्वामित्व अमेरिकामा रहेको फ्युज नेपाल इङ्कले खरिद गरेको छ । यीबाहेक कतिपय अन्य प्रविधि कम्पनीमा विदेशी र स्वदेशी भेन्चर कम्पनीले लगानीका लागि चासो देखाइरहेका छन् । कतिपय लगानी भिœयाउने प्रक्रियामा पनि छन् । स्टार्टअपहरूमा भित्रिने यस्तो लगानीले पुँजीको खोजीमा रहेका र सेवा विस्तारमा रहेका कम्पनीका लागि धेरै नै सहयोग पुग्ने फुडमान्डुका संस्थापक मनोहर अधिकारी बताउनुहुन्छ । “स्टार्टअपमा लगानी भित्रिनु आफैँमा सुखद् कुरा हो तर यसको प्रक्रिया भने सहज बनाइनुपर्छ,” उहाँले भन्नुभयो । अझ नेपाली कम्पनीलाई नेपाल भित्रैबाट लगानी गर्न सक्ने वातावरण निर्माण भएमा त्यो सबैभन्दा उपयुक्त हुने उहाँको भनाइ छ । यस्ता कम्पनीलाई प्राप्त हुने लगानी फिर्ताको समय भने केही बढी हुनुपर्ने उहाँको तर्क छ । नेपालका सन्दर्भमा प्रविधिमा आधारित सेवा दिइरहेका कम्पनीमा भइरहेका केही लगानी बढीमा पाँच वर्षका लागि मात्र छन् । उक्त समय पूरा भएपछि लगानी फिर्ता लैजाने गरी सम्झौता भएका हुन्छन् ।
हवाई सेवा बन्द
हुम्ला समाचारदाताहुम्ला, वैशाख ३ गते । हु्म्लामा दुुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतमा निजी तथा नेपाल एयरलाइन्सका जहाज नभएपछि हवाई सेवा अवरुद्ध भएको हो । नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका प्रमुुख मोहन गिरीले दुुई दिनयता हुुम्लाका लागि कुनै पनि उडान हुन नसकेको बताउनुुभयो । उहाँका अनुुसार मौसम सफा भए पनि नेपालगञ्जमा कुुनै विमान नहुँदा हुुम्लामा उडान हुुन नपाएको हो । गत बिहीबार सीता र समिट एयरले केही उडान गरे पनि त्यसयता कुुनै पनि उडान हुुन सकेको छैन ।सोही दिन हुुम्लाका लागि उडान गरेपछि ती विमान काठमाडौँ फिर्ता भएका थिए । यसरी उडान नभए पछि नेपालगञ्जका यात्रुु मर्कामा परेका छन् भने सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रु पनि सिमकोटमै रोकिनुुपरेको छ । केही समयअघिसम्म नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले समेत उडान गर्न छोडेको छ । उपभोक्ता टेकबहादुर रोकायाले केही समययता उडान नियमित नहुुँदा दैनिक उपभोग्य सामानको मूल्य आकाशिएको र अभास हुन थालेको बताउनुुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न भने हेलिकप्टरबाट नियमित रूपमा ढुवानी भइरहेको छ । खाद्य कम्पनीका हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यका अनुसार नेपालगञ्ज र सुर्खेतबाट गाडीमा सर्केगार्ड गाउँपालिका–१, खच्चासम्म ढुवानी हुने र त्यताबाट माउन्टेन एयरको हेलिकप्टरले दैनिक ढुवानी गरिरहेको छ । यसका लागि सो एयरलाइन्सको हेलिकप्टर सिमकोट विमानस्थलमा नाइट स्टेमा रहँदै आएको छ ।
वीरगञ्ज भन्सारद्वारा १ खर्ब ५५ अर्ब रुपियाँभन्दा बढी राजश्व संकलन
दिपकप्रसाद गौतम वीरगञ्ज, बैशाख २ गते । मुलुककै प्रमुख नाका वीरगञ्जमा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिने अवधीमा १ खर्ब ५५ अर्ब ३८ करोड २९ लाख ५७ हजार रुपियाँ राजश्व संकलन गरेको छ । भन्सार विभागले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिने अवधीमा १ खर्ब ५१ अर्ब ९३ करोड १४ लाख २३ हजार रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य दिएकोमा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजश्व असुली गरेको हो । वीरगञ्ज भन्सार कार्यालयले दिएको लक्ष्यभन्दा २ दशमलव ३ अर्थात् ३ अर्ब ४५ करोड १५ लाख ३४ हजार रुपियाँ राजश्व असुल गरेको हो । गत आर्थिक वर्षमा २०७७–७८ को सोही अवधिमा १ खर्ब २४ अर्ब ७७ करोड ५२ लाख २९ हजार रुपियाँ राजश्व असुली भएको थियो । भन्सार विभागले १ खर्ब १६ अर्ब ५० करोड ६५ लाख १३ हजार रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८–७९ को ९ महिनामध्ये साउन, कात्तिक, पुस, माघ, फागुन र चैत महिनामा भन्सार विभागले दिएको राजश्व संकलन गर्ने लक्ष्य भेट्टाउन सकेको छैन । साउन महिनामा लक्ष्यको ९९ दशमलव ५ प्रतिशत, कात्तिक महिनामा लक्ष्यको ९७ दशमलव २ प्रतिशत, पुस महिनामा लक्ष्यको ९७ दशमलव ७ प्रतिशत, माघ महिनामा लक्ष्यको ९५ दशमलव ९ प्रतिशत, फागुन महिनामा लक्ष्यको ९८ दशमलव ७ प्रतिशत र चैत महिनामा लक्ष्यको ९२ दशमलव ५ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ ।
चीनबाट तातोपानी नाकामा भित्रिन थाले साझाका बस
चित्र मिजारसिन्धुपाल्चोक, बैशाख २ गते । चीनबाट तातोपानी नाका हुँदैं बिद्युतीय साझा बस भित्रन थालेका छन् । साझा यातयातले परीक्षणको रुपमा ल्याएको तीनवटा बिद्युतीय साझा बस तातोपानी भन्सार कार्यालयमा चेकजाँच गर्न थालिएको छ ।सो साझा बस परीक्षण सफल हुनासाथ बाँकी ३७ वटा साझा बस सोही नाकाबाट ल्याउने तयारी रहेको बताइएको छ । चीनको उकालो सडकमा बिजुली बसको ‘गे्रडबिलिटि टेष्ट’ (उकालो तान्ने क्षमता) परीक्षण गरेपछि नेपाल ल्याइएको आयात गर्ने ‘दी गो’ कम्पनीले जनाएको छ । सीएटचीसीएचओका बस नेपाल ‘दी गो’ ले आयात गरी बिक्री गर्न लागेको हो । सो कम्पनीले प्रतिबस ढेड करोड रुपियाँमा खरिद गरी ल्याएको हो । पहिलो चरणमा ९ मिटर लामो बस किन्ने र त्यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने बिद्युतीय बसहरु पनि नेपाल भित्र्याउने कम्पनीले जनाएको छ । २५ सिटभन्दा बढी क्षमताका बसहरु ल्याइने भएका छन् । सो बसहरुमा वाइफाई, टिभी डिस्प्ले, सिसी क्यामेरा जडित छन् । अन्य सेवाहरु क्रमैसँग थप्दै जाने जनाइएको छ । सरकारले ९ पुस २०७५ मा तीनसय बिजुली बस सरकारी लागतमा खरिद गर्ने निर्णय गरेको थियो ।
पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर
काठमाडौं, वैशख २ गते । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ ।बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सिधा उडान गर्ने तयारी गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।उहाँका अनुसार बुद्ध एयरले पोखराबाटै भारतको देहरादुन गन्तव्यमा पनि उडान गर्ने योजना बनाएको छ । पोखराबाट दिल्ली गन्तव्यमा दैनिक दुई वटा उडान सञ्चालन गरिनेछ । उक्त गन्तव्यको उडान एक घण्टा ३० मिनेटको हुन्छ । कम्पनीले यसअघि भारतको वनारस र कोलकात्तामा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोगमा ल्याएका एटिआर ७२ जहाजमार्फत नै दिल्ली गन्तव्यमा उडान गर्ने जनाएको छ । बुद्ध एयर आन्तरिक उडानमा सबैभन्दा बढी एटिआर जहाज भएको कम्पनी पनि हो । नजिकका गन्तव्यमा तिनै जहाजले अन्तर्राष्ट्रिय उडान भर्ने गरेको छ । पर्यटकीय गन्तव्य पोखराबाट दिल्ली उडान गर्दा भारतीय पर्यटक बढोत्तरी हुने विश्वास लिइएको छ । पर्यटकीय गन्तव्यमा सिधै पुग्न सकिने भएकाले यो गन्तव्य व्यावसायिक हिसाबले पनि निकै सम्भावनायुक्त गन्तव्य हुने व्यवसायीको बुझाइ छ । “पोखरा प्रमुख पर्यटकीय गन्तव्य हो । पर्यटकको पहिलो रोजाइ नै पोखरा पर्ने भएकाले त्यहाँबाट नजिकको गन्तव्य नयाँदिल्ली हुने भएकाले सेवा विस्तार गर्न लागिएको छ”, सूचना अधिकारी कर्णले भन्नुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चाँडो सञ्चालन भएमा त्यहाँबाट सिधा नयाँदिल्ली उडान गर्ने योजनअनुरुप आवश्यक प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ । उक्त गन्तव्यमा सिधा उडानका लागि नेपाल र भारत दुवैतर्फको प्रक्रिया पूरा गरेर उडान सञ्चालन गर्नेगरी काम भइरहेको कम्पनीका सूचना अधिकारी कर्णले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पोखराबाट दिल्ली उडानका लागि हामी अप्लाइ गर्दैछौँ, ‘अफिसियल प्रोसिडर’ पूरा गर्न पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा भारतको ‘डिरेक्टेट जनरल अफ सिभिल एभिएसन’ ९डिजिसिए० बाट अनुमति लिएर उडान सञ्चालन गर्छौं ।” आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्ने बुद्ध एयरले अहिले दैनिक १५० भन्दाबढी उडान गरिरहेको छ । यी उडानमार्फत दैनिक आठ हजार ५०० हाराहारी यात्रुले सेवा लिइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरसँग ११ वटा एटिआर–७२, तीन वटा एटिआर–४२ र दुई वटाबीच क्राफ्टसहित १६ जहाज छन् । थप चार जहाज आउने प्रक्रियामा रहेको र करिब चार महिनाको अन्तरालभित्रै ती जहाज नेपाल आइपुग्ने कम्पनीले जनाएको छ ।वनारसमा मे पहिलो सातादेखि उडान बुद्ध एयरले काठमाडौं–बनारस गन्तव्यमा पुनःसिधा उडान गर्ने तयारी गरेको छ । बनारस उडानको प्रक्रिया पूरा भइसक्यो कम्पनीले जनाएको छ । भारतको चर्चित तीर्थस्थल वनारस पनि सम्भावना भएको गन्तव्य मानिन्छ । “वनारस उडानको प्रक्रिया पूरा भइसकेको छ, खाली ‘कन्फरमेशन लेटर’ मात्रै आउन बाँकी छ । हामी मे फष्टदेखि उडान सञ्चालन गर्छौं”, बुद्ध एयरका सूचना अधिकारी कर्णले भन्नुभयो ।उक्त गन्तव्यमा कोभिड सङ्क्रमणको उच्च जोखिमका कारण उडान स्थगित भएको थियो । धार्मिक पर्यटनका दृष्टिकोणले भारतको बनारस महत्वपूर्ण गन्तव्य मानिन्छ । काठमाडौंदेखि वनारसलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्धले उडान गरिरहेको थियो । बुद्ध एयरले आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । सन् १९९७ अक्टोबर ११ मा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै सुरुआतमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो ।पोखरालाई हब बनाएर उडानबुद्ध एयरले पोखरा विमानस्थललाई हब बनाएर सबै सुगम गन्तव्यका सहर जोड्ने योजना बनाएको छ । जसअनुरुप बुद्धले हाल पोखराबाट छ सहरलाई जोडिसकेको छ । पोखराबाट जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा उडान गरिरहेको कम्पनीले जनाएको छ । छिट्टै पोखरा–भद्रपुर पनि सेवा सञ्चालन गर्ने आवश्यक तयारी गरिसकेको छ । वैशाख २ गतेदेखि उडान गर्ने भनिए पनि प्राविधिक कारण केही विलम्ब हुने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक ११ हेलिकप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियमा दुई नेपालीसहित २३ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।
स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा उम्मेदवारहरुलाई खर्च हद
लक्की चौधरीकाठमाडौं, वैशाख २ गते । स्थानीय तह निर्वाचन २०७९ मा कुन उम्मेदवारले कति खर्च गर्न पाउने खर्च हद निर्वाचन आयोगले तय गरेको छ । निर्वाचन आचारसंहिताअनुसार आयोगले तोकेको खर्च हदभित्रै रहेर उम्मेदवारले खर्च गर्नुपर्ने आयोगको भनाई छ । पछिल्लो समय निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धाले चुनावी खर्च बढ्ने विकृति मौलाएकोभन्दै आयोगले खर्च हद तोकेको जनाएको छ ।निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारका क्रममा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्यहरुले निर्वाचनमा खर्च गर्न पाउने रकमको हद तोकिदिएको छ । आयोगले तोकेको खर्च हदमा महानगरपालिकाको प्रमुख र उपप्रमुखले बढीमा ७ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउनुहुनेछ । महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित वा अल्पसंख्यक सदस्यले बढीमा तीन लाख रुपियाँसम्म खर्च गर्न पाउनुहुनेछ ।त्यस्तै, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले बढीमा ५ लाख ५० हजार रुपियाँसम्म, वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित वा अल्पसंख्यकले बढीमा २ लाख ५० हजार रुपियाँसम्म खर्च गर्न पाउने खर्च हद आयोगले निर्धारण गरेको छ । त्यस्तै, आयोगका प्रवक्ता पौडेलकाअनुसार नगरपालिकाका प्रमुख र उपप्रमुखले बढीमा ४ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउनुहुनेछ । त्यस्तै, वडा अध्यक्ष र वडा सदस्य, महिला र दलित वा अल्पसंख्यकले बढीमा दुई लाख रुपियाँ खर्च गर्न पाउनुहुनेछ । सोहीअनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले बढीमा ३ लाख ५० हजार रुपियाँ, वडा अध्यक्ष र वडा सदस्य, महिला र दलित वा अल्पसंख्यकले बढीमा १ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने आयोगले खर्च हद तोकेको छ । त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले एकमुष्ट ५० हजार रुपियाँ खर्च गर्न पाउने, सदस्य, महिला र दलित वा अल्पसंख्यकले एकमुष्ट २५ हजार रुपियाँ खर्च गर्न पाउने व्यवस्था छ । सोहीअनुसार नगरपालिका गाउँ पालिकाका सदस्य (महिला, दलित र अल्पसंख्यक समुदायबाट) ले एकमुष्ट २५ हजार रुपियाँसम्म खर्च गर्न पाउने आयोगले खर्च हद कायम गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो । दल, उम्मेदवार वा भातृ संगठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुश, आमसभा, कोणसभा, बैठक वा भेला गर्न पाइने छैन ।”