बाख्रापालनबाट राम्रो आम्दानी
अमरराज नहर्की तनहुँ, वैशाख ४ गते । तनहुँकी एक महिलाले गाउँमै बाख्रा पालन व्यवसायबाट नाम र दाम दुवै कमाउन सफल हुुनुभएको छ । व्यास नगरपालिका–४, चुरेखोल्सीमा बाख्रा फार्म सञ्चालन गरेर गायत्री पुडासैनी अधिकारीले नाम र दाम दुवै कमाउनुभएको हो । बाख्रापालनबाट निकै राम्रो आम्दानी हुन थालेपछि उहाँले लगानी थप्दै जानुभएको छ । अधिकारी हाल मासिक ५० हजार रुपियाँ आम्दानी हुने गरेको बताउनुहुन्छ । ५० लाख रुपियाँ लगानी गरिसक्नुभएकी अधिकारीले चालू आर्थिक वर्षभित्रै थप ४१ लाख गरी ९१ लाख लगानी गरेर मासिक दुई लाख नाफा कमाउने योजना बनाउनुभएको छ । अधिकारीले खोल्नुभएको गङ्गादेवी बाख्रा फार्ममा बोयर जातका ९० वटा बाख्रा छन् । तीमध्ये माउ ४३, पाठी २३ र बाँकी पाठा छन् । अधिकारीले बाख्रा पालनका लागि २४ रोपनी आफ्नै, १२ रोपनी भाडाको गरी ३६ रोपनी जमिनमा घाँसखेती गर्नुभएको छ । उहाँले बारीमा नेपिएर, सुपर नेपिएर, स्मार्ट नेपिएर, स्टाइलो, बडहर, रायोखनायो, किम्बुलगायतका जातका घाँस लगाउनुभएको छ । अधिकारीलाई फार्ममा श्रीमान् नारायण अधिकारी, ससुरा देवीप्रसाद अधिकारी र सासू गङ्गादेवी अधिकारीले सहयोग गर्नुभएको छ । परिवारका सदस्यबाहेक अन्य चार जनालाई रोजगारी दिएको अधिकारीले जानकारी दिनुभयो । मासुको माग धेरै हुँदा भारतबाट खसीबोका आयात गर्नुपर्ने बाध्यता भएको थाहा पाएपछि गाउँमै बाख्रापालन गर्ने सोच आएको अधिकारीले बताउनुभयो । उहाँले सुरुमा डेढ लाख रुपियाँ लगानी गरेर आठवटा खरी जातको बाख्राबाट व्यवसाय सुरु गर्नुभयो । महँगो मूल्यमा बिक्री हुने भएपछि उहाँले खरीजातको बाख्रालाई हटाएर बोयर जातको बाख्रा थप्न थालेको बताउनुभयो । उहाँले तीन लाख रुपियाँ खर्च गरेर अस्ट्रेलियाबाट बोयर जातकाे बोका किनेर ल्याएको बताउनुभयो । उहाँको फार्म अहिले उन्नत जातको पाठापाठी उत्पादन केन्द्र बनेको व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्वराज न्यौपानेले जानकारी दिनुभयो । बाख्रापालनमा नमुना कृषक भएकोले गतवर्ष उहाँले नमुना मोडल फार्मअन्तर्गत दुई लाख रुपियाँ अनुदान प्राप्त गर्न सफल भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्राविधिक रुद्रसेन ठकुरीले जानकारी दिनुभयो । नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना पोखराबाट २० लाख ५० हजार अनुदान प्राप्त गर्नका लागि आफ्नो फार्म सूचीकृत हुँदा उत्साह जागेको अधिकारीले बताउनुहुन्छ । अनुदान प्राप्त गरेको रकम बराबर आफूले पनि लगानी गर्नुपर्ने प्रावधान रहेकाले चालू आर्थिक वर्षमा नै पूरा हुने गरी काम भइरहेको उहाँको भनाइ छ । विदेशबाट आयात गर्नुपर्ने मकै, दानाको मूल्य वृद्धि हुँदा समस्या थपिएको उहाँले बताउनुभयो ।
फौजी कीराबाट मकैमा क्षति
नेपालगञ्ज समाचारदातानेपालगञ्ज, वैशाख ४ गते । मकै बालीमा फौजी कीराले नोक्सानी गरेपछि बाँकेका किसान समस्यामा छन् । कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने भएको छ । मकै बाली हुर्कंदै गरेको अवस्थामा फौजी कीराले बालीमा धेरै क्षति पु¥याएको गुनासो आएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार फौजी कीराको प्रकोपबारे सचेतना जगाइएको भए पनि समयमै यसको रोकथाम गर्न नसकिँदा बाँकेको मकै बालीमा ठूलो क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सकिल अहमदले बाँकेमा फौजी कीराको प्रकोप व्यापक फैलिएको जानकारी दिनुभयो । किसानले विषादी प्रयोग गरिरहे पनि नियन्त्रण आउन नसकेको उहाँले जानकारी दिनुभयो । वसन्ते मकैमा सुक्खा हुँदा फौजी कीराले बढी नोक्सानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाली संरक्षण अधिकृत अहमदका अनुसार फौजी कीरा नियन्त्रण गर्न विषादी छर्नुबाहेक अरू कुनै विकल्प छैन । फौजी कीराका कारण बाँकेको खजुरा, राप्ती सोनारी, डुडुवा र बैजनाथमा किसानले लगाएको मकैमा अधिक क्षति पुगेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।
वैकल्पिक व्यवस्थामार्फत विद्युत् जोडिँदै
गोरखापत्र समाचारदाताकाठमाडौैँ, वैशाख ४ गते । स्थानीयको अवरोधका कारण गर्ज्याङ–नयाँ खिम्ती १३२ डबल सर्किट प्रसारण लाइन निर्माणमा ढिलाइ भएपछि नेपाल विद्युत् प्राधिकरणले उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने भएको छ । १९ मेगावाट जडित क्षमताका यी आयोजनाबाट उत्पादित विद्युत् गर्ज्याङ सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोडिने प्राधिकरणले जनाएको छ । जिरी सबस्टेसनबाट चरीकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिँगटी सबस्टेसनमार्फत विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । प्राधिकरणले यसका लागि सिँगटी सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताको छुट्टै पावर ट्रान्सफर्मर जोडी चार्ज गरिसकेको छ । गर्ज्याङ सबस्टेसनमा रहेको १३२/३३ केभी, ३० एमभीएको पावर ट्रान्सफर्मरलाई एक साताभित्र चार्ज गर्ने तयारी छ । वैकल्पिक व्यवस्थाअनुसार आयोजनाबाट अहिले उत्पादित करिब १० मेगावाट विद्युत् प्रवाह हुन्छ । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माणाधीन गर्ज्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोधै अवरोध छ ।
पाथीभरा सडक कालोपत्रेको कार्य सुरु
चन्द्र पन्दाकताप्लेजुङ, बैशाख ३ गते। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ। पाथीभरा सडकको सुकेटार-काफ्ले पाटी खण्डको कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो। ट्रयाक निर्माण भएको लामो समयपछि उक्त सडकखण्ड कालोपत्रे गर्न लागिएको हो। कुल ११ किलोमिटर दूरी रहेको सुकेटार-काफ्ले पाटी सडकखण्ड कालोपत्रे हुने भएको हो। दर्शनार्थीका कारण धेरै सवारी चाप हुने यो सडक बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। उत्तर-दक्षिण (मुलघाट-दोभान-ओलाङ्चुङगोला) सडक योजना कार्यालय ताप्लेजुङका अनुसार सडक कालोपत्रे गर्ने जिम्मा कन्टेक निर्माण प्रालिले पाएसँगै निर्माणको कार्य सुरु भएको छ। सडक कालोपत्रे गर्नेलाई अहिले नाली निर्माण, ग्रावेल गर्नेजस्ता कार्य धामधम भइरहेको कन्टेक निर्माण प्रालिका प्रबन्ध निर्देशक गणेश मैनालीले जानकारी दिनुभयो।निर्देशक मैनालीका अनुसार दुई वटा एक्साभेटर लगायत उपकरणको प्रयोग गरी ग्रावेल गर्ने गर्ने कार्य भइरहेको छ। अबको दुई/चार दिनभित्रै कालोपत्रे गर्नका लागि आवश्यक पर्ने थप मिसिन तथा उपकरण आइपुग्ने उहाँले बताउनुभयो। उहाँले ठेक्का सम्झौता समय अगावै कालोपत्रे गरिसक्ने योजनाका साथ निर्माणको कार्यलाई तीव्रता दिएको पनि जानकारी दिनुभयो। यता उत्तर-दक्षिण (मुलघाट-दोभान-ओलाङ्चुङगोला) सडक योजना कार्यालयका सव-इन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग ४० करोड ७६ लाख रुपियाँ बजेटमा ठेक्का सम्झौता भएको हो। लिम्बूले दुई वर्षभित्र उक्त सडकखण्डमा कालोपत्रे निर्माण गरिसक्ने गरी कम्पनीसँग सम्झौता भएको पनि जानकारी दिनुभयो। पाथिभरा सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी मेची राजमार्ग पर्ने भएकाले पहिले नै कालोपत्रे गरिएको छ।पाथीभरा सडक कालोपत्रे भएपछि दर्शनमा आउने तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले सडक कालोपत्रे भएमा तीर्थयात्रीको सङ्ख्या दोब्बरले बढ्नसक्ने बताउनुभयो। समितिको तथ्याङ्क अनुसार हाल वार्षिक तीन लाखको हाराहारीमा तीर्थयात्री पाथीभराको दर्शन गर्न आउने गरेका छन्।
वायुसेवा निगमले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियाद उडान गर्दै
काठमाडौं, वैशाख ३ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो । “वैशाख ९ गतेदेखि निगमले रियाद गन्तव्यमा उडान सेवा सञ्चालन गर्दैछ यो निगमका लागि निकै गौरबको विषय हो, लामो प्रयासपछि निगमले साउदी अरेवियाका विभिन्न गन्तव्यमा पनि उडान अनुमति पाएको छ, सुरुमा रियाद र क्रमशः अन्य गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना छ ”, कार्यकारी अध्यक्ष अधिकारीले भन्नुभयो ।निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स्ले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो । निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा दुई उडान गर्नेछ । सातामा तीन दिन उडान गर्ने योजना रहेपनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने भएकोे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहल एवम् निर्देशन बमोजिम निगमले रियाद गन्तव्य विस्तार गर्न सफल भएको हो । उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरू गत फागुन तेस्रो साता साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रिया थालनी गरेका थिए । एकतर्फी ३७ हजार भाडा काठमाडौं–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर रु ३७ हजार कायम गरिएको जनाइएको छ । निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताउनुभयो । निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको छ । उद्घाटन उडान वाइडबडीबाट गरिने र पछि नियमित उडान पनि वाइडबडी जहाजमार्फत हुने उहाँले जानकारी दिनुभयो । “हामीले वाइडबडी जहाजबाटै उडानका लागि मागेका हौँ, अहिलेलाई न्यारोबडीबाटै उडान हुन्छ, पछि पुनः वाइडबडी जहाजबाटै नियमित उडान गर्छौं”,उहाँले भन्नुभयो ।यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन् । काठमाडौं–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट र रियाद–काठमाडौं उडान अवधि चारघण्टा ५० मिनेटको हुने निगमले जनाएको छ । नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिक रुपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । विभिन्न पेसा व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन् । अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने विश्वास गरिएको छ ।आठ देशका १० गन्तव्यमा उडान विस्तारनेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्लालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।यसअघि साउदीमा हिमालय एयरलाइन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ । साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो । तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन । निगम लामो समयको प्रयासपछि रियादमा उडान भर्न सफल भएको र यो अवसर पाउँदा निगम निकै गौरवान्वित भएको जनाइएको छ । देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताउनुभयो । व्यवस्थापनको मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उहाँको भनाइ जियो । अन्य काममा पनि निगमभित्रका कर्मचारीहरुको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको जिकिर थियो ।
अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने
काठमाडौं, वैशाख ३ गते । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँको विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा मुलुकको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ । त्यसैको प्रतिफलस्वरुप तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि प्राधिकरण लागिपरेको प्राधिकरणले जनाएको छ । विमानस्थलको आधुनिकीकरण र व्यवसायीकरणका लागि पर्यटनमन्त्री आलेले सहजीकरण गरिदिनुभएको छ । मन्त्री आलेकै पालामा टिआइए २४ घण्टा सञ्चालनमा आउन लागेको हो । “पर्यटनमन्त्री आलेको बोर्ड बैठकमा पटकपटकको निर्देशनबमोजिम प्राधिकरणले आन्तरिक गृहकार्य गरेर यो योजना सार्वजनिक गरेको हो”, सञ्चारकर्मीसँग कुरा गर्दै महानिर्देशक अधिकारीले भन्नुभयो ।कोभिडपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद् पक्ष पनि हो । हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि पनि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ । साथै यसको व्यवस्थापनमा चुनौती उत्तिकै छन् । त्यसैले विमानस्थलको प्रभावकारी व्यवस्थापनका लागि आफूहरु जुटिरहेको महानिर्देशक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय र आन्तरिक सबै विमानस्थलमा व्यापक पूर्वाधार सुधार र सेवा स्तरीकरणको खाँचो छ, नेपालको आकाश सुरक्षित रहेको सन्देश पनि दिनुछ, आज टिआइएमा कुनै अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने इच्छा देखाएमा स्लट दिन सक्दैनौं ।”यसअघि २०७५ जेठमा तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले टिआइए २१ घण्टा सञ्चालनमा ल्याउनुभएको थियो । बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा सञ्चालन हुँदै आएको उक्त विमानस्थललाई तीन घण्टा थपेर २१ घण्टासम्म सञ्चालनमा ल्याउनुभएको थियो । यद्यपि टिआइएको धावनमार्गको जीर्णोद्धारको काम सुरु भएपछि पुनःउडान सञ्चालन अवधि घटेको थियो । त्यसपछि कोभिडका कारण देशभर बन्दाबन्दी लागू भएपछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान कटौती हुँदै जाँदा विमानस्थल सञ्चालन समय घटाइएको थियो ।कूल ९२ लाख यात्रु क्षमताको टिआएमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्नसक्ने अवस्था थिएन । काठमाडौं विमानस्थलको विकल्पका रुपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।गौतमबुद्धको विमानस्थलको नयाँ धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालनप्राधिकरणले यही वैशाख ८ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा ल्याउने भएको छ । महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गर्न लागेको हो । “अब पाइलटले वैशाख ८ गतेपछि भैरहवाको पुरानो धावनमार्गलाई चिन्ने छैनन्, हामीले नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, विमानस्थलमा रहेका सुविधाबारे विस्तृत प्राविधिक जानकारी एयरर्याक (एरोनटिकल इनर्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल) मा प्रकाशन गरी सक्यौँ”, महानिर्देशक अधिकारीले भन्नुभयो ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग वैशाख ८ गतेदेखि सञ्चालन हुने भए पनि अहिले अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीबाट हुने प्राधिकरणले जनाएको छ । अब विदेशी जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आकस्मिक कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन् । महानिर्देशक अधिकारीका अनुसार फागुन पहिलो सातादेखि नै विमानस्थलको टावर सञ्चालनमा आइसकेको छ । न्यारोबडी र वाइडबडीका लागि भैरहवाको धावनमार्ग तयार भएको छ । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ ।आन्तरिक उडान राति १२ बजेसम्म सञ्चालन हुनेरात्रिकालीन उडानयोग्य पूर्वमेचीदेखि सुदूरपश्चिम धनगढीसम्मका विमानस्थमा अब राति १२ बजेसम्म सेवा सञ्चालन हुने भएको छ । नियामक प्राधिकरणले भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो । यसले काठमाडौं विमानस्थलको विद्यमान उडान चाप पनि व्यवस्थापन हुने तथा कोभिड कहरपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ । प्रादेशिकरुपमा आर्थिक गतिविधि बढ्नेछन् । उडान चापले यात्रा डिले हुँदा घण्टौंसम्म यात्रुले विमानस्थलमा निकै सास्ती व्यहोर्दै आएका छन् । उडान ढिलाइ भएकै कारण घण्टौँ यात्रुले विमानस्थलको भुइँमा बस्नुपर्ने, बालबालिकाले व्यहोर्नुपर्ने सास्ती हटेर जाने बताइन्छ । रात्रि उडानका लागि नेपालमा उडान भर्ने आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्ससँग छलफल भइसकेको प्राधिकरणले जनाएको छ ।देशभरका विमानस्थलमा आधुनिक टर्मिनल भवनप्राधिकरणले देशैभरका आन्तरिक विमानस्थलको पुरानो टर्मिनल भवन भत्काएर नयाँ आधुनिक सुविधासम्पन्न र व्यावसायिक बनाउने घोषणा गरेको छ । महानिर्देशक अधिकारीले ७० वर्षभन्दा बढी पुराना देशभरका टर्मिनल भवन भत्काएर दुई वर्षभित्र नयाँ अत्याधुनिक भवन बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “तराई क्षेत्रका विमानस्थलमा बनाइएका टर्मिनल भवन ७० देखि ७५ वर्ष पुराना भइसके मर्मत गरेर चलाउन सम्भव छैन । पानी चुहिने, यात्रु क्षमता र सुविधा पनि अहिलेको समयअनुसार नभएकाले सबै भवन तत्काल विस्थापन गर्दैछौँ ।”
चैते धानमार्फत सामूहिकखेतीमा जोडिँदै सुरौदीका किसान
वासुदेव पौडेलगण्डकी, वैशाख ३ गते । गत चैत १७ गतेदेखि कास्कीको दक्षिण भेग सुरौदी खोलाकोे किनार कुर्लिङ क्षेत्रस्थित नरपतेमा झण्डै १२÷१५ जनाको समूह लगातार चैते धान रोप्न ब्यस्त देखिन्छ । अधिकांश स्थानमा कृषिप्रतिको अनइच्छाका कारण खेत तथा बारी बाँझिँदै गएको वास्तविकतामा यहाँका किसान भने तिनै बाँझिएकामध्ये २०० रोपनीभन्दा बढी क्षेत्रफलको खेतमा यतिखेर बाँझो फोरेर सामूहिक चैते धान रोप्न लागिपरेका हुन् । कुर्लिङ बराह कृषक समूहमा सङ्गठित यहाँका १२ कृषक परिवारको समूहिक प्रयासमा विगत २० वर्षयता लगातार बाँझिएको खेतका कतिपय स्थानमा चैते धानको रोपो हरियो भइसकेको छ भने रोप्नेक्रम पनि चलिरहेको छ । आफूहरूले अझै एक दुई दिन रोपाइँ गर्ने योजना रहेको समूहका अध्यक्ष हरिप्रसाद आचार्यले जानकारी दिनुभयो । “कृषिप्रतिको बढ्दो अनइच्छासँगै पछिल्ला वर्षमा सुरौदी क्षेत्रमा धेरै जग्गा बाँझिएको छ”, उहाँले भन्नुभयो, “बाँझिएका जग्गामा खेती गरी उत्पादन बढाउनका लागि अन्य कृषकलाई पनि अभिप्रेरित गर्ने उद्देश्यले हामी सामूहिक चैते धानखेतीतर्फ लागेका हौँ ।” कृषकको जागरुकतासँगै सामूहिक चैते धानखेतीमा पोखरा महानगरपालिका कृषि महाशाखाले चासो दिएको छ । सङ्घीय शःसर्त धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत महाशाखाले कृषकलाई उन्नत जातको चैते–५ र हर्दिनासे बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । उन्नत जातको धानको विउ विगतमा भन्दा मसिनो खालको छ । कार्यक्रमअन्तर्गत नै सिँचाइका लागि सहयोग गरिएको महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत नै आगामी दिनमा समूहलाई ५० प्रतिशत अनुदानमा कुटानी पिसानी मेसिन, मिनि ट्रेलर, त्रिपाल, मिनि थ्रेसरलगायतका उपकरण सहयोग उपलब्ध गराउने जानकारी दिँदै महाशाखाका प्रमुख कडरियाले ४० दिनपछि स्थलगत अनुगमन गरी प्रतिरोपनी रु ९०० सम्म प्रोत्साहन अनुदान उपलब्ध गराइने बताउनुभयो । “महाशाखाबाट यसअघि उक्त समूहका तीन जना कृषकलाई तालिमसमेत दिइएको थियो”, उहाँले भन्नुभयो, “आगामी दिनमा समूहको जागरुकता समेतलाई दृष्टिगत गरी आवश्यकताअनुसार अन्य सहयोग पनि उपलब्ध गराउने छौँ ।” सङ्घीय शःसर्त धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत महानगरपालिकाभित्र सुरौदीसहित क्षेत्र विभाजन गरी वडा नं २६ र २७ मा तथा वडा नं १३ काहुँखोलामा चैते धान रोपाइँमा सहयोग गरिएको कडरियाले जानकारी दिनुभयो । समूहले आगामी दिनमा व्यावसायिक तरकारीखेती गर्ने योजनासमेत राखेको समूहका सदस्य एवं कुर्लिङ पशुपक्षी तथा कृषि फर्मका सञ्चालक चेतबहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा यहाँ कृषक व्यावसायिक कृषिका लागि फर्म दर्ता गरी आफ्नो व्यवसायलाई व्यवस्थित गर्ने प्रयासमा जुटेका छन् । समूहकै सक्रियतामा कुर्लिङ बराह कृषक हित कोष स्थापना गरी प्रतिकृषक मासिक रु १०० सङ्कलन गर्न थालिएको छ । पछिल्ला समयमा यहाँ कृषक व्यावसायिक गाईभैँसीपालन, बाख्रापालनसँगै कुखुरापालन आदिमा व्यस्त बनेका छन् । उत्पादित भैँसी, बाख्रा, कुखराको बिक्रीका लागि बजार जानु नपर्ने र घर तथा फर्मबाटै बिक्री हुने गरेको यहाँका कृषक बताउँछन् । पछिल्ला वर्षमा सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बगरमा परिणत बन्दै गएको छ । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले वर्षेनी खेतीयोग्य जमिनको कटान गरिरहेको र यसलाई रोक्नुपर्ने स्थानीयको सामूहिक आवाज छ । कृषिका अतिरिक्त जल पर्यटनको पर्याप्त सम्भावना रहेको सुरौदी खोलालाई संरक्षण गर्दै यसको सदुपयोग गर्नसके यहाँको आर्थिक समृद्धिका लागि महत्वपूर्ण आधार बन्ने कुर्लिङ पशुपक्षी तथा कृषि फर्मका सञ्चालक महतको भनाइ छ । यस क्षेत्रको जलाधारको संरक्षण र उपयोग गर्नसके स्याङ्जाको प्युरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहँुको घारी बगरसम्मका अधिकांश खेतीयोग्य भूभाग सुरौदी खोलाको पानीले सिँचाइ गर्न सकिनाका साथै माछापालन यहाँको राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । सुरौदी खोलामा जल पर्यटनको पनि उत्तिकै सम्भावना रहेको र दीर्घकालीनरुपमा खोलालाई निश्चित बाटोमा हिँडाउन ठाउँठाउँमा तटबन्ध निर्माण गर्नु आवश्यक देखिन्छ । पछिल्ला वर्षमा नदीजन्य ढुङ्गा, गिट्टी, बालुवा जथाभावी उत्खनन् बढेकाले त्यसलाई रोक्नका लागि यस अघि स्थानीयका तर्फबाट तीनवटै जिल्लास्थित सम्बद्ध निकायमा ध्यानाकर्षणसमेत गराइएको थियो । नदीको वर्षेनी धार परिवर्तन हुँदै जाँदा करिब ६० वर्षयता जलाधार क्षेत्रमा रहेका कैयौँ खेतीयोग्य जमीन बगरमा परिणत भएको स्थानीयको अनुभव छ ।
कागजको मूल्य बढ्दा मुद्रण उद्योग सङ्कटमा
नवराज कट्टेलविराटनगर, वैशाख ३ गते । कागजलगायतका आवश्यक वस्तुमा अत्यधिक मूल्य वृद्धि हुँदा त्यसको असर मुद्रण उद्योगमा देखिएको छ । भारत तथा तेस्रो मूलुकबाट पैठारी हुने सबै प्रकारका कागजमा पछिल्लो एक महिनायता दैनिकजस्तो मूल्य वृद्धि हुँदै गएपछि उद्योगीले चिन्ता व्यक्त गरका छन् । विद्यालयका पुस्तकका लागि प्रयोग हुने म्यापलिथो एक महिनायता प्रतिकेजी ८६ रुपियाँबाट १०२ रुपियाँ पुगेको छ । यसैगरी प्रतिकेजी १५० रुपियाँमा खरिद हुँदै आएको आर्टबोर्ड पेपरको मूल्य २४० रुपियाँ पुगेको छ । यो कागज क्यालेन्डर तथा कार्ड छपाइमा प्रयोग हुन्छ । यसैगरी न्युज प्रिन्टको मूल्य ८४ रुपियाँ प्रतिकेजीबाट १०५ रुपियाँ पुगेको छ । भारत तथा तेस्रो मुलुकबाट कागजजन्य वस्तुको पैठारीकर्ता विराटनगरस्थित ओरियन्ट सप्लायर्सका ज्योति साबुका अनुसार तेस्रो मूलुकबाट प्रतिटन ६४० रुपियाँमा खरिद हुँदै आएका कागज अहिले एक हजार २१५ पुगेको छ । यो कोलकातास्थित सीआईएफको मूल्य हो । त्यहाँबाट प्रतिकेजी आठ रुपियाँ ढुवानी बुझाएर आयात गरिने कागजको मूल्य नेपालमा स्वतः बढ्न गएको साबुले बताउनुभयो । नेपालमा भारत तथा तेस्रो मुलुकबाट किताब छाप्ने म्यापलिथो, क्यालेन्डर छाप्ने आर्थपेपर, किताबको कभरका रूपमा प्रयोग हुने आर्ट बोर्डर, पत्रपत्रिका छाप्न न्युज प्रिन्ट र मिडिया पेपर आयात हुँदै आएको छ । विराटनगरस्थित कृष्णा ट्रेडर्सका हेमन्त बोहराले भारत तथा तेस्रो मुलुकबाट आयात हुने कागजको मूल्य उत्पादक देशमै बढेको छ । त्यसको असरका रूपमा नेपालमा अझै बढ्ने सम्भवना छ । नेपाल राष्ट्र बैङ्कले प्रतीतपत्र (एलसी) खोल्न कडाई गरेसँगै मुद्रण उद्योगका आवश्यक सबै प्रकारका वस्तुको अभाव हुने देखिने चिन्ता मुद्रण उद्योगीमा छ । नेपाल मुद्रण उद्योग महासङ्घ प्रदेश १ का अध्यक्ष लवकुमार घिमिरेका अनुसार एलसी खोल्न कडाइ गरिएसँगै पहिला आयात गरिएको सामानमा समेत कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाइएको छ । मुद्रण उद्योगसँग सम्बन्धित कागज, मसीलगायतका आवश्यक वस्तु बजारमा अभाव भइसकेको छ । मुद्रण उद्योगले आफ्नो छपाइ क्षमतासमेत ४० प्रतिशतले कटाएको अध्यक्ष घिमिरेको भनाइ छ । नेपालमा उत्पादन नहुने र आयातकै भर पर्नुपर्ने मुद्रण उद्योगसँग सम्बन्धित कच्चापदार्थको अभाव देखिए धेरैको रोजगारी गुम्ने मोरङका अध्यक्ष सुभास कार्कीले बताउनुभयो । पैठारीकर्ताले भारत तथा तेस्रो मुलुकबाट झिकाउने कागजमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर बुझाउनुपर्छ । ढुवानी तथा भन्सार जाँचका सबै प्रक्रिया पूरा गर्दा सबै प्रकारका कागजको मूल्य गत वर्षको भन्दा ३० प्रतिशतले वृद्धि भइसकेको आयातकर्ताहरूको दाबी छ । नेपालमा उत्पादन हुने कागजले सबै प्रकारका काम टार्न सक्दैन जसका कारण आयात गरेर ल्याउनुपर्ने कागज तथा मसी अभाव भए त्यसको असर धेरै क्षेत्रलाई पर्नसक्ने मुद्रण उद्योगीहरूको भनाइ छ ।
स्ट्रबेरी खेतीबाट किसान उत्साहित
नवलपरासी, वैशाख ३ गते । पछिल्लो समयमा देवदह नगरपालिकाका युवा स्ट्रबेरी खेतीप्रति आकर्षित भएका छन् । नगरपालिकाको वडा नं. ३ सिसपुरमा दुई वर्षअघि देवदह ग्रिनएग्रो रिसर्च एन्ड रिसोर्स नामक कम्पनी खोलेर थालिएको स्ट्रबेरी खेतीले राम्रो आम्दानी दिन थालेको देखेपछि सामूहिक खेतीमा लागेका युवा उत्साहित भएका हुन् । कम्पनीका मुख्य लगानीकर्ता एवं संरक्षक हीरा केसीले नमुना खेतीका रूपमा गरिएको व्यावसायिक खेतीबाट राम्रो उत्पादन हुन थालेकाले आफूहरू निकै उत्साहित भएको बताउनुभयो । उहाँको फार्मबाट अमेरिकन प्रजातिको स्ट्रबेरीको उत्पादन भइरहेको छ । कम्पनीले दुई बिघा क्षेत्रफलमा पहिलो वर्ष १२ हजार बिरुवा लगाएर १५ हजार किलो स्ट्रबेरीको उत्पादन गरी बजार पठाइएको जनाएको छ । अहिले उहाँको कम्पनीले स्ट्रबेरीको बीउ उत्पादन गरेर अन्य युवा समूहलाई पनि यस्तो खेतीमा लाग्न सहयोग गर्न थालेको कम्पनीका सचिव राजेन्द्र न्यौपानेले बताउनुभयो । सुरुमा कम्पनीले अमेरिकाबाट नै बीउ ल्याएर परीक्षणका रूपमा खेती थालेको थियो । अमेरिकन प्रजातिको स्ट्रबेरी यो क्षेत्रको तापक्रम तथा वातावरणमा उपयुक्त साबित भएको कम्पनीका कृषिविज्ञ भोजराज भट्टले बताउनुभयो । उहाँको अनुसार अमेरिकन प्रजातिको यो स्ट्रबेरी मङ्सिरमा लगाएर चार महिनापछि लिन सकिन्छ । बजारमा स्ट्रबेरी प्रतिकिलो सात सयदेखि आठ सय रुपियाँमा बिक्री हुँदै आएको छ । यसका साथै कम्पनीले बालुवामा उत्पादन हुने गरेको खरबुजाको खेती पनि सामान्य माटोमा नै उत्पादन गर्न थालेको छ । यसले पनि राम्रो उत्पादन दिएको कम्पनीको दाबी छ । कम्पनीले आधुनिक प्रविधि प्रयोग गरी टमाटर, काँक्रा, गोभीलगायतका तरकारीको पनि व्यावसायिक खेती गर्दै आएको छ ।