• १७ असार २०८१, सोमबार

बाख्रापालनबाट राम्रो आम्दानी

blog

अमरराज नहर्की 

तनहुँ, वैशाख ४ गते । तनहुँकी एक महिलाले गाउँमै बाख्रा पालन व्यवसायबाट नाम र दाम दुवै कमाउन सफल हुुनुभएको छ । व्यास नगरपालिका–४, चुरेखोल्सीमा बाख्रा फार्म सञ्चालन गरेर गायत्री पुडासैनी अधिकारीले नाम र दाम दुवै कमाउनुभएको हो । 

बाख्रापालनबाट निकै राम्रो आम्दानी हुन थालेपछि उहाँले लगानी थप्दै जानुभएको छ । अधिकारी हाल मासिक ५० हजार रुपियाँ आम्दानी हुने गरेको बताउनुहुन्छ । ५० लाख रुपियाँ लगानी गरिसक्नुभएकी अधिकारीले चालू आर्थिक वर्षभित्रै थप ४१ लाख गरी ९१ लाख लगानी गरेर मासिक दुई लाख नाफा कमाउने योजना बनाउनुभएको छ । अधिकारीले खोल्नुभएको गङ्गादेवी बाख्रा फार्ममा बोयर जातका ९० वटा बाख्रा छन् । तीमध्ये माउ ४३, पाठी २३ र बाँकी पाठा छन् । अधिकारीले बाख्रा पालनका लागि २४ रोपनी आफ्नै, १२ रोपनी भाडाको गरी ३६ रोपनी जमिनमा घाँसखेती गर्नुभएको छ । 

उहाँले बारीमा नेपिएर, सुपर नेपिएर, स्मार्ट नेपिएर, स्टाइलो, बडहर, रायोखनायो, किम्बुलगायतका जातका घाँस लगाउनुभएको छ । 

अधिकारीलाई फार्ममा श्रीमान् नारायण अधिकारी, ससुरा देवीप्रसाद अधिकारी र सासू गङ्गादेवी अधिकारीले सहयोग गर्नुभएको छ । परिवारका सदस्यबाहेक अन्य चार जनालाई रोजगारी दिएको अधिकारीले जानकारी दिनुभयो ।  

मासुको माग धेरै हुँदा भारतबाट खसीबोका आयात गर्नुपर्ने बाध्यता भएको थाहा पाएपछि गाउँमै बाख्रापालन गर्ने सोच आएको अधिकारीले बताउनुभयो । उहाँले सुरुमा डेढ लाख रुपियाँ लगानी गरेर आठवटा खरी जातको बाख्राबाट व्यवसाय सुरु गर्नुभयो । महँगो मूल्यमा बिक्री हुने भएपछि उहाँले खरीजातको बाख्रालाई हटाएर बोयर जातको बाख्रा थप्न थालेको बताउनुभयो । उहाँले तीन लाख रुपियाँ खर्च गरेर अस्ट्रेलियाबाट बोयर जातकाे बोका किनेर ल्याएको बताउनुभयो । 

उहाँको फार्म अहिले उन्नत जातको पाठापाठी उत्पादन केन्द्र बनेको व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्वराज न्यौपानेले जानकारी दिनुभयो । बाख्रापालनमा नमुना कृषक भएकोले गतवर्ष उहाँले नमुना मोडल फार्मअन्तर्गत दुई लाख रुपियाँ अनुदान प्राप्त गर्न सफल भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्राविधिक रुद्रसेन ठकुरीले जानकारी दिनुभयो । 

नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना पोखराबाट २० लाख ५० हजार अनुदान प्राप्त गर्नका लागि आफ्नो फार्म सूचीकृत हुँदा उत्साह जागेको अधिकारीले बताउनुहुन्छ । अनुदान प्राप्त गरेको रकम बराबर आफूले पनि लगानी गर्नुपर्ने प्रावधान रहेकाले चालू आर्थिक वर्षमा नै पूरा हुने गरी काम भइरहेको उहाँको भनाइ छ । विदेशबाट आयात गर्नुपर्ने मकै, दानाको मूल्य वृद्धि हुँदा समस्या थपिएको उहाँले बताउनुभयो ।