• १७ असार २०८१, सोमबार

फौजी कीराबाट मकैमा क्षति

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, वैशाख ४ गते । मकै बालीमा फौजी कीराले नोक्सानी गरेपछि बाँकेका किसान समस्यामा छन् । कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने भएको छ । मकै बाली हुर्कंदै गरेको अवस्थामा फौजी कीराले बालीमा धेरै क्षति पु¥याएको गुनासो आएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । 

कृषि ज्ञान केन्द्रका अनुसार फौजी कीराको प्रकोपबारे सचेतना जगाइएको भए पनि समयमै यसको रोकथाम गर्न नसकिँदा बाँकेको मकै बालीमा ठूलो क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सकिल अहमदले बाँकेमा फौजी कीराको प्रकोप व्यापक फैलिएको जानकारी दिनुभयो । 

किसानले विषादी प्रयोग गरिरहे पनि नियन्त्रण आउन नसकेको उहाँले जानकारी दिनुभयो । वसन्ते मकैमा सुक्खा हुँदा फौजी कीराले बढी नोक्सानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाली संरक्षण अधिकृत अहमदका अनुसार फौजी कीरा नियन्त्रण गर्न विषादी छर्नुबाहेक अरू कुनै विकल्प छैन । फौजी कीराका कारण बाँकेको खजुरा, राप्ती सोनारी, डुडुवा र बैजनाथमा किसानले लगाएको मकैमा अधिक क्षति पुगेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।