दोर्दी करिडोरको बिजुली उपयोगको प्रयास
नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाको बिजुलीलाई शीघ्र राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रयास सुरु गरेको छ ।
नौ महिनामा ६० अर्बको खाद्यान्न आयात
धान, मकै, कोदो जस्ता नेपालका प्रमुख खाद्यबाली मानिए पनि चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रु ५९ अर्ब २९ करोड ७० लाख ३६ हजार बराबरको आयात भएको छ ।
समस्यामा चिया किसान
चैत, वैशाख महिना गुणस्तरीय चिया उत्पादनको मुख्य सिजन हो तर यस वर्ष गुणस्तरीय चिया उत्पादन हुने समयमै चियाको मुना नपलाउँदा पूर्वका चिया किसानलाई घाटा भएको छ ।
असारसम्ममा चार्जिङ स्टेसन
नेपाल विद्युत् प्राधिकरणले आगामी असारसम्म ५० वटा चार्जिङ स्टेसन निर्माण सम्पन्न गर्ने भएको छ । दुई वर्षअघि निर्माण सुरु भएको चार्जिङ स्टेसनको काम सम्झौता मितिभन्दा एक महिना ढिला सम्पन्न हुँदै छ । प्रमुख राजमार्गका ३२ स्थानमा ती चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गरेको हो । प्राधिकरणका परियोजना प्रमुख सागर ज्ञवालीले चार्जिङ मेसिन चीनबाट नेपालतर्फ पठाइसकिएको जानकारी दिँदै भन्नुभयो, “भौतिक निर्माणकार्य सकिएको छ ।
काठमाडौँ–रियाद उडान सुरु
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ११ गते । नेपाल वायुसेवा निगमले काठमाडौँ–रियाद–काठमाडौँ नियमित उडान शुक्रबारदेखि सुरु गरेको छ । नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हप्तामा दुईवटा उडान सञ्चालन गर्ने सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट रियादका लागि निगमको पहिलो उडान १९ः१५ बजे भएको थियो । निगमले साउदी अरेबियाको रियादमा उडानका लागि गत फागुन २२ गते अनुमति प्राप्त गरेपछि उडान थालेको हो । योसहित निगमको उडान आठ मुलुकका १० वटा गन्तव्यमा पुगेको छ । निगमले हाल भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैङ्कक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएको छ । यीमध्ये निगमले दिल्लीमा दैनिक दुईवटा उडान गर्दै आएको छ ।
३० मेगावाटको न्यादी जलविद्युतबाट उत्पादन सुरु
बेलिना थापालमजुङ, बैशाख ११ गते । लमजुङको मस्र्याङदी गाउँपालिकामा निर्माण गरिएको न्यादी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । मस्र्याङदी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुलेबीच भएर बग्ने ङादीखोलामा निर्माण भएको ३० मेगावाटको आयोजनाबाट विद्युत उत्पादन सुरु भएको जनाएको छ । आयोजनाका प्रशासकीय अधिकृत बासुदेव गड्तौलाका अनुसार आयोजनाको निर्माण कार्य सकेर शुक्रबार बेलुकाबाट विद्युत उत्पादन थालिएको हो । सुख्खा मौसमका कारण हाल २० मेगावाट विद्युत उत्पादन भइरहेको गड्तौलाले बताउनुभयो । बैशाख २७ गतेबाट व्यवसायीक विद्युत उत्पादन हुने उहाँले बताउनुभयो । आयोजना आफैंले १० किलोमिटरको १३२ केभी विद्युत प्रसारण लाइन निर्माण गरेको छ । पावरहाउस रहेको ठुलीबेंसीबाट मस्र्याङदी नदीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजना क्षेत्रसम्म २५ वटा टावर राखिएको छ । सुरुवातमा २०२१ को जुलाईमा आयोजना सम्पन्न गराउने लक्ष्य रहेपनि त्यसपछि तीन महिना सरेको थियो ।आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेशन कम्पनी लिमिटेडले निर्माण गरेको हो । वुटवल पावर कम्पनी (बीपीसी) को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनी (लेड्को) को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । करीब ४ अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन भएपनि आयोजना निर्माण सक्दासम्म लागत बढेको आयोजनाले जनाएको छ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नविल बैंक, ग्लोवल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीको लगानी रहेको छ । वि.स. २०७३ चैत ३० गतेबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाँइचेमाथि ङादी नदीमा बनाइएको छ । ३ हजार ८ सय ४० मिटर सुरुङबाट पानी ल्याएर आयोजना बनाइएको छ । नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत उत्पादन हुने छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग वर्षायाममा ४ रुपियाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपियाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पीपीए) गरेको हो ।
जडीबुटीबाट दुुई करोड राजस्व
हुुम्ला समाचारदाताहुुम्ला, वैशाख ११ गते । यस वर्ष हुुम्लामा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ । जिल्लाबाट १२ किसिमको चार लाख ८१ हजार केजी जडीबुटी निकासी हुँदा एक करोड ९८ लाख ९६ हजार राजस्व प्राप्त भएको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रवीण पौडेलका अनुसार एक करोड ९८ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । उहाँले यो राजस्व वन विभागबाट सङ्कलन पुर्जी दिइएको र डिभिजन वन कार्यालयबाट उक्त पुर्जी दिइएको जडीबुटीबाट भएको बताउनुुभयो ।उहाँका अनुसार जटामसी तीन लाख ४० हजार केजीबाट एक करोड ७० लाख राजस्व सङ्कलन भएको छ । कार्यालयबाट सङ्कलनका लागि अनुमति दिएका अन्य ११ प्रकारका जडीबुटीबाट २९ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । जिल्लाबाट वितरण गरिएको पुर्जीमा राष्ट्रिय वनबाट सङ्कलन भएको जडीबुटीबाट १७ लाख तीन हजार ५०० र सामुदायिक वनबाट ११ लाख ६५ हजार ८०० रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । हुुम्लाबाट निकासी हुने जडीबुटीमा जटामसी, कुट्की, चिराइतो, सेतक चिनी, सुुगन्धवाल, उत्तिस, शिलाजित, धूपी, कालादाना, वनलसुुन, अल्लो, विष र गुुच्ची च्याउ रहेका छन् । विगत दुुई वर्षयता भने जडीबुटी निकासीबाट राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।
सेवा सुधार गर्न होटल व्यवसायीलाई तालिम
जानु पाण्डेकपिलवस्तु , बैशाख १० गते । लुम्बिनी प्रदेशका होटेलको सेवा सुधार गर्ने लक्ष्यले यहाँका होटल व्यवसायीलाई व्यवस्थान सम्बन्धी तालिम प्रदान गरेको छ । नेपाल पर्यटन वोर्डको आर्थिक सहयोग र होटेल व्यवसायी महासंघ लुम्विनी प्रदेशले नौ जिल्लाका ४० जना बढी व्यवसायीलाई तालिम दिएको हो । कोरोनाले अस्तव्यस्त परेको होटेल व्यवसायीलाई ग्राहकसँगको सम्बन्ध सुमधुर र मित्रवत व्यवहार प्रदान गरी स्थानीय पर्यटनको विस्तारको लागि तालिम प्रदान गरिएको होटेल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले जानकारी दिनुभयो । होटेल व्यवसायीले देशको पर्यटन विकासमा ठुलो टेवा पुर्याएको बताउँदै नेपाल घुम्न आउने पर्यटक न्यून हुँदा व्यवसायी मारमा परेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख मुक्तीप्रसाद पाण्डेले बताउनुभयो ।
कडाइपछि घट्यो आयात
केही वस्तुको आयातमा सरकारले कडाइ गरेपछि चैतमा आयात घटेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन महिनाको तुलनामा चैतमा तीन अर्ब ३४ करोड ३२ लाख रुपियाँले आयात घटेको हो ।