• २० पुस २०८१, शनिबार

इलाममा ३० प्रतिशत धान रोपाइँ

blog

इलामको माइजोगमाई गाउँपालिकामा रोपाइँ । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असार १७ गते । इलाममा यस वर्ष ३० प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा मध्य असारसम्ममा ३० प्रतिशत रोपाइँ भएको र अझै रोपाइँ गर्ने क्रम जारी रहेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । 

जिल्लाको तल्लो क्षेत्र अर्थात् चुलाचुली गाउँपालिका, माई, इलाम, देउमाई नगरपालिका, फाकफोकथुम, माङ्सेबुङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकाको तल्लो भेगमा धानखेती हुने गरेको छ । जिल्लास्थित ज्ञान केन्द्रको तथ्याङ्क अनुसार १४ हजार ८१५ हेक्टर जमिनमा लगाइएको धानबाट गएको वर्ष ४९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष निरन्तर वर्षा भइरहेकाले धानखेती पनि वृद्धि हुने र उत्पादन पनि वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत जीवन ठाडामगरले बताउनुभयो । 

पहाडी क्षेत्रमा रोपाइँ गर्न गोरुकै भर पर्नुपर्ने कारणले रोपाइँ सोचेजति चाँडो गर्न नसकिएको किसानहरु बताउँछन् । समथर जमिन भएका तल्लो भेगमा प्रविधिको प्रयोग हुन थालेपनि उच्च स्थानहरुमा ट्याक्टरलगायतका सामग्री प्रयोग गर्न नसक्दा किसानलाई समस्या भएको माइजोगमाईका किसान मोहन सुवेदी बताउनुहुन्छ ।