• १९ असार २०८१, बुधबार

असारसम्ममा चार्जिङ स्टेसन

blog

लक्ष्मण दर्नाल 

काठमाडौँ, वैशाख ११ गते ।  नेपाल विद्युत् प्राधिकरणले आगामी असारसम्म ५० वटा चार्जिङ स्टेसन निर्माण सम्पन्न गर्ने भएको छ । दुई वर्षअघि निर्माण सुरु भएको चार्जिङ स्टेसनको काम सम्झौता मितिभन्दा एक महिना ढिला सम्पन्न हुँदै छ । प्रमुख राजमार्गका ३२ स्थानमा ती चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गरेको हो । प्राधिकरणका परियोजना प्रमुख सागर ज्ञवालीले चार्जिङ मेसिन चीनबाट नेपालतर्फ पठाइसकिएको जानकारी दिँदै भन्नुभयो, “भौतिक निर्माणकार्य सकिएको छ । अब मेसिन जडानलगायतका काम गर्दै छौँ । चीनबाट मेसिन आउनेक्रममा छ । आगामी असारसम्म सबै काम सम्पन्न गर्नेछौँ ।” 

हाल स्टेसनमा विद्युत् लाइन पु¥याउने काम भइरहेको छ । स्टेसन पूर्व–पश्चिम, पृथ्वी, सिद्धार्थ, बीपी, मदन भण्डारीलगायतका राजमार्गमा राखिनेछ । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा राखिएको छ । स्टेसनमा कार आधा घण्टा र बस एक घण्टामा पूर्ण चार्ज हुनेछ । चार्जिङ स्टेसनमा दुई सय किलोवाटको ट्रान्सफर्मर राखिनेछ । 

एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो । एउटा चार्जिङ स्टेसन निर्माणमा करिब ८० लाख रुपियाँ खर्च हुनेछ । हरेक प्रदेशमा पाँचवटा स्टेसन रहनेछ । त्यस्तै, उपत्यकामा १० र बाँकी पाँचवटा अन्य आवश्यक स्थानमा हुनेछन् । चार्ज गर्ने समय र स्थान मोबाइल एप्सबाट बुक गर्नुका साथै अनलाइन भुक्तानी गर्न सकिनेछ । उहाँले ५० वटै स्टेसनको नियन्त्रण काठमाडौँबाट हुने बताउनुभयो । 

यसैबीच, विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले काठमाडौँ र लुम्बिनी प्रदेशमा २९ वटा सार्वजनिक बस सञ्चालन गरेको छ । थप सय विद्युतीय बस ल्याउने तयारी गरिएको छ । सो कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार एक वर्षमा पाँच सय बस ल्याउन लागिएको छ । साझा यातायातका पनि तीनवटा विद्युतीय बस वीरगञ्ज भन्सारमा आइपुगेका छन् । काठमाडौैैँमा ती बसको परीक्षण गरिएपछि बाँकी ४० वटा विद्युतीय बस ल्याइने साझाले जनाएको छ । साझाका सञ्चालक समिति सदस्य भूषण तुलाधरले बाँकी बस करिब चार महिनाभित्रै ल्याइने जानकारी दिनुभयो ।