• १९ असार २०८१, बुधबार

समस्यामा चिया किसान

blog

कोकिला ढकाल

इलाम, वैशाख ११ गते । चैत, वैशाख महिना गुणस्तरीय चिया उत्पादनको मुख्य सिजन हो तर यस वर्ष गुणस्तरीय चिया उत्पादन हुने समयमै चियाको मुना नपलाउँदा पूर्वका चिया किसानलाई घाटा भएको छ । 

चियाको मुना किसान र उद्योगी दुवैका लागि फाइदाजनक भए पनि मुना नपलाएर सबै चिया पत्ता भएपछि त्यसको मूल्य पनि कम हुने गरेको छ । मूल्य नै कम भएपछि टिपेको चियाको मुना फाल्न बाध्य भएको किसानले बताएका छन् । 

दुईपात एक सुइरोको चिया हुनुपर्नेमा अहिलेको चियामा पाँच पातभन्दा बढी भएर छिप्पिएपछि त्यो चिया प्रशोधन गर्नुको अर्थ नरहेको कारखाना सञ्चालक बताउँछन् । गुणस्तर कम भएपछि टिपेको चिया कारखानाले पनि फिर्ता गरिदिँदा किसानलाई मर्का परेको हो । 

सूर्योदय नगरपालिकामा रहेका सबैजसो बगानमा अहिले मुना चियाभन्दा बढी पत्ता चिया उत्पादन हुनुले चियाको भविष्य सङ्कटतर्फ गएको चियाका जानकार र अनुभवी बताउँछन् । 

“राम्रोसँग प्लकिङ नहुनु, हातले पत्ती टिप्नको सट्टा मेसिन प्रयोग गर्नु र मेसिन चलाउने व्यक्ति पनि दक्ष नहुनुले सिजनको सुरुमै चियामा समस्या देखियो, श्रमिकको अभाव पनि चियाको गुणस्तर खस्कनुको अर्काे कारण हो,” सूर्योदय टी एसोसिएसनका सचिव गोपाल कट्टेलले भन्नुभयो । चियाको भविष्य अन्योलतर्फ धकेलिएको उहाँको बुझाइ छ । 

न्यूनतम मूल्य निर्धारण भएन

यहाँका कुनै पनि कारखानाले हरियो पत्तीको मूल्य अहिलेसम्म निर्धारण गरिसकेका छैनन् । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५’ कार्यान्वयन गर्न त्यो समयमा उद्योेगी, किसान, नगरपालिका सबै सहमत भएका थिए । 

कार्यविधिमा ४० प्रतिशत मुना हुनुपर्ने र त्यसको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँको व्यवस्था छ । सूर्योदय टी एसोसिएसनमा आबद्ध ६० बढी उद्योगले अहिलेसम्म किसानको हरियो पत्तीको मूल्य निर्धारण गरिनसकेको एसोसिएसनका सचिव कट्टेलले बताउनुभयो । चियाको गुणस्तर हेरेर न्यूनतम मूल्य तोक्ने तयारीमा उद्योग सञ्चालक छन् ।

अहिले चिया कारखानाले प्रतिकिलो हरियो चियाको मूल्य २० रुपियाँदेखि ३० रुपियाँ दिन थालेको सूर्योदय नगरपालिका मालुमस्थित किसान नरकुमार तामाङले बताउनुभयो । सूर्योदय नगरपालिकाले हरियो पत्तीको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँ निर्धारण गरेको थियो । 

गुणस्तरमा लापरबाही

किसानले नै कार्यविधिमा भएभन्दा फरक ढङ्गको हरियो पत्ती टिपाइ र सङ्कलन गरेर कारखानामा पठाउनुले किसान पनि सचेत नभएको उद्योगीको आरोप छ । उद्योगीले गएको सिजनमा पनि आफूखुसी ढङ्गले पत्तीको गुणस्तर हेर्ने बहानामा चियाको मुना हेरेर प्रतिकिलोे २० र ३० रुपियाँ निर्धारण गरेपछि गुणस्तरीय पत्ती उत्पादन गर्ने किसानलाई बढी मार परेको सूर्योदय–१२ का किसान पारस राईले बताउनुभयो । “हातले टिपेको चिया दुईपात एक सुइरो, झारपात नमिसिएको राम्रो हुन्छ ।

त्यसको पनि मूल्य अहिले प्रतिकिलो २०–३० रुपियाँ छ, गुणस्तर राम्रो नभएको चियाको पनि मूल्य उही छ,” राईले भन्नुभयो । राम्रो पत्तीको मूल्य र नराम्रो पत्तीको मूल्य एउटै दिएपछि समस्याको चुरो त्यही रहेको किसान राईको भनाइ छ ।

चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँ तोकेर मूल्यमा एकरूपता कायम गर्ने प्रयास गर्दा पनि सफल नभएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताउनुभयो । “हामीले चियाका लागि धेरै प्रयास गर्न खोजेका हौँ तर सफल भएका छैनौँ, बिचौलियाले गर्दा पनि किसानले मूल्य पाउन सकेका छैनन् ।

कारखानाले दिएको मूल्य लुकाएर पनि किसानलाई कम मूल्य बिचौलियाले दिने गरेका रहेछन्,” प्रमुख राईले भन्नुभयो ।किसानको चिया बगानबाट हरियो पत्ती सङ्कलन गर्दै चिया कारखानासम्म पु-याउने बिचौलिया चियाको मूल्य कम हुनुको मुख्य कारण पाइएको नगरप्रमुख राईको भनाइ छ ।