• १७ असार २०८१, सोमबार

स्वदेशमै मासिक एक लाख कमाइ

blog

शालिग्राम नेपाल

चितवन, वैशाख ४ गते । धेरै पढेलेखेका युवा बरोजगार छन् । जागिरको खोजीमा युवा भौँतारिरहेका छन् । स्वदेशमा अवसर नदेखेर मासिक २०–३० हजार रुपियाँका लागि विदेशिने युवाका सङ्ख्या कम छैन । तर, सामान्य पढेलेखेका र सीप भएका व्यक्तिले स्वदेशमै मासिक एक लाख रुपियाँको हाराहारीमा आम्दानी गरिरहेका पनि छन् । चितवनको भरतपुर क्षेत्रमा घर निर्माणसम्बन्धी काम गर्दै आउनुभएका भानु चौधरी यस्तैमध्येका एक हुनुहुन्छ । 

अहिले घर निर्माण, फर्निचर बनाउने, सजावटजस्ता काममा दक्ष जनशक्तिको अभाव छ । यसमा काम गर्नेले मासिक एक लाख रुपियाँभन्दा धेरै कमाइरहेका छन् । चौधरीले भन्नुभयो, “विदेशमा जस्तै मिहिनेत यहाँ गर्दा विदेशको भन्दा दोब्बर कमाइ हुन्छ किन जाने बाहिर ?” 

पाँच वर्षअघि दुबई र मलेसिया गए पनि सोचेअनुसारको कमाइ गर्न नसकेपछि फर्कनुभएका चौधरी घर निर्माणसम्बन्धी काम गर्नुहुन्छ । “एक लाख लगानी गरेर विदेश जाँदा मासिक ३०–३५ हजार रुपियाँ कमाउन सकिन्छ । त्यहाँभन्दा कम परिश्रम गर्दा पनि यहाँ मासिक एक लाखदेखि सवा लाख रुपियाँ कमाउने गरेको छु,” सप्तरीको कञ्चनपुर घर भएका ४० वर्षीय चौधरीले भन्नुभयो । 

चौधरीकै जस्तो काम गर्ने अरुको पनि कमाइ राम्रै छ । यस्तो सीप भएको स्वदेशी जनशक्ति कम रहेकाले अहिले भारतीयले अवसर पाइरहेका छन् । यी काममा दक्ष कामदारको मासिक ८० देखि ९० हजार रुपियाँ छ भने अदक्ष कामदारको मासिक ४० हजार रुपियाँ हुने गरेको ठेकेदार बताउँछन् । 

भारतको मोतिहारी घर भएका सुनीलकुमार चितवनमा फर्निचरसम्बन्धी काम गर्नुहुन्छ । मासिक आय ९० हजार रुपियाँभन्दा धेरै हुने गरेको उहाँले बताउनुभयो । नयाँ निर्माण भएका घरमा झ्याल ढोका, पलङ, खाट, टेवललगायतका काठ र फर्निचरको काम गर्न उहाँलाई भ्याइनभ्याइ छ ।

दैनिक ज्यालामा काम गर्दा पनि मिस्त्रीको ज्याला एक हजार पाँच सयदेखि एक हजार आठ सय रुपियाँ हुने गरेको छ । “सानो ठूलो जुन काम भए पनि ठेक्कामा गर्दा फाइदा हुन्छ । यसरी काम गर्दा कहिलेकाहीँ मासिक एक लाख रुपियाँ नाघ्छ,” सुनीलकुमारले भन्नुभयो ।