• १७ असार २०८१, सोमबार

वैकल्पिक व्यवस्थामार्फत विद्युत् जोडिँदै

blog

गोरखापत्र समाचारदाता

काठमाडौैँ, वैशाख ४ गते । स्थानीयको अवरोधका कारण गर्ज्याङ–नयाँ खिम्ती १३२ डबल सर्किट प्रसारण लाइन निर्माणमा ढिलाइ भएपछि नेपाल विद्युत् प्राधिकरणले उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने भएको छ । १९ मेगावाट जडित क्षमताका यी आयोजनाबाट उत्पादित विद्युत् गर्ज्याङ सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोडिने प्राधिकरणले जनाएको छ । 

जिरी सबस्टेसनबाट चरीकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिँगटी सबस्टेसनमार्फत विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ । प्राधिकरणले यसका लागि सिँगटी सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताको छुट्टै पावर ट्रान्सफर्मर जोडी चार्ज गरिसकेको छ ।  

गर्ज्याङ सबस्टेसनमा रहेको १३२/३३ केभी, ३० एमभीएको पावर ट्रान्सफर्मरलाई एक साताभित्र चार्ज गर्ने तयारी छ । वैकल्पिक व्यवस्थाअनुसार आयोजनाबाट अहिले उत्पादित करिब १० मेगावाट विद्युत् प्रवाह हुन्छ । 

खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माणाधीन गर्ज्याङ–नयाँ  खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा  अवरोधै अवरोध छ ।