• १९ असार २०८१, बुधबार

तीन दिनपछि खुल्यो मध्यपहाडी राजमार्ग

blog

मध्यपहाडि राजमार्गको मुसीकोट नगरपालिका ८ किटेनीमा आएको पहिरो । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असार १७ गते । पहिरोको कारण अवरुद्ध रहेको मध्यपहाडी राजमार्गको रुकुमखण्डमा यातायात सुचारु भएको छ । गत शनिबार बेलुका मुसीकोट नगरपालिका–८ किटेनीमा आएको पहिरोले अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि सोमबार दिउँसोबाट यातायातका साधनहरू चलेका छन्।  

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार मध्यपछाडि राजमार्ग कार्यालयसँग समन्वय गरेर पहिरो हटाइएको हो । मध्यपछाडि राजमार्ग कार्यालयले यस स्थानमा अवरुद्ध रहेका सडक सुचारु राख्नको लागि आवश्यक सामग्री समयमै उपलब्ध गराउन नसक्दा तीन दिनपछि राजमार्ग खुलेको हो । पहिरो पन्छाउनको लागि राजमार्ग कार्यालयले सोमबार बिहान मात्र स्टाभेटरको व्यवस्था गर्न सकेको थियो । 

किटेनीसँगै रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ स्थित कालेखोलामा पनि पहिरो आएको थियो । दुवै स्थानको पहिरो पन्छाइएको कार्यालयले जनाएको छ । यसका साथै रुकुम पूर्वको रुकुमकोटस्थित रानीकोटमा समेत गएरातिको पानीको कारण पहिरो आएको थियो । यस स्थानमा पहिरो पन्छाएर एकतर्फी रूपमा यातायातका साधानहरु चल्ने व्यवस्था मिलाइएको छ ।  

सडक अवरुद्ध हुँदा रुकुमपश्चिम हुँदै रुकुमपुर्व, पोखरा, काठमाडौँ जाने र रुकुमपुर्वबाट पनि रुकुमपश्चिम, सल्यान, दाङ, नेपालगन्ज जाने सवारी साधनहरू रोकिएका थिए ।