औद्योगिक मेला फागुनमा
नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९ फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीका कारण विगत तीन वर्षदेखि स्थगित भएकामा यस पटक अगामी फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
सहकारीका समस्यामा सबैको चासो
सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न नहुने सरोकारवालाले बताएका छन् । नेपालको सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकार समितिको बैठकमा सहभागीले यस्तो बताएका हुन् । पूर्वगृहमन्त्री तथा महासङ्घका सल्लाहकार बालकृष्ण खाणले सहकारीमा देखिएको चुनौती अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकारले यो हाम्रो सरोकारको विषय होइन भनेर भन्न नसक्ने बताउनुभएको छ ।
बन्यो सबभन्दा ठूलो वाणिज्य बैङ्क
मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार सोमबारदेखि सुरु हुँदै छ । दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुन लागेको हो ।
आजदेखि चितवन महोत्सव
चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला सोमबारदेखि सुरु हुँदैछ । चितवन महोत्सवको तयारी पूरा भएको र महोत्वसको प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुने महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो ।
विराटनगर र जनकपुरबाट श्रम स्वीकृति सुरु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि जनकपुर र विराटनगरबाट सबै प्रकारका श्रम स्वीकृति दिन सुरु गरेको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका विराटनगर र जनकपुरका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गरेको हो ।
प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
कर्जाको आकारभन्दा गुणस्तर बढाउनुपर्छ : पूर्व अर्थमन्त्री खतिवडा
पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाले बैङ्क तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताउनु भएको छ।
उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा समन्वय गर्नुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैङ्किङ तथा वित्तीय संस्थाहरूले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको बताउनुभएको छ ।
आँखेताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास
तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखेताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ। नगरपालिका वडा नम्बर १ ज्यामिरबोटे र वडा नं २ सुन्दरीगाउँका युवा आँखेतालको प्रवर्धनमा लागेका हुन्।
महिला सहकारीको ३४ लाख चोरी, व्यवस्थापक नियन्त्रणमा
मोरङको मिक्लाजुङ गाउँपालिका –३ टाँडीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ लाख रुपियाँ चोरी भएको छ । शुक्रबार राति सहकारीको पैसा राख्ने भल्ट कार्यालय नजिकै फेला परेपछि सहकारीको पैसा चोरी भएको थाहा भएको थियो । ब्यवस्थापकको जिम्मामा रहेको ३४ लाख रुपियाँ चोरी भएपछि सहकारीका व्यवस्थापक मेनुका नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै ‘कालिञ्चोक दर्शन’
कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।
सुनको मूल्य बढ्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजारले बढेको हो ।
बालुवाको अनुमति लिएर गिट्टी प्रशोधन
कैलालीको एक क्रसर उद्योगले बालुवा प्रशोधनको मात्रै अनुमति लिए पनि गिट्टीसमेत प्रशोधन गर्ने गरेको पाइएको छ ।
मह बेचेर वर्षिक ३५ लाखको आम्दानी
घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।
दुई वर्षमा फर्किए झन्डै सात लाख
पछिल्लो दुई वर्षमा झन्डै सात लाख नेपाली स्वदेश फर्किएका छन् । श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार आ.व. २०७७/७८ र २०७८/७९ मा छ लाख ७४ हजार ९१२ जना नेपाली स्वदेश फर्किएका हुन् । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) सञ्चालनमा आएसँगै विदेशबाट फर्किएका नेपालीको पनि तथ्याङ्क समेटिएको जानकारी दिनुभयो । विभागले २०७५ देखि नै विदेशबाट फर्किएका नेपालीको पनि तथ्याङ्क राख्ने बताउँदै आए पनि यकिन तथ्याङ्क राख्न सकेको थिएन । पछिल्लो वर्षदेखि फेमिस सञ्चालनपछि मात्रै व्यवस्थित रूपमा तथ्याङ्क राख्ने गरिएको हो ।
पुसभित्र कर बुझाए छुट
आन्तरिक राजस्व विभागले करको दायरामा आउने उद्योग/साझेदारी फर्मलाई कर छुटको व्यवस्था गरेको छ । आर्थिक ऐन, २०७९ को दफा २५ अनुसार दर्ता गरेका कुनै उद्योग/साझेदारी फर्मलाई तीन वर्षको आय विवरण र सोमा लाग्ने कर मात्र बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा गर्ने भएको हो । दर्ता भएका व्यक्ति/उद्योगले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७५/७६, २०७६/७७,२०७७/७८ को आय विवरण र सोमा लाग्ने कर मात्र बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने कार्यालयले जनाएको छ ।
चालू पुँजी कर्जा मार्गदर्शन संशोधनमा उद्योगी दुई धार
विराटनगरका उद्योगीले नेपाल राष्ट्र बैङ्कले चालू पुँजी कर्जा मार्गदर्शनको संशोधनलाई अपूर्ण भन्दै खारेजीको माग गरेका छन् । पछिल्लो संशोधनलाई विराटनगरका केही उद्योगीले सकारात्मक भन्दै स्वागत गरे पनि अर्का एकथरी उद्योगीले खारेजीको माग गरेका हुन् । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले संशोधनको धेरै बुँदा जटिल रहेकाले यस मार्गदर्शनलाई स्थगित वा खारेज गर्नुपर्ने माग गर्नुभयो ।
यो वर्ष घट्दै छवटा वाणिज्य बैङ्क
कुमारी बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क एक आपसमा गाभिएर आइतबारदेखि ‘कुमारी बैङ्क लिमिटेड’को नामबाट कारोबार सञ्चालनमा आएको छ । दर्जनभन्दा बढी बैङ्क तथा वित्तीय संस्था ‘मर्ज’ गरिसकेको ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार आगामी सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुँदैछ । प्रभु बैङ्कले सेन्चुरी कमर्सियल बैङ्कलाई प्राप्ति गरेपछि सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा मङ्गलबारदेखि ‘प्रभु बैङ्क लिमिटेड’ का नामबाट हुँदैछ ।
रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे डेमो उडान गर्ने भएको हो ।
जीटुजीको पच्चीस सय टन मल भित्रियो
मल आपूर्तिका लागि भारत र नेपाल सरकारबीच (जीटुजी) भएको सम्झौता अनुसारको दुई हजार पाँच सय टन युरिया मल वीरगञ्ज आइपुगेको छ । पहिलो चरणमा ल्याइने ३० हजार टनमध्ये शनिबार दुई हजार पाँच सय टन मल नेपालमा भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । जीटुजीमार्फत पहिलो वर्षमा एक लाख ५० हजार टन मल ल्याउने समझदारी भएकोमा पहिलो चरणमा ३० हजार टन ल्याउन लागिएको हो ।
अलैंची व्यवसायी संघ ताप्लेजुङ जिल्ला अध्यक्षमा रेग्मी
नेपाल अलैंची व्यवसायी संघ ताप्लेजुङको अध्यक्षमा भद्रवीर रेग्मी चयन हुनुभएको छ।
म्याग्दीमा धमाधम निर्माण हुँदै तुण्डी पावरका जलविद्युत आयोजना
म्याग्दीको रघुगंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै बग्ने राहु घाट नदीमा निर्माणाधीन दुई जलविद्युत आयोजनाको निर्माण तीव्र पारिएको छ ।
चर्चा धेरै, निर्यात न्यून
तीन वर्षपछि पुस १० गते आइतबारदेखि केरुङ नाकाबाट निर्यात खुला भयो । नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दै आए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले उत्तरतर्फका सबै नाका बन्द गरेको थियो । यसबीचमा आक्कलझुक्कल चीनबाट हुने आयात खुला भए पनि निर्यात भने तीन वर्ष पूर्ण रूपमै बन्द रह्यो ।
अब सातै प्रदेशबाट श्रम स्वीकृति
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै दिँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशबाट दिने तयारी गरेको छ । प्रदेश १ र मधेश प्रदेशबाट मात्रै श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुस २४ गते आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिने भएको हो । यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएकोमा आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि दिने तयारी भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।