• १३ असोज २०८१, आइतबार

नेपाल प्रहरी र ग्लोबल आईएमई बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारी

blog

नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र ग्लोबल आईएमई बैङ्कको तर्फबाट बैङ्कका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेलद्वारा समझदारीपत्रमा हस्ताक्षर । तस्बिर : नेपाल प्रहरी

काठमाडौं, फागुन ५ गते । नेपाल प्रहरी र ग्लोबल आईएमई बैङ्क लिमिटेडबीच ‘नेपाल प्रहरी–ग्लोबल आईएमई बैङ्क छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र ग्लोबल आईएमई बैङ्कको तर्फबाट बैङ्कका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।


सो अवसरमा ग्लोबल आईएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपियाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गर्नुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौताको लागि ग्लोबल आईएमई बैङ्कलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास व्यक्त गर्नुभयो ।


यसैगरी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपाल प्रहरीले आम नागरिकलाई सेवा प्रदान गर्न पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टि प्राप्त भएको बताउनुभयो ।

सम्झौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर÷शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततिहरूलाई कम्तीमा दुई जना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ ।

त्यस्तै, छात्रवृत्ति प्रदान गर्नका लागि कम्तीमा २५ लाख रुपियाँ बैङ्कले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी–ग्लोबल आईएमई बैङ्क छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।


आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतिमा समस्या समाधान गरिने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, ग्लोबल आईएमई बैङ्क लिमिटेडका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।