• १३ साउन २०८१, आइतबार

मन्त्री भण्डारीको एक महिने कार्यप्रगति सार्वजनिक

blog

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी ।

काठमाडौं, फागुन ४ गते । नेपालका २५ कम्पनीहरूलाई १० हजार ६ सय ३६ मेट्रिक टन चिनी आयात गर्न पहल सुरु भएको उद्योगमन्त्री दामोदर भण्डारीले बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा कार्यप्रगति सार्वजनिक गर्दै चिनी आयात गर्न पहल सुरु भएको बताउनुभयो । 

जस अन्तर्गत आन्तरिक वितरणको व्यवस्था गर्नेगरी साल्ट ट्रेनिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई सहमति दिइएको छ । सरकारसँग स्टक चिनी नरहेको र बजारमा चिनीको मूल्य बढिरहेको बेला सरकारले मूल्य स्थिर बनाउनका लागि चिनी खरिद गर्नुपरेको उहाँको भनाइ छ । प्रगति विवरण सार्वजनिक गर्दै आफूले मन्त्रालय सम्हालेदेखि हालसम्म तीन देशका राजदूतलाई भेटेको बताउनुभयो । 

भेटका क्रममा केही महत्त्वपूर्ण विषयहरूमा छलफल भएको उहाँको भनाइ छ ।  माघ ६ गते मन्त्री भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच मन्त्रालयमै शिष्टाचार भेटवार्ता भएको थियो । भेटमा दुई मुलुकको सीमा क्षेत्रमा रहेका निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सुख्खा बन्दरगाहका विषयमा राजदूत श्रीवास्तवको ध्यानाकर्षण गराउनुभएको थियो । 

कञ्चनपूरस्थित दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने प्रक्रिया अगाडी बढाइएकोमा मन्त्री भण्डारीले भारतीय राजदूत नवीन श्रीवास्तवसंग दुई पक्षीय सहमतिका लागि छलफल गर्नुभएको छ भने, प्रधानमन्त्री प्रचण्ड र मन्त्री भण्डारी सम्बन्धित क्षेत्रमा पुगेर ३ वर्ष भित्र बन्दरगाहको काम सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् । 

यो सँगै कोभिड–१९ रोगका कारण समयमै निर्माण हुन नसकेको रसुवा स्थित टिमुरे सुख्खा बन्दरगाहका लागि पुनः निर्माण सम्झौता भएको छ । धौवादी फलाम उद्योग लगायत अन्य तीन वटा सिमेन्ट उद्योग सम्म पुग्ने पहुँच मार्गको लागि नौ करोड ६७ लाख रकमान्तर गरी निकासा समेत गरिएको छ । 

मन्त्रालय अन्तरगत २० ओटा औद्योगिक ग्रामका लागि थप रकम निकासा भएको छ । साथै भेटका क्रममा दुई देशबीचको आयात निर्यातलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको हो । माघ १७ गते मन्त्री भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको थियो । भेटमा नेपाली वस्तु चीन निर्यात र सञ्चालनमा रहेका नाकामा आयात सहज गर्नुपर्ने विषयमा छलफल भयो ।

भेटका क्रममा राजदूत सोङलाई ताक्लाकोट, किङ्करलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराइएको समेत मन्त्री भण्डारीले जानकारी दिनुभयो । राजदूत सोङले  उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको मन्त्री भण्डारीलाई जानकारी गराए । दुई देशबीचको व्यापार सम्बन्ध अझ मजबुत बनाउन भूमिका खेल्ने राजदूत सोङको भनाई थियो ।

२५ माघमा मन्त्री भण्डारी र कोरियन राजदूत पार्क चोङ् सुकबीच भेटवार्ता भएको थियो । भेटमा राजदूत सुकलाई सुदूरपश्चिममा पोलिटेक्निकल स्कुल, अस्पताल तथा विद्यालय भवन निर्माणमा सहयोग गर्न आग्रह गरेको उहाँको भनाइ छ ।