आयुर्वेदिक औषधी कम्पनीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनिवार्य
अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पूरा गर्नुपर्ने भएको छ । हाल नेपालमा सञ्चालित आयुर्वेदिक औषधी कम्पनीहरूले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्न सकेका छैनन् । नेपालमा ८० वटा आयुर्वेदिक औषधी उद्योग दर्ता भए पनि ५५ वटा कम्पनी सञ्चालनमा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जिएमपी) लागु भएपछि जडीबुटीजन्य तथा परम्परागत औषधीजन्य उद्योगले समेत अनिवार्य जिएमपी लागु गर्नैपर्ने छ ।
कर्पोरेसनले बढायो चिनीको कोटा
साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको बुुधबारदेखि ‘कोटा’ बढाएको छ । कर्पोरेसनले गएको मङ्गलबारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोरा दिँदै आएकामा बढाएर २० बोरासम्म पु¥याएको हो । बोरामा ५० केजी चिनी हुन्छ ।
दाङका किसानले पाएनन् धानको समर्थन मूल्य
दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबिच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिद बिक्री भइरहेको छ ।
भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले २६ लाख दिने
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले २६ लाख रकम सहयोग गर्ने निर्णय गरेको हो ।
दुई महिनामा पच्चिस सय मेट्रिक टन केरा आयात
सरकारले निर्यातलाई प्रोत्साहन गर्ने र आयातलाई विस्थापित गर्ने नीति बनाएर काम गरिरहेको छ तर यहाँस्थित नेपाल–भारत नाकाबाट निर्यात कम र आयात बढी हुँदै आएको छ । सो क्रममा चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा मात्रै यो नाकाबाट दुई हजार २६६ मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
गुणस्तरहीन फूलको अवैध आयात रोक्न पहल
कृषि विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्रले अस्वस्थ एवं गुणस्तरहीन फूलको अवैध आयात रोक्न देशभरका प्लान्ट क्वारेन्टाइन कार्यालयलाई पत्राचार गरेको छ । केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभर सञ्चालित प्लान्ट क्वारेन्टाइनका १४ वटा कार्यालयलाई फूलको गुणस्तर परीक्षणका लागि पत्राचार गरेको हो । केन्द्रले बिरुवा संरक्षण ऐन २०६४ र नियमावली २०६६ अनुसार देशबाहिरबाट आउने वनस्पतिजन्य वस्तुमा रोग, किराको परीक्षण गर्ने गरेको छ ।
तिहारले बढायो सुनचाँदीको कारोबार
तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विगतका वर्षजत्तिको व्यापार बढ्न नसके पनि अन्य समयको तुलनामा दुई/तीन दिनअघिदेखि सुनको कारोबार बढ्दै गएको जानकारी दिनुभयो ।
आरोहणका लागि एक हजारले लिए अनुमति
शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार १८५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार कात्तिक २२ गते सम्ममा स्वदेशी तथा विदेशी गरी ९४८ जना पुरुष र २३७ जना महिलाले आरोहण अनुमति लिएका हुन् । विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी आमादब्लम आरोहणका लागि अनुमति लिने रहेका छन् । उहाँले भन्नुभयो, “आमादब्लम आरोहणका लागि ३३९ जना पुरुष र ७० जना महिला गरी ४०१ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७२ देशका आरोहीले विभिन्न ४९ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।” त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमतिबाट छ करोड ९१ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।
राहत कोषमा करिब छ करोड जम्मा
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म पाँच करोड ९५ लाख रुपियाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको भूकम्पका पीडितका लागि राहत सहयोग र पुनस्र्थापनाका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि उक्त रकम जम्मा भएको हो । यो रकम आइतबारदेखि बुधबारसम्मको हो ।