• १४ मंसिर २०८१, शुक्रबार

सुन्तला प्रवर्धनका लागि डोको उपहार

blog

वालिङ समाचारदाता

वालिङ, मङ्सिर १८ गते । स्याङ्जाको सुन्तला लोकप्रिय रहेको छ । रसिलो र स्वादिलो सुन्तलाकै कारण जिल्लाको सुन्तला प्रसिद्ध भएको हो । स्याङ्जामा प्रशस्त उत्पादन हुने सुन्तलाको बजारीकरणका लागि पालिकाहरूले विभिन्न रणनीति अपनाउँदै आएका छन् । 

जिल्लाको चापाकोट नगरपालिकाबाहेक सबै पालिकामा सुन्तलाको राम्रो उत्पादन हुने गरेको छ । 

पछिल्लो समय स्याङ्जाको पुतलीबजार नगरपालिकाले सुन्तलाको बजारीकरण र प्रवर्धनका लागि भ्रमणमा आउनेलाई सुन्तलाको डोको उपहार दिने गरेको छ । यस्तै पालिकाका तर्फबाट अवलोकन भ्रमणमा जाँदा पनि यसलाई निरन्तरता दिएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।

पछिल्लो समय सुन्तला खेती गर्नेको सङ्ख्या बढिरहेको भन्दै अर्यालले पालिकाले यसलाई विशेष क्षेत्रका रूपमा राखेर काम गर्नुपर्ने बताउनुभयो । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशत कम हुने देखिएको कृषि क्षेत्रका सङ्घ संस्थाले बताएका छन् । जिल्लाभर दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । त्यसमध्ये एक हजार तीन सय हेक्टरमा उत्पादनशील बगैँचा छन् भने तीन हजार पाँच सय जना व्यावसायिक किसान जिल्लामा रहेका छन् । जिल्लाभर १२ हजार धरधुरी सुन्तला किसानका तीन हजारभन्दा बढी साना ठुला सुन्तलाका बगैँचा छन् । 

स्याङ्जाका छ/सात वडाबाहेक जिल्लाभर सुन्तला खेती राम्रो हुन्छ । पुतलीबजार, भिरकोट, वालिङ नगरपालिका र अर्जुन गाउँपालिकाका १७ वटा वडालाई समेटेर सुन्तला सुपर जोन परियोजना कार्यान्वयनमा छ ।