तिलाचन पाण्डे
तम्घास, मङ्सिर १८ गते । गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष छ हजार ९३८.४ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष छ हजार ५७२.४ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
गत वर्ष २९ करोड ३७ लाख दुई हजार ४७२ रुपियाँ बराबरको सुन्तला उत्पादन भएको थियो भने यस वर्ष २३ करोड ७८ लाख ५५ हजार १५६ रुपियाँ बराबरको सुन्तला उत्पादन भएको बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।
गत वर्ष जिल्लाबाट १३ करोड २१ लाख रुपियाँ बराबरको सुन्तला जिल्लाबाहिर निर्यात भएको थियो भने यस वर्ष १२ करोड ८४ लाख रुपियाँ बराबरको सुन्तला निर्यात हुने अनुमान गरिएको छ । यस वर्ष सरदर सुन्तलाको मूल्य प्रतिकिलो ४८ रुपियाँ कायम गरिएको उहाँले जानकारी गराउनुभयो ।
यस वर्ष उत्पादन घट्नुमा गत वर्ष बढी उत्पादन हुनु, फल पातलो लाग्नु, फलका दाना साना हुनु रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । जिल्लामा फल दिने नदिने गरी कुल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय सुन्तला बिरुवा छन् । जसको ६०.६ प्रतिशत अर्थात् दुई लाख ४९ हजार दुई बोटले उत्पादन दिएका छन् ।