• १२ साउन २०८१, शनिबार

निर्माण व्यवसायीको भुक्तानी गरिने प्रतिबद्धता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १७ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीको बाँकी भुक्तानी जुनसुकै विकल्पबाट भए पनि दिइने प्रतिबद्धता जनाउनुभएको छ । व्यवसायीले निर्माण सम्पन्न भएको आयोजनाको विगत दुई वर्षदेखि भुक्तानी पाएका छैनन् । 

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १४ औँ वार्षिक साधारण सभाको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा मन्त्री ज्वालाले गत आर्थिक वर्षको बाँकी भुक्तानी दिएर अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री ज्वालाले अर्थतन्त्र सङ्कटमा रहेको तर भयावह अवस्था नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “भुक्तानीका विषयमा हामी आफैँ भुक्तमान बेहोरिरहेका छौँ । हामीले पनि त्यहाँ माग्नुपर्ने र लडिरहनुपर्ने अवस्था छ । अघिल्लो आर्थिक वर्षको रकम जुनसुकै अवस्थामा भुक्तानी दिनु पर्छ । अर्थतन्त्र चलायमान हुन्छ ।”

नेपाल निर्माण व्यवसायी महासङ्घले विगत दुई वर्षदेखि बाँकी भुक्तानी दिन माग गरिरहेको छ । भुक्तानी नपाउँदा निर्माण व्यवसायी पलायनको अवस्था पुगेको भन्दै भुक्तानीको माग गरिहेको छ । महासङ्घका अनुसार गत असारमा बिल काटेको चार अर्ब रुपियाँको भुक्तानी बाँकी छ ।  त्यस्तै काम सम्पन्न भएको तर म्याद थप नभएर बिल काट्न बाँकी रकम ४० अर्ब रुपियाँ रहेको महासङ्घका अध्यक्ष रवि सिंहले गोरखापत्रसँगको कुराकानीमा जानकारी गराउनुभयो । सरकारले आव २०७९/८० को बाँकी रकम २०८०/८१ को बजेटबाट तीन अर्ब ५० करोड रुपियाँ भुक्तानी दिइसकेको छ । अध्यक्ष सिंहले भन्नुभयो, “बाँकी पैसा तिर्ने समस्यासँगै अब काम अगाडि बढाउने कि नबढाउने भन्ने अन्योल छ । २०७९/८० को बाँकी रकम २०८०/८१ को बजेटबाट भुक्तानी भएपछि अब काम कसरी अगाडि बढ्छ हामी अन्योलमा छौँ ।”