पोखरा, कात्तिक २ गते । कुनै पनि खेलको फाइनलमा कहिल्यै यकिनका साथ पूर्वानुमान लगाउन सकिँदैन। फाइनलमा पुग्ने दुवै टिम तथा खेलाडी लामो यात्रा पन्छाउँदै अन्तिम भिडन्तमा पुगेका हुन्छन्। नेपाली टेबल टेनिसको महिला एकल फाइनलको कुरा गर्ने हो भने मज्जाले पक्का विजेताको अनुमान गर्न सकिन्छ। कारण हो, विगत १२ वर्षदेखि नविता श्रेष्ठको घरेलु टेबल टेनिसमा एक छत्र राज छ। यसबीच नविताले अहिलेसम्म आफूले खेलेका कुनै पनि घरेलु प्रतियोगितामा उपाधि गुमाउनुभएको छैन। नविताको राष्ट्रिय च्याम्पियन बन्ने चाहना २०६७ सालमा पूरा भयो। राष्ट्रिय च्याम्पियन्सीपमा सहभागिता जनाएको तेस्रो संस्करणमा नविता च्याम्पियन हुनुभयो। त्यसपछि त उहाँबाट च्याम्पियनको ट्याग अहिलेसम्म कसैले खोस्न सकेको छैन।नवौँ राष्ट्रिय खेलकुदमा पनि नविताले महिला एकलमा एलिना महर्जनलाई ८-११, ६-११, १४-१२, ८-११, ९-११, ११-६, १५-१३ ले हराएर स्वर्ण पदक जित्नुभयो। नविता नवौँ पटक राष्ट्रिय च्याम्पियन बन्नुभएको हो। राष्ट्रिय खेलकुदमा मात्र नविता छैटौँ संस्करणदेखि च्याम्पियन हुनुहुन्छ। नविताका अनुसार यसबीच उहाँले कुनै पनि प्रमुख प्रतियोगिताको फाइनल हार्नुभएको छैन।फाइनलमा हार्ने नन्दफाइनलमा हार्ने एलिना नविताको आफ्नै नन्द हुनुहुन्छ। यद्यपि दुवैसँग एकअर्काबीच खेल हुँदा सो सम्बन्धको कुनै मतलब हुँदै छ। दुवै एकअर्कालाई प्रतिद्वन्द्वीको रूपमा मात्र हेर्छन्। त्यसैले प्रशिक्षक राकेश महर्जन यी दुई बीचको खेल हुँदा बाहिर नै रहनुहुन्छ। राकेश नविताका श्रीमान् र एलिनाका दाइ हुनुहुन्छ। ‘जित्ने खुसी त हुन्छन् नै तर हार्नेको पीडा म हेर्न सक्दिन। त्यसैले यी दुईबीच महत्त्वपूर्ण खेल हुँदा म हलबाहिर नै हुन्छु’, प्रशिक्षक राकेश भन्नुहुन्छ।नविताले राष्ट्रिय खेलकुदका पछिल्ला दुई संस्करणमा पनि एलिनालाई नै फाइनलमा हराएर स्वर्ण पदक दिलाउनुभएको हो। यसपटक एलिना नविताको वर्चस्व तोड्नुको निकै नजिक पुग्नुभएको थियो। तर, नविताको अनुभव र उहाँको जितको भोकले एलिनालाई लगातार तेस्रो पटक राष्ट्रिय च्याम्पियन बन्नबाट रोक्यो। एलिना आज म्याच अड्कसम्म पुगेर पनि निराश बन्नुपर्यो र नेपाली टेबल टेनिसले नयाँ महिला च्याम्पियन पाउन सकेन। ‘महत्त्वपूर्ण समयमा मेरो रणनीति गलत भयो। दुई सेटको अग्रता लिएर र म्याच अड्क पाउँदा पनि जित्न सकिन्न, त्यसमा निराश बनेको छु’, एलिना भन्नुहुन्छ।प्रतिकुल परिस्थितिबीच सफललतानविता भने आफ्नो जितप्रतिको भोक आफ्नो सबभन्दा ठूलो शक्ति भएको भन्नुहुन्छ। नवितालाई यसपालि प्रतिकुल परिस्थिति थियो। पछिल्ला दुई वर्ष उहाँले खासै प्रतियोगिता पनि खेल्नुभएको छैन। २१ महिनाअघि आमा बनेपछि उहाँले धेरै प्रतियोगिता गुमाउनुभयो। त्यसैले पनि विगतमा भन्दा तयारी कमै थियो । पोखरा आउँदा ज्वरो थियो। त्यसैले होला पूर्णरुपमा दुरुस्त नहुँदा टिम इभेन्टमा पहिलो दिन मांसपेशीमा खिचाव उत्पन्न भयो, दोस्रो दिन उहाँलाई खेल्दा मुभ बनाउन पनि कठिन भइरहेको थियो। उहाँ भन्नुहुन्छ, ‘यसपालिको राष्ट्रिय खेलकुदमा बिसर्नलायक हुने डर थियो। म तनावमा थिएँ। अन्य विधामा दुई स्वर्ण पदकको अवसर गुमाइ सकेकी थिएँ। तर, फिजियोले गर्दा रिकभर भएर यहाँसम्म आएँ।’ खेलाडी जीवन टुङ्ग्याउने सङ्केत३० वर्षीया नविताले अब अझै केही वर्ष खेलाडी जीवन अगाडि बढाउने भनाइ राख्नुभयो। यद्यपि उहाँ देशले आफूलाई प्रशिक्षकको जिम्मेवारी दिएमा चाँडै नै खेल जीवन टुङ्ग्याउने सङ्केत पनि गर्नुभएको छ। ‘मेरो भविष्यको लक्ष्य नै टेबल टेनिस खेलाडी उत्पादन हो। देशले प्रशिक्षकको भूमिकामा विश्वास गरेमा खेलाडी जीवन लम्बिँदैन होला’, उहाँले भन्नुभयो।स्यान्टुद्वारा उपाधि रक्षानवौँ राष्ट्रिय खेलकुदमा बुधबार पुरुष एकलमा स्वर्ण पदक जित्ने स्यान्टु श्रेष्ठ पनि नविताकै शिष्य हुनुहुन्छ। नेपालका नम्बर एक पुरुष टेबल टेनिस खेलाडी श्यान्टुले फाइनलमा स्यान्टुले एपीएफका युवा खेलाडी रुविन महर्जनलाई ११-८, ११-७, ११-९, ६-११, ११-६ ले हराउनुभयो। नविता र स्यान्टु दुवैले नेपाल प्रहरीको प्रतिनिधित्व गर्नुभएको हो। श्यान्टु यस वर्ष अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुग्नुभएको थियो। उहाँ राष्ट्रिय खेलकुदका लागि नेपाल फर्कनुभएको हो।‘रुवेन जुनियर खेलाडी हो। रुवेनको यसपटक शानदाय यात्रा रह्यो। उनी लामो रेसका घोडा हुन्’, उहाँले भन्नुभयो। उहाँले अस्ट्रेलियामा पनि अभ्यास गरिरहेकोले उपाधि जित्न सफल भएको उहाँको भनाइ छ। पुरुष एकलमा नेपाल प्रहरीका प्रदीप रोका र एपीएफका संयोग कपाली तथा महिला एकलमा एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कांस्य पदक प्राप्त गर्नुभयो।प्रहरी टिम च्याम्पियननवौँ राष्ट्रिय खेलुकद अन्तर्गत टेबल टेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ। नेपाल प्रहरीले कूल ६ स्वर्ण, २ रजत र ४ कांस्य पदक हात पार्यो। एपीएफ १ स्वर्ण, ४ रजत र १ कांस्य पदकसहित दोस्रो भयो। यसैगरी बागमती प्रदेश १ रजत र २ कांस्यसहित तेस्रो भयो। प्रतियोगितामा आर्मीले २ कांस्य, एनआरएनएले २ कांस्य, प्रदेश १ ले २ कांस्य र गण्डकी प्रदेशले १ कांस्य पदक हात पारे।
साढे चार वर्षपछि नेपालका हजारौँ खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा भेला भएका छन् । यो प्रतियोगिता नवौँ संस्करण हो । यसको उद्घाटन हिजो शुक्रबार भइसकेको छ । नेपाली खेलकुदका लागि यो प्रतियोगिता सबभन्दा ठूलो मेला हो । यो मेला प्रत्येक दुई वर्षमा आयोजना हुने नियम छ । तर पटक पटक सारिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि साइत बल्ल जुरेको छ । जे होस् ३९ वर्षपछि फेरि पोखरामा दोस्रो पटक घरेलु खेलकुदको सबभन्दा ठूलो मेला भइरहेको छ । यसअघि २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद आयोजना भएको थियो । यसपालि राष्ट्रिय खेलकुदको बजेट ६० करोड रुपियाँ छुट्याइएको छ । अझ प्रदेश सरकारको पनि लगानी जोड्ने हो भने यस प्रतियोगिताको लागत अझ बढी हुन आउँछ ।