• २७ वैशाख २०८१, बिहिबार

यात्रा एसिया कप : प्रतिस्पर्धा भारत र पाकिस्तानसँग

blog

काठमाडौँ, वैशाख २० गते । नेपाली क्रिकेटले अर्को ठूलो फड्को पार गरेको छ। एसीसी प्रिमियर कपको उपाधि मङ्गलबार जितेपछि नेपाल एसिया कपका लागि चयन भएको छ। यससँगै आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा अब नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

एसीसी प्रिमियर कपको विजेता एसिया कपमा भारत र पाकिस्तानको समूहमा पर्नेछ। त्यसैअनुसार नेपालसमक्ष पहिलो पटक विश्वका दुई क्रिकेट महाशक्ति राष्ट्र भारत र पाकिस्तानको टिमसँग खेल्ने अवसर मिलेको हो। 

एसिया कप भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश जस्ता सशक्त टोलीसँग खेल्ने नेपाली क्रिकेटको वर्षौंदेखिको सपना हो। त्यसैले पनि यस उपलब्धिलाई निकै ठूलो मानिएको छ। एसिया कपको समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन्। त्यसो त नेपाल दुई दशकअघि पनि एसिया कपमा छनोट भएको थियो। सन् २००२ मा सिङ्गापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाएपछि नेपाल एसिया कपमा खेल्न योग्य बनेको थियो तर भारत र पाकिस्तानको राजनीतिक द्वन्द्वले गर्दा सो वर्ष एसिया कप रद्द भयो। त्यस बेला नेपाल चयन भएर पनि एसिया कपमा खेल्नबाट वञ्चित भएको थियो। त्यसपछि नेपाल पहिलो पटक एसिया कपमा चयन भएको हो।

नेपालका कप्तान रोहित पौडेलले भन्नुभयो, “एसिया कप नेपालका लागि ठूलो प्रतियोगिता हो। भारत र पाकिस्तानविरुद्ध खेल्नु ठूलो अवसर हो। भारत र पाकिस्तानसँगको खेल विश्वले नै हेर्ने भएकाले विश्वले नेपाली क्रिकेटबारे थाहा पाउनेछ।” त्यहाँ राम्रो गरेमा विश्वका फ्रेन्चाई लिगहरूमा पनि नेपाली खेलाडीका लागि अवसर मिल्न सक्ने कप्तान रोहितको विश्वास छ। 

नेपालका प्रशिक्षक मोन्टी देसाईले भारत, पाकिस्तान र नेपाल एसिया कपमा एउटै समूहमा रहने भएकाले आफूलाई निकै खुसी लागेको र नेपालले एसिया कपमा राम्रो गरेर ठूलो सन्देश दिने विचार व्यक्त गर्नुभयो।

पछिल्लो एक महिना नेपाली क्रिकेटका लागि ‘ड्रिम रन’ भइरहेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु, विश्वकप ग्लोबल छनोटमा चयन हुनु र एसिया कपमा खेल्न योग्य हुनु चानचुने कुरा होइन। गत महिना नेपालले पछिल्ला १२ मध्ये ११ खेल जितेर चमत्कार गर्दै एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकपको ग्लोबल छनोटमा पनि स्थान बनाएको थियो। 

नेपालले एसिया कप खेल्नुअघि जुन/जुलाईमा जिम्बाब्बेमा हुने विश्वकप छनोट खेल खेल्नेछ। जुन प्रतियोगितामा नेपालले दस उत्कृष्ट क्रिकेट राष्ट्रका टिमसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप छनोटमा वेस्टइन्डिज, श्रीलङ्का जस्ता टिम पनि हुनेछन्। जिम्बाब्बे, आयरल्यान्ड र नेदरल्यान्ड्सजस्ता टिम पनि सो प्रतियोगितामा छन्। नेपालले सो प्रतियोगितामा पनि शीर्ष दुईमा रहेर भारतमा हुने एकदिवसीय विश्वकपमा खेल्ने प्रयास गर्नेछ। नेपालको शानदार लयले ग्लोबल छनोटमा कुनै टिमले नेपाललाई कम नआँक्ने पक्का छ। यसैगरी एसीसी प्रिमियर कपबाट यूएई र ओमानसमेत नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न योग्य भएका छन्। 

प्रधानमन्त्री र राष्ट्रपतिको बधाई

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ। राष्ट्रपति पौडेलले उत्कृष्ट खेल खेलेर जितेकोमा बधाई दिँदै भविष्यका खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेर नेपाल र नेपालीको नाम राख्ने विश्वास व्यक्त गर्नुभएको छ। 

यसैगरी प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का खेलाडीलाई हौसला बढाउन खेल मैदानमा पुग्नुभएको थियो।