• ५ मंसिर २०८१, बुधबार

नेपाली क्रिकेटमा चमत्कार

blog

अपेक्षा गरेको बेला प्राप्त सफलताभन्दा नगरेको बेला प्राप्त सफलताले अपार खुसी दिने रहेछ । यस्तै खुसी अहिले नेपाली क्रिकेटले दिएको छ । करिब चार वर्षअघि नेपाल आईसीसी विश्वकप क्रिकेट लिग–२ मार्फत विश्वकप छनोटको ग्लोबल चयनमा पुग्ने र एकदिवसीय मान्यता जोगाउने अभियानमा निस्केको थियो । यस अवधिमा लिग–२ मा सहभागी सात राष्ट्रले होम र अवे गरी कुल ३६–३६ खेल खेल्नुपथ्र्यो । त्यसपछि शीर्ष पाँचमा रहन सके एकदिवसीय मान्यताप्राप्त हुने र शीर्ष तीनमा स्थान बनाउने सके विश्वकप छनोटमा स्वतः चयन हुने प्रावधान रहेको थियो, जुन अभियानमा नेपालको सुरुवात कमजोर रह्यो । 

करिब साढे तीन वर्षको अवधिमा नेपालले २४ खेल खेल्दा मात्र आठमा जित हात पारेको थियो । नेपाल सुरुदेखि नै पुछारबाट दोस्रो स्थान माथि उक्लन सकेको थिएन । नेपाल राष्ट्रिय क्रिकेट टिमको प्रदर्शन ओरालोतर्फ त थियो नै, नेपाली घरेलु क्रिकेटको चर्चा विश्वमा नकारात्मक रूपमा भयो । तत्कालीन कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कारको आरोपमा पक्राउ पर्नुभयो । केही समयपछि नेपाली राष्ट्रिय क्रिकेटर स्पट फिक्सिङ आरोपमा पक्राउ परे । यसरी नेपाली क्रिकेटको मैदानभित्र र बाहिर दुवैको हाल बेहाल भयो । 

यस्तो अवस्थामा शीर्ष पाँचमा रहेर आफ्नो एकदिवसीय मान्यता जोगाउनेमा नै शङ्का थियो । नेपालले शीर्ष तीनमा स्थान बनाएर विश्वकप छनोटमा स्वतः चयन हुने कुरा त झन् अकल्पनीय नै हुने भयो । नेपालले एकदिवसीय मान्यता जोगाउन बाँकी १२ मध्ये नौ र शीर्ष तीनमा रहन ११ खेल जित्नुपर्ने समीकरण बनेको थियो । कमजोर प्रदर्शन गरिरहेको नेपाली क्रिकेटबाट डेढ महिनामा यो समीकरण उल्ट्याएर कायापलट हुन्छ भन्ने विश्वास सपनामा पनि गर्न सकिँदैनथ्यो । 

यसबीच दुई महिनाअघि नेपाली क्रिकेट टिमका प्रशिक्षकमा भारतीय मोन्टी देसाई नियुक्त हुनुभयो । नेपाली क्रिकेट टिमका पछिल्ला चार विदेशी प्रशिक्षक उमेश पटवाल (भारत), डेभ ह्वाटमोर (अस्ट्रेलिया), पुबुद दसनायके (श्रीलङ्का) र मनोज प्रभाकरं (भारत)ले आआफ्नो कार्यकाल नै पूरा नहुँदै राजीनामा दिनुभएको थियो; जसले गर्दा नेपाली क्रिकेट टिम भद्रगोलको स्थितिमा थियो । यस्तोमा मोन्टीबाट नेपाली क्रिकेट समर्थकलाई खासै उत्साह थिएन तर प्रशिक्षक देसाई उद्धारकर्ता बनेर प्रस्तुत हुनुभयो । देसाईले नेपाली क्रिकेट टिममा जादु भरिदिनुभयो । 

उहाँको प्रशिक्षकत्वमा नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा पनि स्वतः चयन भयो, जुन विश्व क्रिकेटमा नै एक चमत्कारका रूपमा लिइएको छ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले पनि हरेक खेलमा प्राप्त जितसँगै प्रशिक्षक देसाईलाई त्यसको श्रेय दिनुभएको छ । दुई महिनामा नै मोन्टी एघार खेल जिताएर नेपालका सर्वाधिक सफल एकदिवसीय प्रशिक्षक बन्नुभयो । यसअघि नेपालका कुनै पनि प्रशिक्षकले चारभन्दा बढी खेल जिताएको इतिहास छैन ।

सफलताको सूत्र प्रशिक्षक मोन्टीका दुई मूलमन्त्र ‘ह्यापी ड्रेसिङ रुम’ र ‘वन बल ब्याटल’ पनि थिए । ह्यापी ड्रेसिङ रुम अर्थात् एकअर्काको सफलतामा खुसी हुनु र एकजुट हुनु । वन बल ब्याटल भनेर उहाँले हरेक खेलमा फाल्ने र सामना गर्ने हरेक बललाई एक युद्धका रूपमा लिन खेलाडीलाई आग्रह गर्नुभएको थियो । प्रशिक्षकको विश्वास, भरोसालाई खेलाडीले पनि कायम राखे । लिग–२ सकिँदा नेपालले ३६ खेलमा १९ जित र १५ हारसहित ४० अङ्क बनाएर शीर्ष तीनसम्मको अविश्वसनीय यात्रा तय गरिसकेको थियो ।

प्रशिक्षक मोन्टी विशेषतः ब्याटिङ प्रशिक्षक हुनुहुन्छ । नेपालका लागि यही नै वरदान साबित भयो । नेपाली क्रिकेटमा बलिङ सधँै विश्वस्तरीय भए पनि कमजोरीका रूपमा ब्याटिङ रहिआएको छ । मोन्टीले नेपालको ब्याटिङलाई फरक बनाइदिनुभयो । उहाँले नेपाली ब्याट्सम्यानमा रन बनाउन सक्छु भन्ने विश्वास दिलाउनुभयो, जसले गर्दा नेपाली टिमले प्रायःजसो खेलमा राम्रो स्कोर तयार पार्नुभयो । फरकफरक खेलाडी सङ्कटको समयमा नेपाली टिमको उद्धारकर्ताका रूपमा प्रस्तुत भए । कप्तान रोहित पनि केही प्रेरणादायी पालि खेलेर आफ्नो टिमका लागि उदाहरण बन्नुभयो । 

विशेषतः टिममा पुनरागमन जनाएका लेग स्पिनर सन्दीप लामिछानेले विशेष प्रदर्शन गर्नुभयो । उहाँले हरेक खेलमा आफूलाई साबित गर्नुभयो । अर्का स्पिनर ललितनारायण राजवंशीसँग सन्दीपको स्पिन जोडी विपक्षी टिमका लागि घातक साबित भयो । सोमपाल कामी, करण केसी मात्र होइन, विगतमा पार्टटाइम बलरका रूपमा प्रयोग गरिने दीपेन्द्रसिंह ऐरीको बलिङले पनि कमाल ग¥यो । ब्याटिङमा पनि कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेखको प्रदर्शन समग्रमा प्रशंसनीय रह्यो । प्रशिक्षक मोन्टीको आगमनसँगै नेपाली क्रिकेटरको डगमगाएको मनोबल पुनः फर्केको छ भन्दा फरक पर्दैन ।

त्यसैले त नेपालले पहिलो पटक चार खेलमा चारवटै जित हात पा-यो । अझ यो शृङ्खलामा च्याम्पियन स्कटल्यान्ड र नामिबिया थिए । अर्को हप्ता युएईमा भएको त्रिदेशीय शृङ्खलामा पनि नेपालले चारमध्ये तीन खेल जित्यो । आठमध्ये सात खेल जितेपछि अब घरेलु मैदानमा हुने अन्तिम शृङ्खलामा चारमध्ये सबै खेल जितेर शीर्ष तीनमा नेपाल अटाउँछ भन्ने विश्वास, भरोसा सबैलाई भइसकेको थियो । नेपाली क्रिकेटरले पनि यो विश्वासलाई कायम राख्दै अन्तिम शृङ्खलामा पनि शतप्रतिशत जितको नतिजा निकाल्यो । त्यसपछि त नेपालको चर्चा विश्व क्रिकेटमा नै भयो ।

अब आगामी जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा नेपाल खेल्नेछ, जुन प्रतियोगितामा नेपालले अहिलेसम्मकै सबभन्दा उच्च दस टिमसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटमा वेस्टइन्डिज, श्रीलङ्का र दक्षिण अफ्रिकामध्ये दुई टिम पनि हुनेछन् । अन्य टिममा जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्स रहेका छन् । यसबाहेक यसै महिना नामिबियामा छ राष्ट्रबीच हुने प्लेअफमा शीर्ष दुई स्थान रहने टिमहरू पनि विश्वकप ग्लोबल छनोट खेल्न योग्य हुनेछन् । यस विश्वकप छनोटबाट दुई टिम भारतमा हुने एकदिवसीय विश्वकपमा खेल्न चयन हुने प्रावधान रहेको छ ।

अब नेपाली क्रिकेटले दिएको अर्को खुसीबारे चर्चा गरौँ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएर आफूलाई पुनः विश्वको एक उत्कृष्ट टिम साबित गरेको छ । विश्व क्रिकेटमा एकदिवसीय मान्यता पाउनु चानचुने कुरा होइन । एकदिवसीय पाउने विश्व क्रिकेटको एक उत्कृष्ट टिम हो भन्ने सन्देश दिन्छ किनभने एकदिवसीय मान्यता पाएको टिम एकदिवसीय बरीयतामा पनि पर्दछ । त्यसैले यसबाट मिलेको प्रतिष्ठा, राम्रो छवि त छँदै छ । अन्य फाइदा पनि छन् । 

आईसीसी एकदिवसीय मान्यता पाउने राष्ट्रलाई वार्षिक करोडौँको बजेट छुट्याइन्छ । नेपालजस्तो राष्ट्रका लागि जुन निकै आवश्यक छ । सो रकमले नेपालको क्रिकेट विकासका लागि अत्यावश्यक स्तरीय प्रशिक्षक, अभ्यास, भ्रमण, खेलाडीको भत्ता, नियमित प्रशिक्षणजस्ता कार्य सहज हुनेछ । अब नेपालका लागि थप चार वर्ष अन्तर्राष्ट्रिय एक्सपोजर पनि बढ्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेट खेल्ने राष्ट्रलाई वर्गीकरणमा राखेको छ । टेस्ट क्रिकेट खेल्ने १२ राष्ट्रलाई स्थायी एकदिवसीय मान्यता प्राप्त छ । अस्ट्रेलिया, इङ्गल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज, भारत, श्रीलङ्का, दक्षिण अफिका, जिम्बाब्वे, बङ्गलादेश, अफगानिस्तान र आयरल्यान्ड स्थायी एकदिवसीय मान्यताप्राप्त टिम हुन् । यसैगरी एसोसिएट टिममध्ये उत्कृष्ट चार टिमलाई चार वर्षका लागि अस्थायी एकदिवसीय मान्यता दिने प्रावधान छ ।

नेपाली क्रिकेटले जस्तो खुसी अन्य खेलले दिएको छैन । यद्यपि नेपाल सरकार तथा नेपाल क्रिकेट सङ्घ (क्यान)को भन्दा प्रशिक्षक, खेलाडीको त्याग र तपस्याले क्रिकेटमा ठूलाठूला उपलब्धि प्राप्त भएको हो भन्नेहरू पनि छन् । आन्तरिक विवादले नेपाल समय–समयमा आईसीसीबाट प्रतिबन्धित भएको छ । धेरै भएको छैन, आईसीसीले क्यानमाथिको आर्थिक नियन्त्रण हटाएको ।

नेपाली क्रिकेटको प्रतिष्ठा कायम राख्न क्यानले सर्वप्रथम आफ्नो व्यवस्थापन राम्रो पार्न जरुरी छ किनभने केवल प्रशिक्षक र खेलाडीको उत्साह तथा प्रयासमा मात्र मिलेको सफलताले निरन्तरता पाउन सक्दैन । अहिले सफलतालाई जोगाइराख्ने र यसलाई अझ माथि लाने चुनौती भएकाले दीर्घकालीन योजनाबाट क्रिकेटको विकास गर्नुपर्छ । यसकारण क्यानको भूमिका भनेको अब व्यवस्थापन पक्ष एकजुट बनी नेपाल क्रिकेटको विकासमा लाग्नु हो ।

नेपाल सरकारले पनि क्रिकेट टिमलाई बधाई कार्यक्रम, विभिन्न पुरस्कारको घोषणा मात्र गर्ने होइन । हाल पनि क्रिकेटरमा बधाई र नगद पुरस्कारको वर्षा भइरहेको छ, जुन नराम्रो होइन तर सरकारले क्रिकेटको साँच्चिकै प्रवद्र्धन गर्ने हो भने सरोकारवालासँग सहकार्य गरी भौतिक संरचना, लगानी अनुकूल वातावरण र घरेलु क्रिकेट संरचना बलियो बनाउन सहयोग गर्नुपर्छ । नेपाल सरकार र क्यानले अब चुनौतीको पहाड अगाडि छ भन्ने बोध गनुपर्छ किनभने सफलतालाई निरन्तरता दिने काम पक्कै पनि सजिलो हुँदैन ।