मैदानभित्र प्रायः खुसी दिने गरेको छ नेपाली क्रिकेटले । विश्वकप टी–ट्वान्टीमा सहभागिता, अनि पहिलो सहभागितामा तीनमध्ये दुई खेलमा दुर्लभ जित, आईसीसीबाट अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता, अन्तर्राष्ट्रिय टी–ट्वान्टीको मान्यता, विगतमा टेस्ट नखेल्ने राष्ट्रबीचको वरीयतामा शीर्ष स्थान– नेपाली क्रिकेट टिमले हासिल गरेका उपलब्धिका केही उदाहरण हुन् यी । अन्तर्राष्ट्रियस्तरमै यस्ता ठूला उपलब्धि नेपाललाई अन्य खेलले दिलाएको छैन । तर अहिले त्यही नेपाली क्रिकेटको मैदानभित्र र बाहिरको हाल बेहाल छ । नेपाल राष्ट्रिय क्रिकेट टिमको प्रदर्शन ओरालोतर्फ छ । कप्तान सन्दीप लामिछानेले नाबालिग बलात्कारको आरोप खेपिरहनुभएको छ । साथै नेपाली राष्ट्रिय क्रिकेटर स्पट फिक्सिङको आरोपमा पक्राउ परेका छन् । यसले नेपाली क्रिकेटको चर्चा विश्वमै नकारात्मक हुन पुगेको छ ।
खेलकुद निकै सम्मानित पेसा हो । त्यसैले खेलाडीहरूको इज्जत अन्यको भन्दा बढी हुन्छ । अझ अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो देशको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई त ‘रियल हिरो’ नै मानिन्छ । त्यसैले त खेलाडीलाई राष्ट्रको गहना भन्ने गरिन्छ । अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राख्ने सजिलो माध्यम पनि हो, खेलकुद । यद्यपि खेलाडीहरूले आफ्नो देशको नाम चम्काउँछ भन्ने मात्र हुँदैन । खेलाडीहरूको गलत हर्कतले अन्तर्राष्ट्रिय मञ्चमै देशले शिर झुकाएको पनि धेरै उदाहरण छन्, जसमध्ये स्पट फिक्सिङ आलो घाउका रूपमा देखिएको छ । स्पट फिक्सिङ काण्डले नेपाली क्रिकेट अहिले स्तब्ध छ । यसले नेपाली क्रिकेटमा ठूलो दाग लागेको छ । फिक्सिङलाई खेलकुदमा अपराध नै मानिन्छ किनभने खेल मिलेमतो खेलाडीले आफ्ना समर्थक, टिम र देशमात्र होइन; खेलमाथि नै गर्ने विश्वासघात हो ।
हुन त भलाद्मी खेलको छवि बनाएको क्रिकेटमा म्याच फिक्सिङ, स्पट फिक्सिङ नौलो होइन । यसले क्रिकेटलाई बदनाम गराइरहेको छ । २१औँ शताब्दीमा आइपुग्दा शालीन रूपमा खेलिने क्रिकेटको ढाँचा, संरचनामा व्यापक परिवर्तन भएलगत्तै यो सट्टेबाजको खेल पनि बनेको छ । सट्टेबाज यस पटक नेपालमा पनि भित्रिएको छ । मैदानबाहिर मात्र यस्तो जुवा खेलेको भए सायद त्यसको त्यत्ति धेरै चर्चा हुने थिएन तर क्रिकेटरले नै जानाजान नराम्रो खेल्न र हार्नका लागि रकम लिएकोमा दोषी देखिएपछि नेपाल पनि यस मामिलाले बदनाम भयो । हालै सम्पन्न नेपाल टी–ट्वान्टी लिगमा केही खेलाडीले स्पट फिक्सिङ भएको प्रमाणित भएको हो ।
नेपालमा टी–ट्वान्टी आयोजना हुँदै गर्दा कमेन्टेटर सचिन तिमल्सिनाले खेल अस्वाभाविक भइरहेको भन्दै म्याच फिक्सिङको आशङ्का व्यक्त गरेपछि नेपाली क्रिकेटमा खैलाबैला मच्चियो । यसपछि गृह मन्त्रालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् अनुसन्धानमा सक्रिय भए ।
सीआईबीले नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको भन्दै पूर्वखेलाडी महबुब आलम र अलराउन्डर आदिल अन्सारीलाई पक्राउ नै ग¥यो । सीआईबीले विदेशी र घरेलु १० खेलाडी फिक्सिङमा सामेल रहेको निष्कर्ष निकाल्यो । पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसमेत रहेका महबुबले कम्तीमा दुई नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको खुलासा भयो । आदिलले दुई खेलमा जानाजान एउटा नो बल र एउटा वाइड फालेको अनुसन्धानले खुलाएको छ, जसले घरेलु क्रिकेट स्तब्ध बन्यो ।
हुन त विश्व क्रिकेटमा स्पट फिक्सिङ हुँदा यो विषय खेलाडीसँग मात्र सम्बन्धित हुने गरेको छ तर नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ मामिलामा घरेलु क्रिकेटको सर्वोच्च संस्था क्यान नै मुछियो । सीआईबीको अनुसन्धानले केही फ्रेन्चाइज टिमको आर्थिक स्रोत, खेलाडीलाई दिने पारिश्रमिकको स्रोत नखुलेको र व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति नै स्पट फिक्सिङमा संलग्न रहेको निचोड निकाल्यो । नेपाल क्रिकेट सङ्घले नै कार्यसमितिका सात केन्द्रीय सदस्यको विरोध हुँदाहुँदै पनि जबरजस्ती सेभेन थ्री स्पोर्टस्सँग आठ वर्षको सम्झौता गरेको थियो । सेभेन थ्री स्पोर्टस्को पृष्ठभूमि पहिले नै शङ्कास्पद थियो । तर पनि क्यानले सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गर्दा ग्लोबल टेन्डरमा समेत गएन, जसलाई अहिले राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन कार्यदलले पनि गैरकानुनी भएको ठहर गरेको छ । अहिले क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गर्नुलाई गल्ती भएको स्वीकार्नुभएको छ ।
क्यानले नेपाल टी–ट्वान्टी क्रिकेट लिगलाई नेपालको उत्कृष्ट फ्रेन्चाई क्रिकेट लिग बनाउने दाबी गरेको थियो । नेपाल टी–ट्वान्टी लिगअघि नेपालमा एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल)को आयोजना हुने गथ्र्याे । यी प्रतियोगिताको घरेलु क्रिकेटमा निकै ‘चार्म’ पनि थियो तर क्यानले यी सबै फ्रेन्चाई लिगलाई बन्द गर्दै नेपाल टी–ट्वान्टी लिग गर्ने निर्णय गरेको थियो । यो निर्णय गर्दा क्यानले यस प्रतियोगितामा विश्वचर्चित क्रिकेटरलाई सामेल गराउने, घरेलु खेलाडीलाई अहिलेसम्मकै आकर्षक रकम प्रदान गर्ने र यस प्रतियोगितालाई पूर्ण व्यावसायिक बनाउने भनेको थियो । तर प्रतियोगिता सुरु हुँदा क्यानले भनेजस्तो केही पनि भएन । टिम मालिकहरू प्रतियोगिताकै बीचमा बेपत्ता भएपछि धेरै टिमका खेलाडीले पारिश्रमिक नै पाएनन्, जसले गर्दा केही खेलमा खेलाडीहरू मैदानमा समयमै पुगेनन् । काठमाडौँ नाइट्सले त अन्तिम खेल मात्र ११ खेलाडीको भरमा खेलेको थियो । यो टिमको ‘डगआउट’मा एक खेलाडी पनि थिएनन्, जुन आयोजकका लागि निकै लज्जास्पद विषय थियो ।
नेपाल टी–ट्वान्टी लिगमा विदेशी खेलाडी त आए तर नाम चलेका क्रिकेटरहरूको उपस्थिति रहेन । अझ क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई समेत बेवास्ता गर्दै विदेशी खेलाडीहरूलाई श्रम स्वीकृति नलिईकनै प्रतियोगितामा खेल्न दिएको थियो । प्रतियोगिता चल्दै गर्दा विदेशी खेलाडीहरूले पनि सम्झौताअनुरूप रकम नपाएको खुलासा भयो । धेरै विदेशी खेलाडी रकम नपाएपछि प्रतियोगितालाई बीचमै छाडेर घर फर्के । फ्रेन्चाई क्रिकेट लिगको प्रमुख आकर्षण भनेका दर्शक पनि हुन् । यस्ता लिगमा क्रिकेट मैदानमा दर्शकको सङ्ख्या बाक्लै हुन्छ । तर नेपाल टी–ट्वान्टी लिगले क्रिकेटलाई माया गर्ने घरेलु दर्शकलाई पनि आकर्षित गर्न सकेन । प्रायः खेलमा त्रिवि क्रिकेट मैदान खाली–खाली नै बन्यो । त्यसैले नेपाल टी–ट्वान्टीको पहिलो संस्करण नेपाली क्रिकेट इतिहासकै सबभन्दा विवादास्पद प्रतियोगिता बन्न पुग्यो ।
नेपाली क्रिकेट बदनाम भएको यो पहिलो पटक भने होइन । विगतमा टङ्क आङबुहाङ अध्यक्ष हुँदा क्यानका पदाधिकारीविरुद्ध अदालतमा मुद्दा नै परेको थियो । समानान्तर सङ्घ सक्रिय हुँदा घरेलु क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यान आईसीसीको निलम्बनमा पनि परिसकेको छ । यस्तै नेपाली राष्ट्रिय टिमका सिनियर खेलाडी र क्यानबीच सेन्ट्रल कन्ट्र्याक्टको विवादले चर्को रूप लिएको पनि धेरै भएको छैन । सन् २००७ मा नेपालमै भएको एसीसी यू–सेभेन्टिन क्रिकेट प्रतियोगितामा नियमविपरीत बढी उमेरका खेलाडी खेलाइएको घटना सायदै कसैले बिर्सेका होलान् । यो प्रतियोगितामा ११ मध्ये सात खेलाडी बढी उमेरका खेलाएपछि नेपालको ठूलो बेइज्जती भएको थियो । फाइनलमा पुगे पनि नेपाललाई प्रतियोगितामा खेल्न अयोग्य घोषित गरिएको थियो ।