• २७ वैशाख २०८१, बिहिबार

साफ च्याम्पियनसिप–२०२३

नेपाल कुवेतसँग पराजित

blog

कुवेतविरुद्धको खेलमा नेपाली टिम । तस्बिर : गोरखापत्र

बेंगलोर (भारत), असार ६ गते । नेपाल साफ च्याम्पियनसिप–२०२३ को उद्घाटन खेलमा कुवेतसँग पराजित भएको छ । भारतको बेंगलोरमा बुधबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको हो ।

दोस्रो हाफमा नेपालका स्ट्राइकर अन्जन विष्टले गोल गरेपनि नेपालको हार टरेन । यस गोलसँगै विष्ट नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गर्न एक गोलले मात्र पछि हुनुहुन्छ । अन्जनको यो नेपाली टोलीका लागि व्यक्तिगत १२औँ गोल हो । उहाँ सर्वाधिक १३/१३ गोल गर्ने हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको कीर्तिमानको नजिक हुनुहुन्छ । 

नेपालका लागि ५४औँ खेल खेल्नुभएका अन्जनले ६७औँ मिनेटमा कुवेतका रक्षापंक्तिको गल्तीमा गोल गर्नुभएको हो । यसअघि कुवेतका लागि खलिद हाजियाले २३औँ, सबायब अलखल्दीले ४१औँ र मोहम्मद अब्दुल्लाहले ६५औँ मिनेटमा गोल गर्नुभएको थियो ।

कुवेतले तेस्रो गोल पेनाल्टीमा गरेको हो । डिबक्स भित्र नेपालका रक्षक अनन्त तामाङले ह्यान्ड गरेपछि कुवेतले पेनाल्टी पाएको थियो । जसलाई मोहम्मदले सदुपयोग गर्नुभयो ।

यससँगै नेपाल कुवेतविरुद्धका १० खेलमा जितविहीन रह्यो । जितसँगै कुवेतले सेमिफाइनलमा पुग्ने सम्भावना बढाएको छ । नेपाललाई अगाडि बढ्न बाँकी दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब बढेको छ । 

नेपाल च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको छ । यस समूहमा कुवेत, साविक विजेता भारत र पाकिस्तान छ । कुवेत आन्त्रित टोलीको रुपमा साफमा सहभागी भएको हो । नेपालले दोस्रो खेल शनिबार आयोजक भारत र अन्तिम खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।