जाजरकोटको कुशे गाउँपालिका वडा नं ७ वडाध्यक्ष मुनबहादुर घर्तीको मृत्यु भएको छ । आज ( शनिवार) विहान घरमै वडाध्यक्ष घर्तिको मृत्यु भएको हो परिवारिक स्रोतले जानकारी गराएको छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफ्नै घर कुशे ७ समाइलामा विहान एक्कासी टाउको दुःख्यो भनेर ओछ्यानमा पल्टिनुभएका घर्ति मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । मृत्युको कारण खुल्न सकेको छैन ।
जिल्ला समन्वय समितिमा हुने निर्वाचनमा तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको छ । जिसस निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएपछि एकीकृत समाजवादीका शिबराज शर्माले प्रमुख पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
मुग्लिन नारायणगढ सडकखण्डको चारकिलोमा सुख्खा पहिरो खसेपछि बिहान ११ः३० देखि राजमार्ग अवरुद्ध भएको छ । राति पानी परे पनि विहान विना वर्षा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा खसेको पहिरो पन्छाउन प्रहरी परिचालन भएको छ ।
नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोख्नुभएको छ । राजोपाध्याय समाजले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिएर आलोचनाको रुपमा लिने प्रवृत्तिका कारण यस विधाको विकास हुन नसकिरहेको विचार राखेका थिए ।
वि.सं. २०७७ चैत २२ गते बर्दिया राष्ट्रिय निकुञ्जका माहुत पुलिसराम थारुमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ । उक्त बाघले उहाँलाई आक्रमण गर्नु अघि अरु दुई जनालाई आक्रमण गरेको थियो । त्यो बाघ अहिले सदर चिडियाखाना जाउलाखेलमा छ ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका– ११ राङ्बास र गुल्मीबार गाउँपालिका–६ जोड्ने जाबुने ट्रसपुलको निर्माण कार्य सम्पन्न भएको छ । रेसुंगा नगरपालिकाको सिमिचौर–राङ्बास हुँदै गुल्मीदरबार–६ लाई जोड्न बठवाखोलामा २४ मिटर लम्बाई रहेको ट्रसपुल निर्माण भएपछि स्थानीयहरु निकै खुसी भएका छन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा पहिरोले एक घर बगाएको छ । खेजेनिमको चाखु टोलका स्थानीय जीवन बाराकोटीको घर पहिरोले बगाएको हो । घर माथिबाट झरेको पहिरोले बाराकोटीको घर बगाएको छ भने उक्त चाखु बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौंलागाईका अनुसार गएराति (शुक्रबार राति) झरेको पहिरोले बाराकोटीको घर बगाएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोदालोले खनेर मात्र बिरुवा नहुर्किने बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका ८ मधुवनधामको आठौँ चुरे दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको वातावरणीय अध्ययन गरेर मात्रै ढुङ्गा, गिटी र बालुवा जस्तो प्राकृतिक स्रोतको उत्खनन् तथा सङ्कलन गर्न आग्रह गर्नु भएको छ । उहाँले बिहीबार सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित रानीबासमा राष्ट्रपति चुरे–तराई संरक्षण विकास समिति र नेपाली सेनाको श्री नं. १ वन तथा पर्यावरण सुरक्षा गणले संयुक्त रुपमा आयोजना गरेको आठाैं चुरे दिवसको अवसरमा एक दिनमा एक लाख विरुवा वृक्षारोपण कार्यक्रमको शुभारम्भ समारोहमा यस्तो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरुको संरक्षण गर्न मद्दत पुग्ने बताउनुभएको छ ।
शिलान्यास भएको १६ वर्ष बित्नैलाग्दा गुल्मेलीहरुले रेसुङ्गा विमानस्थलबाट विमान चढेर भैरहवा र काठमाडौं जान पाएका छैनन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रदीपकुमार ज्ञवालीले २०६३ सालमा शिलान्यास गरेको विमानस्थलको निर्माण कार्य करिब सकिएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी बिहीबार पोल्याण्डबाट कीभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी) सम्झौता नगर्ने प्रष्ट पार्नुभएको छ । २१औँ रितबहादुर खड्का स्मृति दिवसका अवसरमा आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले सरकार नेपालको राष्ट्रियता स्वाधीनताको पक्षमा दृढतापूर्वक उभिने र त्यस्तो खालको कुनै सम्झौता नगर्ने विश्वास दिलाउनुभयो ।
ग्रामीण क्षेत्रका आँखाको बिरामी पहिचान गरी उपचारका लागि प्रेरित गर्न कपिलवस्तुका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । छन्दे कालेवाबु नारायणी आँखा अस्पताल बहादुरगन्जले कपिलवस्तुका नवनिर्वाचित जनप्रतिनिधिलाई सचेतना प्रदान गरेको छ । अस्पतालले शिवराज र बुद्धभूमि नगरपालिकाका सबै जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण गरेको छ ।
पृथ्वीराजमार्गमा पर्ने तनहुँ आबुँखैरेनी गाउँपालिका– ४ मर्स्याङ्दी पावरहाउसस्थित रुवा खोला पुलमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको ग १ क ४४६९ नं.को मिनी टिप्पर अनियन्त्रित भई पुलबाट २५ मिटर तल खोलामा खसेर सो टिप्पर चालकको मृत्यु भएको हो ।