• ५ साउन २०८१, शनिबार

पहिरोले खेजेनिममा एक घर बगायो, बस्ती पूरै जोखिममा

blog

खेजेनिममा पहिरोले क्षतिग्रस्त बनाएको बाराकोटीको घरको संरचना । तस्बिर – सामाजिक सञ्जाल ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ४ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा पहिरोले एक घर बगाएको छ । खेजेनिमको चाखु टोलका स्थानीय जीवन बाराकोटीको घर पहिरोले बगाएको हो । 

घर माथिबाट झरेको पहिरोले बाराकोटीको घर बगाएको छ भने उक्त चाखु बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौंलागाईका अनुसार गएराति (शुक्रबार राति) झरेको पहिरोले बाराकोटीको घर बगाएको हो । 

बिहीबारदेखि नै पहिरो बग्न थालेपछि छ जना सदस्य रहेको बाराकोटीको परिवार घर छोडेर सुरक्षित ठाउँमा सरेका कारण मानवीय क्षति हुनबाट जोगिएको वडाध्यक्ष चौंलागाईले बताउनुभयो । सो पहिरोले बारोकोटीको एउटा भैंसी बगाएको छ भने घरभित्र रहेको सबै सामग्री बगाएको छ । यस्तै सोही पहिरोले फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा (विकास) को गोठमा रहेका २१ वटा बाख्रा बगाएको वडाध्यक्ष चौंलागाईले जानकारी दिनुभयो ।

यता पहिरोका कारण चाखु बस्ती नै पूरै जोखिममा परेको छ । पहिरोले चाखु बस्ती नै चिराचिरा बनाएपछि त्यहाँ बसोबास गर्दै आएका ३० घरपरिवार जोखिममा परेका छन् । बस्ती नै जोखिममा परेपछि त्यहाँ बसोबास गर्दै आएका परिवारलाई सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको वडाध्यक्ष चौंलागाईले बताउनुभयो । 

उहाँका अनुसार वर्षा नरोकिएसम्मका लागि चाखुका बासिन्दालाई सुरक्षित ठाउँ विद्यालय, सामुदायिक भवन र डाँडा क्षेत्रमा सार्न लागिएको छ । स्थानीय जनप्रतिनिधि, सिँवा प्रहरीचौकीबाट खटेका प्रहरी टोलीलगायत जुटेर जोखिममा परेका परिवारलाई सुरक्षित ठाउँमा सार्न लागिएको छ । वर्षा जारी रहेकाले थप बाढी पहिरोको जोखिम बढ्दै गएको बताइएको छ ।