• ८ जेठ २०८१, मङ्गलबार

एक महिनादेखि उडान अवरुद्ध

blog

प्रतिकुल मौसमका कारण हाल उडान अवरुद्ध बनेको सुकेटार विमानस्थल । फाइल तस्बिर - चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ४ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिना अघिदेखि उडान अवरुद्ध बनेको छ । बाक्लो हुस्सु र वर्षासहित मौसम प्रतिकुल हुँदै आएकाले सुकेटारमा उडान अवरुद्ध बनेको हो । 

प्रतिकूल मौसमकै कारण महिना दिनयता लगातार उडान अवरुद्ध हुँदा यात्रु सेवा लिनबाट बञ्चित भएका छन् । जेठ महिनायता कुनै दिन बाक्लो तुँवालो र कुनै दिन वर्षा हुने गरेका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । तालिकाअनुसार नियमित उडान नहुँदा यात्रु हवाई सेवाबाट बञ्चित भएका स्टेसन इन्चार्ज लिम्बूको भनाइ छ । 

पछिल्लो केही दिनयता भने निरन्तर वर्षाको क्रम रहेको छ । निरन्तर वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान तालिका रहेपछि सम्भव नभएको नेपाल वायुसेवा निगमले जनाएको छ । 

निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लिम्बूकाअनुसार शनिबारका लागि पनि उडान तालिका थियो । “आठजना यात्रुले काठमाडौंबाट ताप्लेजुङ आउनलाई टिकट लिएका थिए, तर मौसमकै कारण शनिबार पनि उडान हुन सकेन” लिम्बूले भन्नुभयो ।

यसरी गत जेठ २ गतेदेखि सुकेटार विमानस्थलमा उडान अवरुद्ध हुँदै आएको छ । मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको पनि निगमले जनाएको छ । नेपाल वायुसेवा निगमले सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौं–ताप्लेजुङ उडान गर्ने गरेको छ । यस्तै, सीता एयरलाइन्सले साताको सोमबार एक दिन उडान गर्दै आएको थियो । अहिले मौसममा आएको प्रतिकूलतासँगै दुवै उडान अवरुद्ध बनेका छन् ।