• ५ साउन २०८१, शनिबार

सुकुम्बासीलाई चाँडो जग्गाको स्वामित्व दिन आयोगलाई गृहमन्त्री खाँणको निर्देशन

blog

कबिन्द्र नेपाल

मणिग्राम (रुपन्देही), असार ४ गते । गृहमन्त्री बालकृष्ण खाँणले भूमि आयोगलाई परिणाम दिने गरी काम गर्न निर्देशन गर्नुभएको छ । उहाँले सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन गर्नुभएको हो । 

राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेशस्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो जग्गा धनी पूर्जा वितरण गर्न आयोगका पदाधिकारीलाई निर्देशन गर्नुभएको हो । 

उहाँले स्थानीय तहका जनप्रतिनिधिलाई आयोगका कामकारबाहीमा सहयोग गर्न आग्रह गर्नुभयो । ‘सरकारले के गर्नु पर्छ, बजेट कति चाहिन्छ, सुरक्षा व्यवस्था मिलाउनुपर्ने हो कि ? सबै काम गर्न सरकार तयार छ ।’ गृहमन्त्री खाँणले भन्नुभयो–‘भूमिहीनलाई जग्गाको मालिक बनाउने काममा स्थानीय सरकारको पनि ज्यादै ठूलो सहयोग चाहिन्छ, स्थानीय जनप्रतिनिधिलाई म आग्रह गर्न चाहन्छु– पूर्ण रुपमा सहयोग गर्नुहोला ।’ उहाँले भूमिहीन सम्बन्धी सबै समस्या समाधान गरेर यो समस्या सदाका लागि अन्त्य हुने पनि विश्वास व्यक्त गर्नुभयो । 


त्यस्तै, प्रतिनिधिसभा सदस्य मीन विश्वकर्माले आयोगले भूमिहीन सुकुम्बासीहरुले उपभोग गर्दै आएको जग्गाको स्वामित्व प्रदान गरेर जग्गाको मालिक बनाएर यो समस्या सदाका लागि अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष केशवप्रसाद निरौलाले नेपालमा भूमिहीन समस्याको अन्त्य गर्ने गरी आयोगले काम गरेको बताउँदै आगामी आर्थिक वर्षको अन्त्यसम्ममा सबै भूमिहीनलाई पूर्जा वितरण गरिसक्ने जानकारी गराउनुभयो । 

त्यस अवसरमा भूमिहीनलाई पूर्जा वितरण गर्दा के कस्ता कुराहरुलाई ध्यान दिनुपर्छ भन्ने विषयमा भएका नीतिगत तथा कानुनी प्रक्रियाका बारेमा आयोगका सूचना अधिकारी उपसचिवले पनि आफ्नो मन्तव्य दिनुभयो ।