• ८ वैशाख २०८१, शनिबार

खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतङ्क, ३२३ घरपालुवा जनावर मारिए

blog

सन्तोष राउत

सोलुखुम्बु, असार ५ गते । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतङ्क बढ्दै गएको छ । केही वर्षयता सो क्षेत्रको घरपालुवा जनावरमा हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्याङ्कले पुष्टि गरेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको वार्षिक तथ्याङ्कअनुसार सन् २०२० को मध्यदेखि २०२१ को मध्यसम्ममा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरबाट ३२३ वटा भन्दा बढी घरपालुवा जनावर मारिएका छन् ।

जसका लागि निकुञ्जले ९० लाख रूपियाँभन्दा बढी क्षतिपूर्ति पशुपालक कृषकलाई प्रदान गरेको छ । नेपालमा सबैभन्दा कम अध्ययन गरिएको जङ्गली जनावरमा पर्ने हिमाली ब्वाँसोले घरपालुवा जनावरको सुरक्षामा निकै ठूलो समस्या सिर्जना गरिरहेको स्थानीयले बताएका छन् ।


वार्षिक प्रतिवेदनअनुसार मारिएका ३२३ घरपालुवा जनावरमध्ये २३४ ब्वाँसोले मारेको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायाले बताउनुभयो । सन् २०१३ मा नेपाल सरकारले आठ प्रकारका वन्यजन्तुका हात्ती, गैंडा, भालु, बाघ, चितुवा, हिमचितुवा, बँदेल र अर्नाका कारण घरपालुवा वस्तुभाउलाई क्षति वा घाइते गराएमा क्षतिपूर्ति दिने पहिलो निर्देशिका लागू गरेको थियो । 

सन् २०१५ मा सरकारले त्यो सूचीमा हिमाली ब्वाँसो, ध्वाँसे चितुवा र जङ्गली कुकुर थप गरेको थियो । हाल निकुञ्जले एउटा वन्यजन्तु ब्वाँसोले मारे बापत ३० हजार रूपियाँ क्षतिपूर्ति दिने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।