• १३ साउन २०८१, आइतबार

वर्षाले सहायक राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध

blog

अमरराज नहर्की  

तनहुँ, असार ५ गते । अविरल वर्षासँगै सहायक राजमार्गदेखि जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । वर्षाले सहायक राजमार्ग भानुमार्ग, डुम्रे–बेंसीशहर मार्ग, बुद्धसिंह र श्रृङ्गपथमा ठाउँ ठाउँमा गएको पहिरोले यात्रुलाई सास्ती भएको छ । 

अविरल वर्षाले गर्दा ह्युम पाइप बगाउने, पहिरो जाने, सडक भासिने गरेकाले सहायक राजमार्गहरु भानुमार्ग, डुम्रे–बेंसीशहर खण्ड र अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएको भानु नगरपालिकाको प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

‘डोजर लगेर दिनभर बनायो फेरि राति भारी वर्षा भएर बिगार्ने गरेकाले हैरान भएको छ’ नगर प्रमुख त्रिपाठीले भन्नुभयो । भानु मार्गको टुहुरे पसलमा बाढीले सडक बिगारेकाले अवरुद्ध भएको त्रिपाठी बताउनुहुन्छ ।

भानु नगरपालिका–८ बलिफाँटमा बाढीले खोतलेर तीन वटा ह्युमपाइप बगाएपछि आइतबार बिहान ४ बजेदेखि नै डुम्रे–बेंसीशहर मार्ग अवरुद्ध भएको प्रहरी चौकी बाइसजँघारका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिनुभयो ।

 तनहुँको डुम्रे बजार र जमजुङको बेशीसहर जोड्ने सो सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । यो सडकले तनहुँका अतिरिक्त जमजुङ, गोरखा र मनाङ जिल्लाका थुप्रै भूभाग यो सडकले जोडेकाले धेरै बासिन्दा प्रभावित भएको प्रहरी सहायक निरीक्षक थापाले जानकारी दिनुभयो ।

सडक विभाग यात्रिन्क कार्यालय डुम्रे, सडक डिभिजन कार्यालय लमजुङको प्राविधिक खबर गरी डोजर समेत मगाइएको उहाँले जानकारी दिनुभयो । तनहुँको, भिमाद नगपालिका, म्याग्दे गाँउपालिका शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकालाई पृग्थ्वीराजमार्गमा जोड्ने श्रृङ्गपथ अवरुद्ध छ ।

भिमाद नगरपालिको वडा नम्बर ५ र ६ जोड्ने पुललाई बढुवा खोलाले क्षति पु¥याउँदा अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न भिमाद नगरपालिकाले अनुरोध गरेको छ ।