चालू आर्थिक वर्षको छ महिना (साउन–पुस)मा आयात–निर्यात दुवै घटेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा २० दशमलव ६८ प्रतिशतले कमी आई सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपियाँको आयात भएको छ। गत वर्ष सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख आठ हजार रुपियाँको आयात भएको थियो।
झापामा काँचो सुपारी सङ्कलन र प्रशोधन बन्द भएको छ। यस कार्यमा संलग्न व्यवसायी आफैँले प्रशोधन बन्द गरेका हुन्। यहाँ सङ्कलन र प्रशोधन भएको काँचो सुपारीमा कर छली भएको विषय सार्वजनिक भएपछि व्यवसायीको भेलाले तत्कालका लागि सुपारी सङ्कलन र प्रशोधनको काम बन्द गर्ने निर्णय गरेका हुन्।
संरक्षण तथा प्रचारप्रसारको अभावमा कोसीटप्पु वन्यजन्तु आरक्ष आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्य बन्न सकिरहेको छैन। सुनसरी, सप्तरी र उदयपुर जिल्लामा पर्ने र सबैतिरबाट अवलोकन गर्न सकिने आरक्षमा पर्यटन विकासका लागि सरकारी र निजी क्षेत्रबाट पहल नहुँदा आरक्ष ओझेलमा परेको हो। कोसीटप्पु अर्ना तथा चराको स्वर्गभूमि मानिन्छ।
स्वदेशी कफीको उत्पादन, उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकूलनमा सुधार ल्याउन सकिने विज्ञले बताएका छन्। नेपाली कफीको जातीय आनुवंशिक अनुसन्धानमा गरिएको अध्ययन प्रतिवेदन सोमबार सार्वजनिक गर्दै विज्ञहरूले सो कुरामा जोड दिएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरिसहित पूर्वी नेपालका दुई जना वरिष्ठ चिकित्सकमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले प्रतिष्ठानका उपकुलपति डा. गिरी तथा विराट मेडिकल कलेजका सञ्चालकसमेत रहनुभएका वरिष्ठ चिकित्सक डा.ज्ञानेन्द्रमान सिंह कार्की विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेसका केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीको सोमबारको बैठकले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने र आफ्नो उम्मेदवारको पक्षमा सहमति जुटाउन पहल गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक सङ्क्रमणमा सम्पन्न निर्वाचन निष्पक्ष रूपमा पूरा गर्न सशस्त्र प्रहरीले निर्वाह गरेको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताउनुभयो ।
नेपाल वायुसेवा निगमका पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन नियम अवज्ञा गरेको आरोपमा एकै पटक पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेको पहिलो पटक हो।
प्रतिनिधि सभाको नियमावली संशोधन प्रक्रिया अघि बढाउन सभामुख देवराज घिमिरेले राजनीतिक परामर्श सुरु गर्नुभएको छ। सभामुख घिमिरेले नियमावली संशोधनको समिति गठन प्रक्रिया अघि बढाउन सोमबार प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग परामर्श गर्नुभएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षण गर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताको टोलीसँग कुरा गर्दै उहाँले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाको स्थलगत निरीक्षणमा निस्कने बताउनुभएको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
दैलेखको दुल्लु नगरपालिका –९ पादुकामा उद्धार गरेको ३६ घण्टापछि चितुवा मरेको छ । दुल्लूबाट दैलेख वन डिभिजन कार्यालय ल्याउँदै गर्दा चितुवा मरेको हो ।
सरकारले हरवा चरवालाई मुक्त घोषणा गरेको भए पनि पुनर्स्थापना नभएको भन्दै हरवा चरुवा प्रतिनिधिहरू आफ्नो माग लिएर सिंहदरबार पुगेका छन् । सरकारले गत साउन २ गते नै हरवा चरुवा मुक्त घोषणा गरेको थियो ।
सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । यस प्रतियोगितामा सिजन २०२१/२२ को वरीयता अनुसार शीर्ष १६ गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्व पदीय मर्यादा विपरीत काम गरेको आरोप लागेको छ ।