• १२ साउन २०८१, शनिबार

‘सशस्त्रको भूमिका महत्त्वपूर्ण’

blog

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा २२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : रासस

काठमाडौँ, माघ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

२२औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक सङ्क्रमणमा सम्पन्न निर्वाचन निष्पक्ष रूपमा पूरा गर्न सशस्त्र प्रहरीले निर्वाह गरेको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताउनुभयो ।


प्रधानमन्त्री प्रचण्डले मुलुकले भोगेका विभिन्न विपत्का बेला सशस्त्र प्रहरीले खोज तथा उद्धारमा देखाएको वीरता र कार्यकुशलताको देशले मूल्याङ्कन गरेको धारणा व्यक्त गर्दै सीमित स्रोत–साधनमा पनि सीमा सुरक्षामा सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंंसा गर्नुभयो । भौगोलिक जटिलता र कठ्याङ्ग्रिँदो चिसोमा हिमाली जिल्ला, शीतलहर तथा चर्को गर्मी हुने तराईका जिल्लाको सीमा रक्षाका लागि अहोरात्र खटिएर तस्करी तथा चोरी पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले गरेको कामको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गर्नुभयो ।


सूचना प्रविधि विकाससँगै देखिएका सुरक्षा चुनौती सामना गर्न पूर्वतयारीसाथ रहन निर्देशन दिँदै उहाँले सशस्त्र प्रहरीलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो । शान्तिको महत्त्व युद्धको पीडा भोग्नेलाई अनुभूत हुने बताउँदै उहाँले आफू र सशस्त्र प्रहरी यसबारे बढी जानकार रहेको उल्लेख गर्नुभयो । उहाँले संवैधानिक सर्वोच्चता राष्ट्रिय अखण्डता इमानदारी साथ कायम गर्न निर्देशन दिनुभयो । 


सोही समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पृथकतावादी तथा आतङ्कवादी क्रियाकलाप रोक्न सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । सशस्त्र प्रहरी बललाई समय अनुकूल परिमार्जन गरी सबल सङ्गठन निर्माण गर्न गृह मन्त्रालय तत्पर रहेको बताउँदै गृहमन्त्री लामिछानेले कतिपय द्विविधायुक्त ऐन कानुन परिमार्जन गर्नेगरी मन्त्रालय अघि बढेको जानकारी दिनुभयो ।


राष्ट्रिय सुरक्षामा आइपर्न सक्ने चुनौती सामना गर्न अन्य सुरक्षा निकायसँग समन्वयको आवश्यकता औँल्याउँदै उहाँले विगतका अनुभवबाट सङ्गठनले प्रेरणा र शिक्षा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सशस्त्र प्रहरीलाई आवश्यक पर्ने स्रोत–साधन, प्रविधि तथा हतियार खरिदका लागि तयारी भइरहेको पनि जानकारी दिनुभयो । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सङ्गठनको औचित्य कामबाट पूरा गरेको बताउनुभयो । सशस्त्र प्रहरी बलप्रति जनविश्वास बढाउन सङ्गठन अहोरात्र खटिएको धारणा व्यक्त गर्दै महानिरीक्षक अर्यालले सङ्गठन सुधारका लागि विभिन्न चरणमा काम भइरहेको जानकारी दिनुभयो । नेपालसँग जोडिएका सिमानाबाट चोरी तस्करी र अपराध नियन्त्रणका लागि २२८ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको जानकारी दिँदै उहाँले यसलाई थप बलियो बनाउन पाँच सय बीओपी आवश्यक रहेको बताउनुभयो । सशस्त्र प्रहरी बल नेपालको स्थापना २०५७ सालमा अर्धसैनिक सुरक्षा निकायका रूपमा भएको थियो ।