• १२ मंसिर २०८१, बुधबार

कफी उत्पादनमा सुधार ल्याउन सकिने

blog

काठमाडौँ, माघ १० गते ।  स्वदेशी कफीको उत्पादन, उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकूलनमा सुधार ल्याउन सकिने विज्ञले बताएका छन्। नेपाली कफीको जातीय आनुवंशिक अनुसन्धानमा गरिएको अध्ययन प्रतिवेदन सोमबार सार्वजनिक गर्दै विज्ञहरूले सो कुरामा जोड दिएका हुन्। 

युरोपियन युनियनको सहयोगमा सञ्चालन भएको ईयू–नेपाल व्यापार तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको अध्ययनले कफी खेती, कफी भित्र्याउनुअघि र पछिका अभ्यास तथा कफीका आनुवंशिक जातीय भिन्नताले कफीको बोटको उत्पादकत्व, जलवायु परिवर्तन अनुकूलनमा प्रभाव पार्ने क्षमता तथा कार्बन फुटप्रिन्ट नियन्त्रण गर्न मलखादको प्रभावकारिता र कफीको गुणस्तर निर्धारण गर्ने देखाएको छ। 

नेपाल बर्बोन कफीको देश भएकाले एकै किसिमको आनुवंशिक पृष्ठभूमिको कफीको जातमा मात्र भर पर्दा आउन सक्ने जोखिम न्यूनीकरण गर्न नेपालले आनुवंशिक भूपरिदृश्यमा विविधता ल्याउनुपर्ने अध्ययले सुझाव दिएको छ। अनुसन्धानका क्रममा देशका १३ वटा कफी नर्सरीबाट २६ जातका कफीको १०४ वटा नमुना सङ्कलन गरिएको बताइएको छ। किसानलाई कफीका बिरुवा वितरण गरिरहेका सरकारी तथा निजी नर्सरीबाट अध्ययनका लागि नमुना बिरुवा सङ्कलन गरिएका थिए। यस अनुसन्धानले समेटेकामध्ये ७० प्रतिशत नमुना बर्बोन आनुवंशिक पृष्ठभूमिका रहेको र निजी नर्सरीबाट सङ्कलन गरिएकामध्ये ९८ प्रतिशत बर्बोन आनुवंशिक पृष्ठभूमि रहेको देखिएको छ। अध्ययनका क्रममा सङ्कलन गरिएका नमुनामध्ये ८० प्रतिशत परम्परागत अरेबिका जातका भेटिएका थिए। कुल नमुनामध्ये ७१ प्रतिशत बर्बोन जात, १६ प्रतिशत इन्ट्रोग्रेस्ड (मिश्रित) जात र ३ प्रतिशत इथियोपियिन पृष्ठभूमिका थिए।

बर्बोन जातहरू जलवायु उत्थानशील रहेको र साना किसानका लागि अनुकूल रहेकाले यस जातिकै अनुवांशिक एकरूपता नेपालका लागि फाइदाजनक भए पनि यस जातका कफी छिटो कुहिने खालको भएकाले नेपालका लागि यो ठूलो जोखिम रहेको अध्ययनले देखाएको छ। 

नार्कका वरिष्ठ वैज्ञानिक जितनारायण चौधरीले नेपालमा किसानले स्थानीयस्तरमै कफीको आफ्नै तरिकाले स्थानीय रूपमा नाम दिएको र आधिकारिक रूपमा कफीको जातको नामकरण नभएको बताउनुभयो। नेपालमा उपलब्ध भएका कफीका आनुवंशिक जातका बारेमा पहिचान गर्न यो अनुसन्धान गरिएको उहाँले जानकारी दिनुभयो। युरोपियन युनियनको ईयू–नेपाल टीआईपीका कार्यक्रम संयोजक डा. विदुर घिमिरेले कार्यक्रमले नेपालको व्यापार क्षमता अभिवृद्धिमा गरेको सहयोग गर्ने बताउनुभयो।